भेरी–बबई डाइभर्सन आयोजना : मुआब्जा वितरण नसकिंदै काममा तीव्रता

स्काई न्यूज / भदौ १७, सुर्खेत ।  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम धमाधम भइरहेको छ ।

सुरुङ निर्माणको काम सकिएपछि अहिले आयोजनाको बाँध र विद्युत् गृह बनाउने कामलाई तीव्रता दिइएको हो । बाँधस्थल निर्माण र विद्युत् गृहका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको कामलाई तीव्रता दिइरहेका छन् । अहिले दोस्रो चरण अन्तर्गतको हेडवक्र्स र पावरहाउस निर्माणका काम धमाधम भइरहेको आयोजनाले बताएको छ ।

आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सवस्टेसन निर्माणलगायतका काम भईरहेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इञ्जिनियर ईश्वरी तिवारीले जानकारी दिए ।

तर सरकारले लालपुर्जाविहीन घरजग्गा धनीलाई के–कति रकम दिने भन्नेबारे टुंगो नलगाउँदा मुआब्जा वितरणमा ढिलाइ भइरहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेमा बाँध निर्माण गरी बबई नदीमा पानी खसाल्दा भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाको करीब ३२ हेक्टर जग्गा डुबानमा पर्छ । जसमध्ये आयोजना कार्यालयले हालसम्म लालपुर्जा भएका करीब ९ हेक्टर जग्गाका प्रभावितलाई मात्रै मुआब्जा वितरण गरेको ।

जग्गाको स्थिति हेरेर लालपुर्जा भएकाहरुलाई प्रतिरोपनी अधिकतम ५ लाख रुपैयाँसम्म वितरण गरिएको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार डुबानमा पर्ने करीब ३२ हेक्टर जग्गामध्ये झन्डै २३ हेक्टर जग्गा लालपुर्जा विहीन रहेको छ ।

आयोजना कार्यालयका अनुसार २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाको बारेमा कार्यविधिसमेत बनेको छैन । उनले ऐलानी जग्गाधनीको विवरण संकलन गरी मुआब्जा रकम निर्धाण गर्न संघीय सरकारसमक्ष फाइल पेस गरे पनि अहिलेसम्म कुनै टुंगो नलागेको बताए ।

‘हामीसँग रकम पनि छ, वितरण गर्नलाई कुनै समस्या छैन,’ उनले भने, ‘तर के–कति मुआब्जा दिने भन्नेबारे सरकारले निर्धारण गरेको छैन, मन्त्रिपरिषद्बाटै निर्णय भएर आएपछि हामी वितरण गर्न सक्छौं ।’ उनका अनुसार डुबानमा पर्ने ऐलानी जग्गामध्ये केहिको साढे छ हेक्टर जग्गा फिल्डबुकमा दर्ता भएको छ । तर उनीहरुले लालपुर्जा प्राप्त गरेका छैनन् ।

दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०८० सालसम्म काम सम्पन्न गने लक्ष्य राखेको र ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ खर्च हुने अनुमान छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण भए बाँके र बर्दियाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महीना सिंचाइ सुविधा उपलब्ध हुने आयोजनाले बताएको छ ।

भेरीको पानी बबईमा झरेमा बाँके र बर्दिया बाह्रै महीना सिंचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३ दशमलव १ अर्ब रुपैयाँ अप्रत्यक्ष तथा विद्युतबाट २ दशमलव १ अर्ब रुपैयाँ प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाएर १२ किमि २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको वडा नम्बर ११ हात्तीखालमा भेरीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

Translate »