‘आफ्नै सन्तानसँग के प्रतिस्पर्धा गर्नु भनेर मिडियामा आइनँ’

कान्तिपुर पब्लिकेसन्सका संस्थापक हुन् श्याम गोयन्का (सुरुमा यसको नाम गोयन्का पब्लिकेसन्स थियो)। २०४६ पछिको खुला परिवेशमा पहरेदार पत्रकारिताको लक्ष्यसाथ उनले मिडियाको उद्यम खोलेका थिए । गोरखापत्र र राइजिङ नेपालका निजी विकल्पका रूपमा उनले ल्याएका कान्तिपुर र दि काठमान्डु पोस्टको लोकप्रियतासँगै छोटो अवधिमै उनी त्यहाँबाट बाहिरिनुपर्ने अवस्था आयो । धेरैलाई चासो छ, नेपालको निजी मिडिया उद्योगका ‘गड फादर’ गोयन्का कहाँ होलान् ? के गर्दै होलान् ? कुन लडहमा उनी ठूलो मिडिया हाउस खोल्न पुगे ? कुन बाध्यतामा अलगिएर हिँडे ? उनको नजरमा नेपाली सञ्चार जगत् कहाँ पुगेको छ ? के उनी फेरि यता फर्कन चाहन्छन् ? यिनै पृष्ठभूमि र परिवेशमा गोयन्कासँग गरिएको कुराकानीको सम्पादित अंश–

कुन उद्देश्य र सोच राखेर मिडिया उद्योगमा हात हाल्नुभएको थियो ?

वि.संं. २०४० सालसम्म म भारतको पत्रिका इण्डियन एक्सप्रेसमा काम गर्थे । त्यहाँ मैले विज्ञापन, सर्कुलेसन, प्रेस लगायतका विभागमा काम गरेँ । आर्थिक विषयमा कहिलेकाहीँ लेख पनि लेख्थे । २०४१ सालमा म काठमाडौं आएँ । त्यतिबेला नेपालमा प्रजातन्त्र पुनर्वहालीको आन्दोलन भइरहेको थियो । २०४६ मा प्रजातन्त्र आएपछि यहाँको मिडिया क्षेत्र अपूर्ण जस्तो लाग्यो । प्रजातन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, कानुनी शासनका लागि उत्तरदायी मिडियाको खाँचो महसुस गरेँ। र, ब्रोडसिट दैनिक चलाउने निचोडमा पुगेर २०४८ सालमा प्रेस अर्डर गरेँ । अन्य पूर्वतयारी सँगसँगै गरिरहेँ । २०४९ साल फागुन ७ गतेबाट निजी क्षेत्रको पहिलो ब्रोडसिट नेपाली दैनिक कान्तिपुर र अंग्रेजी दि काठमान्डु पोस्ट प्रकाशन सुरु गरेँ ।

मिडियामा तपाईंको यस्तो लगाव हुनुको कुनै पृष्ठभूमि पक्कै होला  ?
मैले दिल्लीमा अध्ययन गरे । ७ वर्षको छँदै दिल्लीमा रामनाथजी (रामनाथ गोयन्का, इण्डियन एक्सप्रेसका प्रकाशक) को घरमा बस्थेँ । उहाँको घरको अन्डरग्राउण्डमा प्रेस थियो। राति प्रेसमा जान्थेँ । यहाँ–यहाँ गल्ती छापिएको छ भन्दै अपरिपक्व ढंगले पत्रिकामा रातो कलमले चिह्न लगाउँथे । त्यो उमेरमा गल्ती त के निकाल्न सक्थे र ? सम्पादक हुनुहुन्थ्यो, अरुण शौरी । आफूले रातो लगाएको पत्रिका बोकेर बिहान उहाँकहाँ पुग्थेँ । गल्ती होस्–नहोस्, उहाँले स्याबास भन्नुहुन्थ्यो ।

त्यही वातावरण पत्रिका उद्यम सुरु गर्नुको प्रेरणास्रोत होभन्दा फरक पर्दैन  ?
रामनाथजीको घरमा पत्रिकाबाहेक अरू वातावरण थिएन । म १२, १३ वर्षको थिएँ । सन्, १७७५ देखि १९७७ सम्म इन्दिरा गान्धीको सरकारले भारतमा संकटकाल लगायो । अटलविहारी बाजपेयी, लालकृष्ण आडवाणीजस्ता नेताहरू बैठक गर्न रामनाथजीकै घरमा आउनुहुन्थ्यो । जयप्रकाश नारायण रामनाथजीकै घरमा बस्नुहुन्थ्यो । जयप्रकाश नारायण सबैको सुप्रिम लिडर हुनुहुन्थ्यो । मोरारजी देसाईं, मधु दण्डवते, चरण सिंह सबै नेताहरू त्यहाँ आउनुहुन्थ्यो । जयप्रकाशजीको सबैभन्दा मनपर्ने मान्छे रामनाथजी । भारतको राजनीतिको अखडा त्यही थियो ।

राजनीति र मिडिया त रिलेटिभ हुने नै भए । त्यो संकटकाल भारतीय राजनीतिको निकै अन्धकार युग थियो । म त्यसको प्रत्यक्ष साक्षी हुँ । संकटकालको समयमा प्रहरीका हाकिमहरू रामनाथजीलाई पक्राउ गर्न आउँथे । एकचोटी त रामनाथजीलाई परिचयपत्र देखाउन भनियो । उहाँले त्यो मान्छेलाई एक थप्पड पनि लगाउनुभयो । अन्ततः इन्दिरा गान्धीको आतंक प्रजातन्त्रवादी नेताहरूले परास्त गरे । त्यसबाट मिडिया न्याय र समानताका लागि हो भन्ने शिक्षा मैले पाएँ । प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्ने, मानव अधिकार र कानुनी शासनको रक्षाकवच बन्ने काम मिडियाको हो भन्ने छाप सुरुदेखि नै मेरो दिमागमा पर्‍यो । मिडिया खोल्नुको प्रभाव त्यो पनि हो ।

रामनाथ गोयन्कासँग तपाईं जोडिनुको कारण के हो  ?
उहाँ मेरो बुवाको काका हुनुहुन्छ । उहाँले दिल्ली बोलाउनुभयो । प्रभास जोसी ९जनसत्ताको सम्पादक० ले मलाई दिल्लीबाट चण्डिगढ लगेर कलेजमा भर्ना गराउनुभयो । रामनाथजी दिल्ली बस्नुहुन्थ्यो । इण्डियन एक्सप्रेसको मद्रासमा मुख्य कार्यालय थियो । दिल्ली बसे पनि मद्रास उहाँको घर नै भइसकेको थियो । दिल्ली म आउजाउ गरिरहन्थे । पछि उहाँले मलाई मद्रास पठाउनुभयो । उहाँकै छत्रछायामा मैले पढेँ, बढेँ ।

कान्तिपुर स्थापना तपाईंको एक्लो प्रयास हो कि साथमा अरू पनि हुनुहुन्थ्यो  ?
२०४९ फागुनमा कान्तिपुर र काठमाडौं पोस्ट प्रकाशन हुनुभन्दा करिब एक वर्ष अघिदेखि नै हामीले आवश्यक पूर्वतयारीका कामहरू थालिसकेका थियौं । लागत दिनानुदिन बढिरहेको थियो तर आम्दानीका हिसाबले प्रतिफलको स्पष्ट आधार देखा परिसकेको थिएन। महिनौंसम्म ३० देखि ४० लाख प्रतिमहिना खर्च भइरहेको थियो जुन घाटामै परिणत हुन्थ्यो । त्यस्तो परस्थितिमा बादल फारेर एक दिन घाम उदाउनेछ भनेर विश्वास गर्ने विरलै कोही भए । मेरो अत्यन्त निकट रहेका मित्रहरूबाहेक अरू कोही पनि उक्त मिसन वा ममाथि लगानी गर्न तयार थिएनन् । यस्तो मोडमा परोपकारी अभियानहरूको विरासत बोकेका र सामाजिक रूपमा सक्रिय भाइहरू पवन र राजेश भीमसरियाले मिसन कान्तिपुरलाई बिना हिच्किचाहट प्रतिफलको चिन्ता नगरिकन पूर्णरूपमा सहयोग गर्नुभयो । यो मिसनलाई सफल बनाउन उहाँहरूले दायाँबायाँ केही नसोची आफ्नो सर्वश्व लगाउनुभयो किनभने राष्ट्रलाई यो अभियान अपरिहार्य छ भन्ने बोध उहाँहरूलाई थियो र बजारको कुनै पनि ठूलो नाम यो तथाकथित ‘कुवा’ मा हामफाल्न त्यतिबेला तयार थिएन । संक्षिप्तमा, उहाँहरूको पहल अत्यन्त शाहसिक थियो र म सदैव उहाँहरूप्रति ऋणी छु ।

त्यो लगानीले प्रतिफल दिन्छ भन्ने ठान्नुभएको थियो  ?
अरूले हेर्दा मैले हाम फालेकै हो । त्यसबेला तीनकुनेमा ५ लाखमा एक रोपनी जग्गा आउँथ्यो । महिनाको २० लाख रुपैयाँ म साथीहरूलाई तलब बाँड्थे । २० लाखमा ४ रोपनी जग्गा आउँथ्यो । त्यस्तो अवस्थामा मिडियामा लगानी गर्नु भनेको बालुवामा पानी हालेजस्तै थियो । मैले घाटा–नाफा हेरिनँ । यो राष्ट्रका लागि ठूलो प्लेटफर्म हुन्छ भन्ने दृढ विश्वास मात्रै थियो । यो एउटा आधारभूत संरचना हो भन्नेमा म थिएँ ।

कोही अग्रसर नभएको अवस्थामा ठूलो लगानी गरेर मिडियामा होमिन डर लागेन  ?
मलाई यो पनि थाहा थियो, मसँग पैसा छैन भन्ने । तर, जोसँग पैसा त थियो, उनीहरूमा त्यो खालको चेतना थिएन । पैसा भएका उद्योगपति, व्यापारीहरू (नाम नलिउँ) सँग यो विषयमा कुरा पनि चल्यो । यसको स्वरूप र भविष्य के होला भन्ने नै कसैमा विश्वास र भिजन नै देखिएन । तर, पनि कसै न कसैले त गर्नुपर्छ भनेर म होमिएँ । मैले जे जस्तो सपना देखेको थिएँ । करिब–करिब मिडियाको विस्तार र विकास त्यसरी नै भयो । पछि गएर केही दुर्घटना त भए ।

सुरुमा कान्तिपुर निस्कँदा कस्तो प्रतिक्रिया पाउनुभएको थियो  ?
प्रकाशनअघि ८र१० महिना हामीले कान्तिपुरको डमी एक्सरसाइज गरेका थियौं। पीपलबोट गफको अखडा बन्यो। अर्को ब्रोडसिट नभनीकन अर्को गोरखापत्र आउन थाल्यो भन्थे । भारतीय खुफिया एजेन्सी (रअ) को पत्रिका आउन थाल्यो भन्ने हल्ला पनि चले। कसै–कसैले भारतीय लगानी पनि भने ।

राम्रो भन्ने पनि त थिए होलान्  ?
हो । २०५० सालमा दासढुंगामा मदन भण्डारीको दुर्घटना भयो। म दशरथ रंगशालामा श्रद्धाञ्जली अर्पण गर्न गएको थिएँ । सीपी मैनालीले ‘उहाँ नै हो श्याम गोयन्का’ भनेर मनमोहन अधिकारीसँग परिचय गराउनुभयो। मनमोहनजीले आश्चर्य मान्दै तलदेखि माथिसम्म हेर्नुभयो । मेरो उमेर २७, २८ वर्षको मात्र थियो । मनमोहन अधिकारीले भन्नुभयो, ‘तपाईं कम्तीमा मेरो छोरोको उमेरको हुनुहोला भनेको त मेरो नाति जस्तो हुनुहुँदो रहेछ। वाफ रे वाफ तपाईं त १ कसैले गोरखापत्रमा विश्वास गर्दैन, कान्तिपुर मात्र भन्छन् । तपाईं न दायाँ हिँड्नुभयो, न बायाँ हिँड्नुभयो । तपाईको सोझो बाटोमा हिँड्नुभएको छ, म तपाईंलाई स्यालुट गर्छु।’ मेरो छाती गर्वले ढक्क फुल्यो । म मारवाडीको छोरो । तथाकथित भारतीय मूलको नेपाली नागरिक। मनमोहनजी जस्तो आदर्शवान र सम्मानित व्यक्तिले मलाई यस्तोभन्दा हर्षले गदगद भएँ । मसँग कान्तिपुर रहे पनि नरहे पनि, मेरो अस्तित्व नै समाप्त भए पनि, मैले गर्न खोजेको काममा सफल भएँ भन्ने अर्थमा लिएँ। राष्ट्रियताकै कुरा गर्ने हो भने राष्ट्रका लागि मेरो कामलेभन्दा ठूलो सर्टिफिकेट अरू के हुन सक्छ ? भनेर खुसी पनि भएँ ।

त्यस अवस्थामा दक्ष पत्रकार कसरी जुटाउनुभयो  ?
दक्ष जनशक्तिको ठूलो समस्या थियो । त्यो बेला पत्रकार साथीहरू तीर्थ कोइराला, जिवेन्द्र सिम्खडा, नारायण वाग्ले हुनुहुन्थ्यो। हामीले तटस्थ साथीहरू चाहिएको भनेर सर्कुलेट गर्यौं । क्रमशः अरू साथीहरू जोडिंँदै गए। कान्तिपुरको २५ वर्षको वर्षगाँठको अंकमा त्यस बेलाका साथीहरूले उस बेला नेपाल सरकारको सचिवभन्दा आफ्नो तलब आकर्षक भएको संस्मरण लेख्नुभएको छ । त्यसले मलाई खुसी दिन्छ । सबैभन्दा ठूलो कुरा पारिवारिक वातावरण थियो । ठूलो सानो भन्ने भेदभाव थिएन। सबै दत्तचित्त भएर काम गर्यौं ।

राजनीतिक वातावरण कत्तिको मिडियामैत्री थियो ?
म एउटा प्रसंग उल्लेख गर्न चाहन्छु । कान्तिपुर प्रकाशन भएको सात दिन मात्र भएको थियो। अल इण्डिया रेडियोका पत्रकार आरसी साल्डीलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फोन गरेर फलानो मान्छे को हो चिन्नुहुन्छ ? भनेर सोध्नुभएको रहेछ। सायद, म पनि इण्डियन एक्सप्रेसमा काम गरेर आएका कारण साल्डीसँग सोध्नुभएको थियो होला । त्यतिबेला कांग्रेसमा तीनैजना नेताहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबीच झगडा निकै चर्केको थियो । कांग्रेसभित्रै राजनीतिक द्वन्द्वले चर्कोरूप लिएको थियो । त्यही सन्दर्भमा सरसहयोग पुग्छ कि भनेर गिरिजाबाबुले मलाई भेट्न खोज्नुभएको रहेछ । साल्डीले गिरिजाबाबुलाई तपाईंले न भेट्नु, त्यसको गलत सन्देश जान सक्छ भन्ने सुझाव दिनुभए छ ।

अनि के भयो  ?
बरु सुजातालाई भेटन पठाउनु भन्नु भएको रहेछ । अनि, साल्डीकै घर (लाजिम्पाट) मा सुजाता, पुरुषोत्तम बस्नेत (त्यो बेला गोरखापत्रका अध्यक्ष) सहित मसँग भेट भयो । सुजाताले मलाई सोध्नुभयो, ‘श्यामजी बुवाले भन्नुभएको छ, तपाईंलाई के चाहिन्छ ?’ मैले भनेँ, ‘म सँग ५ दिनका लागि पनि न्युज प्रिन्ट (कागज) छैन । म कुनै ठूलो पुँजीवाला मान्छे होइन । म मारवाडी परिवारको भए पनि मेरो बुवा किसान हो । म जसरी पनि सस्टेण्ट गर्छु। मलाई केही सहयोग चाहिएको छैन।’ यति भनेर म बैठकबाट निस्केँ।


त्यसको प्रतिक्रिया के आयो  ?
जयप्रकाश गुप्ता प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । भोलिपल्टै मलाई भेट्न उहाँ आउनुभयो र गिरिजाबाबुसँग भेट्न आग्रह गर्नुभयो। ‘सुजातालाई मैले भेट्न पठाएको थिएँ, के समस्या छ ?’ भनेर गिरिजाबाबुले मलाई सोध्नुभयो। मैले उही जवाफ दिएँ। गिरिजाबाबुले फेरि भन्नुभयो, ‘ल ठीक छ, मैले मानेँ । मैले हारेँ । तपाईंलाई मैले सकिनँ । तपाईंलाई व्यावसायिक रूपमा सरकारका तर्फबाट के कुरो पुगेको छैन ? गुनासो छ भने भन्नुहोस् । त्यसपछि मैले भने, ‘तपाईंसँग गुनासो छ। सरकारी कार्यालयमा गोरखापत्र र राइजिङ नेपाल मात्र लिनु भन्ने सरकारको सर्कुलर छ, त्यो हटाइदिनु पर्‍यो । उनीहरूलाई जे मन लाग्छ, त्यो किनेर राख्न पाउनुपर्‍यो।’ मैले सर्र्कुलेसन अनुसारको विज्ञापन हामीलाई पनि हुनुपर्छ भने । गिरिजाबाबुले विजय गच्छदार र गुप्तालाई भन्नुभयो, ‘भोलि नै संसदबाट जे गर्नुपर्ने हो गर्नु ।’ यो प्रक्रिया चाँडो टुंग्याउनु भनेर पनि निर्देशन दिनुभयो । सरकारका तर्फबाट कुनै पक्षपात हुनुभएन भन्नुभयो । तर, त्यो प्रोसेस किनारा नलाग्दै गिरिजाबाबुको सरकार ढलिहाल्यो ।

सुरुमै त्यति शक्तिशाली बन्नुभएको थियो, कान्तिपुरमा साझेदार भित्र्याउनुपर्ने बाध्यता कसरी आयो ?
पत्रिका सुरु हुनुभन्दा धेरै अघिदेखि तयारी गरेकाले धेरै खर्च भएको थियो। सरकारी विज्ञापन आइसकेको थिएन । त्यसको प्रोसेस पूरा नहुँदै गिरिजाबाबुको सरकार ढल्यो । नयाँ आउने सरकारलाई यो काम गर्न समय लाग्ने भयो। त्यसकारण आर्थिक समस्या आयो । थप पुँजीको आवश्यक्ता पर्‍यो । अनि, मैले संस्थालाई डिस्टर्व हुनु दिनु भएन भन्ने सोचेँ । आफ्नो हिस्सा कम भए पनि कोही आउँछन् भने स्वागत गर्नुपर्छ भन्नेमा म पुगेँ । त्यही क्रममा हेमराज ज्ञवाली र कैलाश सिहोरिया लगानीकर्ता भएर आउनुभयो । दुवै जना २५, २५ प्रतिशत लगानी गरेर भित्रिनुभयो ।

अन्ततः संस्थापक नै त्यो संस्थाबाट किन र कसरी अलग हुनुपर्यो ?
त्यतिबेला मेरोतर्फ आउट स्टयाण्डिङ ऋण थियो । त्यो बेलासम्मको घाटामा नयाँ पार्टनरहरू (ज्ञवाली र सिरोहिया) ले हिस्सा लिनु परेको थिएन। म मोटर हाक्दै आएको थिए । त्यो बेलासम्म त मेरो तेलले गाडी चलेको थियो । उहाँहरू आउँदाखेरी उहाँहरूसँग पुँजी थियो । मसँग रित्तिदै गएको थियो । तर, पनि मैले (ब्याक अप प्लान) के राखेको थिए भने मेरो भागको ५० प्रतिशत सेयर धितो राखेर पैसा रिलिज गर्छु र त्यसबाट मेरो दायित्व तिर्छु । तर, मेरो सेयर धितो राख्न नपाउने भनेर ज्ञवालीजीले प्राविधिक कुरा ल्याउनुभयो । कम्पनी नियमअनुसार ५० प्रतिशत सेयर भएको व्यक्तिले अर्को पक्षको मञ्जुरीबिना सेयर धितो राख्न सक्नुहुन्न भन्ने उहाँको तर्क थियो । एकातिर मलाई सेयरधितो राख्न दिइएन, अर्कोतर्फबाट तिम्रो दायित्व तिर्नुपर्‍यो, हाम्रो पैसा यहाँ छ पैसा लैजाउ भनेर दबाब सिर्जना गरियो । त्यो दबाब कति दिनसम्म सहने ? आखिर निकास त चाहियो । सेयर धितो राख्न नदिए पनि मैले मेरो दायित्व पूरा गर्नैपथ्र्यो । अनि, मलाई सेयर बेच्न बाध्य बनाइयो । धितो राख्न पाएको भए स्थिति यथावत् रहन्थ्यो । सहकार्य भइरहन्थ्यो ।

हट्नै पर्ने स्थिति कसरी आयो ?
ज्ञवालीजीले सेयर किन धितो राख्नुपर्‍यो, तपाईकोएक प्रतिशत सेयर मलाई दिनुहोस् भन्न थाल्नुभयो । एक प्रतिशत दिने बित्तिकै म ४९ प्रतिशतमा झर्थें । कुनै पनि कम्पनीमा ४९ प्रतिशत मात्र सेयर छ भने त्यो कम्पनीको गेटबाट भित्र छिर्न पनि अप्ठ्यारो हुन्छ । ४९ प्रतिशतमा झर्ने प्रस्तावले मेरो मन खिन्न भयो । म त्यो मिटिङबाट हिडेँ । रिस पनि, दुःख पनि, के कुरा गर्नु जस्तो भयो । अनि, त्यही राति २ बजे प्रेस गएर राजीनामा दिएको र कान्तिपुरबाट अलग भएको घोषणा गरेँ । ४९ प्रतिशतको कुरा के भयो र सबै दिइदिन्छु भनेर अलग भएँ ।

संस्थापक व्यक्तिले प्रेसमा गएर राजीनामा दिनुपर्‍यो किन ?
मैले कान्तिपुर छोड्ने विषयमा कैलाश सिरोहियाको कुनै संलग्नता छैन । ज्ञवालीजीको कुरा सुनेर मलाई दुःख लाग्यो र कान्तिपुर छोड्ने निर्णयमा पुगेँ । मेरो सेयर, मैले धितो राख्दा उहाँलाई के आपत्ति थियो र ? उहाँ त खुसी हुनुपर्ने हो नि । मेरो तर्फको दायित्व तिर्न उपाय निकाल्दा त उहाँ खुसी हुनुपथ्र्यो नि । जुन व्यक्तिले महिनाको ४० लाख घाटा व्यहोरेको छ, उ यसरी हिँड्छ ? फेरि कान्तिपुर घाटा पूर्ति गर्दै नाफामा जाने स्थिति बनेको बेला थियो । धेरै नै दुःखद् घटना थियो ।

कान्तिपुर छोडेर हिँडेपछि तपाईंलाई फेरि मिडियामा फर्किउँजस्तो लागेन ?
एकदमै लागेको थियो। तर, आफ्नै बच्चासँग के प्रतिस्पर्धा गर्ने ? कान्तिपुर मेरै प्रडक्ट हो भन्ने लाग्यो । मेरो नैतिकताले दिएन । यसको स्थायित्व भएपछि मिडियाको कुन आयाममा जोडिने भनेर पछि सोचौंला भन्दै चित्त बुझाएँ । नभए त, मिडियाबाहेक अरू कुनै पनि क्षेत्रले सन्तुष्टि दिन सक्दैनथ्यो ।
तपाईंले जे सोचेर मिडिया उद्योगमा हात हाल्नुभएको थियो, नेपाली मिडिया त्यतातिर अग्रसर छ कि छैन त ?
म धेरै नै सन्तुष्ट छु। मिडियाको विकास र क्रान्ति गजब भएको छ । तर, मैले सोचेको, चाहेको मिडिया अलि फरक हो।

त्यसको अर्थ तपाईंको यस क्षेत्रमा धोको पूरा भएको छैन ?
मलाई चिन्ता र चासो के कुरामा छ भने हाम्रा पत्रकार साथीहरूको ठूलो संख्या अहिले पनि गुणस्तरीय जीवनयापनका लागि संघर्षरत छ । यो तथ्यलाई मध्यनजर गर्दै म विकासको यस्तो समावेशी मञ्च स्थापनाको पहल गरिरहेको छु जहाँ सम्पूर्ण इच्छुक युवावर्गहरूले विकासको सम्वाहकका रुपमा गर्वका साथ कार्य गर्न सकून् र उक्त मञ्चमा विश्वभरका विकाससम्बन्धी संस्थाहरूमार्फत साधनस्रोत जुटाउन सकियोस् ।

पत्रकारितामा तपाईंको सपनारपरिकल्पना केही छ कि  ?
म हाम्रो मिडिया जगत्ले समग्र विकास र राष्ट्रको मुक्तिमा बृहत्तर योगदान गरेको देख्न चाहन्छु। आम नागरिकहरूलाई सशक्तीकरण गर्न मिडियाले प्रविधिका विशिष्टीकृत औजारहरूलाई उच्चतम रूपमा प्रयोग गरेको म देख्न चाहन्छु । पेशाहरूमा सबैभन्दा सम्मानित र निकै रुचाइएको पेशाका रूपमा म मिडिया स्थापित भएको देख्न चाहन्छु। मिडिया जिम्मेवार, नैतिक, ज्ञानबद्र्धक, शिक्षाप्रद र विश्लेषणात्मक हुनुपर्छ भन्ने मलाई लाग्छ । मिडियाले कुनै पनि हालतमा कसैप्रति घृणा फैलाउने वा अपमान गर्ने कार्य गर्नुहुँदैन भन्ने मलाई लाग्छ ।

वर्तमानमा नेपाली पत्रकारिता कहाँ पुगेको देख्नुहुन्छ  ?
मानव विकास सूचकांक, जीडीपी, प्रतिव्यक्ति आयजस्ता इन्डिकेटरमा नेपाल पछाडि छ । तर, खुसीको कुरा ३० वर्षअघि प्रेस स्वतन्त्रताको इन्डेक्समा नेपाल १ सय ५५ औं स्थानमा थियो । आज माथि उक्लेर सयको हाराहारीमा छ । प्रेस स्वतन्त्रतामा हामीले निकै फड्को मारेका छौं । आर्थिक इन्डिकेटरमा निकै माथि रहेका सिंगापुर र स्क्यानडिनाभियन देशभन्दा प्रेस स्वतन्त्रतामा नेपाल निकै माथि छ । यो हामी सबैका लागि गर्वको विषय हो। पहिलेको भन्दा मिडियाको विकास र परिवेशमा निकै सुधार छ । अझै सुधार हुन सक्छ।

सुधार गर्नुपर्ने ठाउँ के छ  ?
पित पत्रकारिताको जुन प्रवृत्ति धेरथोर छ, त्यो समाप्त हुनुपर्छ । रचनात्मक पत्रकारिता हुनुपर्छ । मिडियाका एजेन्डा राष्ट्रहित हुनुपर्छ।

मिडियाको डिजिटल प्रभावलाई कसरी हेर्नुभएको छ  ?
हो, डिजिटल मिडियाको प्रभाव र पहुँच बढ्दै गएको छ । यो सहज छ । प्रविधिमैत्री भयो। पढ्न र हेर्न सजिलो भयो । अर्कातिर प्रिन्ट मिडियाको विश्वसनीयता आज पनि उस्तै छ। अहिले नै, डिजिटल मिडियाप्रति त्यति विश्वास प्राप्त भइसकेको छैन । छापा माध्यमलाई ‘रिइन्भेन्ट’ भने गर्नुपर्ला कि  ? पत्रकारितालाई राष्ट्र विकाससँग पनि जोड्ने कि  ?
कसरी  ?
मिडियाले एजुकेटरको भूमिका खेलेर विकासका विभिन्न पक्षलाई उठाउन सक्छ । हामीले इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी (आईसिटी) को प्रयोग गर्दा विकासलाई पनि जोड्न सक्छौ। हाम्रा सबै पत्रकारले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य, टेलिमेडिसन, कृषि, उद्योग जस्ता पक्षलाई उठाएर विकासलाई अगाडि बढाउन भूमिका खेल्न सक्छौ । विकासका लागि नागरिक पत्रकारको अवधारणालाई कार्यान्वयमा लैजान सक्छौं । यसो भयो भने मिडियाका माध्यमबाट विकासका लागि क्रान्ति नै गर्न सकिन्छ । सरकारप्रतिका गुनासामा मिडियाले ‘सोसल अडिट’ को काम गर्न सक्छ ।

मिडियाबाट अलग भइसकेपछि केमा व्यस्त हुनुभयो  ?
यसबीच मैले देश विकासबारे अध्ययन गरेँ । ग्रामीण विकासबारे मैले केही अवधारणासमेत बनाएको छु। त्यसलाई कार्यान्वयनका लागि मिडिया एउटा ‘क्याटालिस्ट’ बन्न सक्छ।

यसको केही उदाहरण सुन्न पाइन्छ  ?
नेपालमा नदीले बगर बनाएको ५ लाख हेक्टर जमिनलाई मरुभूमिबाट कृषियोग्य उर्बर भूमिमा रूपान्तरण गर्न सक्यौं भने देशमा विकासको मूलै फुट्छ । यसबाट २५ लाख युवालाई रोजगार दिन सक्छौं । कार्बन घटाएर जलवायु परिवर्तनको समस्या हल गर्न सक्छौं । खाद्य सुरक्षा गर्न सकिन्छ। इनर्जी सुरक्षा गर्न सकिन्छ । ग्रिन इनर्जी उत्पादन गर्न सकिन्छ । संगसंगै बाढी पहिरोको समस्या पनि हल गर्न सक्छौँ ।

यसमा तपाईले केही गरिरहनुभएको हो  ?
मैले ६० बिघा जमिनमा पाइलट योजना सञ्चालन गरेको छु । त्यहाँ भेटीभरका ५० लाख बिरुवा लगाएको छु । ती पुस मसान्तासम्ममा हुर्कनेछन् । अर्को वर्ष २० करोड हुन्छन् । बाढी, पहिरो र नदी कटान रोक्न र जमिनमा उर्बरा क्षमता बढाउन यो वनस्पति उपायोगी हुन्छ। नेपालमा १ सय २५ नदीनाला छन । तीमध्ये जोखिम भएका खोलानालामा भर्टिभर लगाउन सकिन्छ । हामी किसानलाई निःशुल्क विरुवा वितरण गर्छौं । यसको तेल नै लिटरको ३० हजार रुपैयाँमा बिक्छ । हाम्रो देशमा जमिन कम छ । एक विघामा १५ जनाको भाग लगाउनुपर्छ । यसरी हुँदैन । बगर बनेको ५ लाख हेक्टरलाई सदुपयोग गर्नैपर्छ । त्यसको गुरुयोजना मसँग छ । सबैलाई मेरो आग्रह छ, आउनुहोस्, मिलेर देश बनाऔं । (अन्नपूर्ण पोस्ट)

 

Translate »