गोञ्जालोको सन्देश : आन्दोलन नजोगाए नेतृत्व जोगिन्न


सुदर्शन खतिवडा  /  २७ भदौ, काठमाडौं ।
९० को दशकमा संसारभरी क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक बन्दै समाप्तिको दिशातिर यात्रारत थियो । नेपालमा पनि कम्युनिष्ट आन्दोलन उठिसकेको थिएन ।

त्यही प्रतिकूलतामा पेरूमा गोञ्जालोले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन सुरु गरे । उनले सुरु गरेको ‘जनयुद्ध’ को चर्चा संसारभर भयो । अरु देशका कम्युनिष्टहरूका लागि एकप्रकारको प्रेरणा बन्यो । नेपाली कम्युनिष्टहरू गीत गाइरहेका हुन्थे, ‘ओ याङ्की गो होम, डर्टी याङ्की गो होम’, ‘हाम्रो रातो झण्डा पेरूमा फरफराउँदैछ ।’

चिनियाँ सांस्कृतिक क्रान्ति असफल भइरहेको थियो । त्यतिबेलै कम्बोडियामा खमेरुजको नेतृत्वमा आन्दोलन सुरु भयो । कम्बोडियापछि पेरू र पेरूपछि नेपालमा सशस्त्र कम्युनिष्ट आन्दोलनले गति लियो । यही लहरहरूलाई हेरेर क्रान्तिको पनि हरेक देशमा आफ्नो मौलिक अवतार हुन्छ भन्ने कुरा एकप्रकारले सिद्धान्तजस्तै बन्यो ।

को हुन् गोञ्जालो ?

सन् १९३४ डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज श्रृङ्खला पेरूमा जन्मिएका गोञ्जालोको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो । ११ वर्षको उमेरमा एक विरोध जुलुसमा सहभागी भएर राजनीतिक यात्रा सुरु गरेका उनले १२ वर्षको उमेरमै कम्युनिस्ट योङ ब्रिगेटको सदस्यता लिएका थिए ।

जवानी राम्रोसँग नहुर्कंदै राजनीतिक विचार हुर्काएका गोञ्जालो १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए । उनी ३१ वर्षको उमेरमा अर्थात् १९६५ मा चीन भ्रमणमा निस्किए अर्को वर्ष पेरू कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

उनले एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनले दर्शनशास्त्रको प्राध्यापकको रूपमा सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरूमा प्राध्यापन गरे ।

सन् १९७५ मा मात्र उनी पेरू कम्युनिष्ट पार्टीको अध्यक्ष बन्न सफल भए भने पार्टी नेतृत्वमा उक्लिएको ६ वर्षपछि उनले पेरूमा सशस्त्र जनयुद्धको उद्घोष गरे । सशस्त्र आन्दोलन सफलता उन्मुख भएकै बेला उनलाई फुजीमोरी सरकारले सन् १९९२ को सप्टेम्बर १२ मा पक्राउ गरी सैनिक जेलमा राख्यो । उनकी जीवनसाथी एप्पारागुरी र बिस्तारै सबैजसो पोलिटब्युरोमा रहेका नेताहरू पक्राउको श्रृङ्खला चल्यो । अन्तरघातको नतिजा यस्तो निस्कियो कि गोञ्जालोले जेलभित्रै पोलिटब्यूरोको बैठक बोलाउनुपर्ने अवस्था सिर्जना भयो ।

आजीवन कारावासको सजाय पाएका उनको २९ वर्षको जेलजीवनपछि ८६ वर्षको उमेरमा शनिबार बेलुका जेलभित्रै निधन भयो ।

‘साइनिङ पाथ’ नामले बढी चर्चित पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोन्जालोलाई एकपछि अर्को मुद्दा लगाउँदै आरम्भमा वकिल पनि राख्न नदिई एकतर्फी रूपमा फुजिमोरो सरकारले आजीवन कारावासको सजाय तोकेको थियो ।

नेपालमा जस्तै पेरूमा पनि युद्ध घोषणा गरिएको एक दशकमा आन्दोलन उत्कर्षमा पुगेको थियो । माओवादलाई आदर्श मानेकोले त्यहाँ पनि गाउँबाट शहर घेर्ने रणनीति अबलम्बन गरिएको थियो र उक्त युद्धमा झण्डै ७० हजार नागरिकले ज्यान गुमाए ।

पेरू कम्युनिष्ट पार्टी अन्तिम शान्तिवार्ता कालको माओवादी जत्तिकै शक्तिशाली थियो जतिबेला गोञ्जालो कब्जाको चरणमा रहेको राजधानी शहर लिमाबाट पक्राउ परे । उनी पक्राउ परेपछि त्यहाँको सशस्त्र आन्दोलन निरन्तर ओरालो लागिरह्यो ।

गोञ्जालोका विरोधाभाषहरू

युद्धका बेला जेलभित्र भएका नेताका बारेमा जस्तो पनि प्रचार हुनेगर्छ । यस्ता प्रचारहरूलाई शंकाको नजरले हेर्नुपर्छ । गोञ्जालो जेलभित्र परेपछि उनको बारेमा विभिन्न किसिमका प्रचारहरू भए ।

उनले फुजिमोरी सरकारसँग आत्मसमर्पण गरेको, जेलभित्रै पोलिटब्युरो बैठक बोलाएर शान्ति वार्ताको आह्वान गरेको, आफ्नो जीवनको लागि ७० हजार नागरिकको बलिदान भएको क्रान्तिको मूल्य त्यागेको जस्ता आरोपहरू उनीमाथि कतिपयले लगाउने गरेका छन् ।

सत्तासमक्ष आत्मसमर्पण गरेको भए उनी जेलभित्रै सडेर मर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्नले यी सबै आरोपहरू फिकाजस्तै लाग्छन् । जे होस्- उनको जेल जीवन र मृत्यु एक रहस्यजस्तो बनेको छ । उनले बाँचुञ्जेल आफू आफ्नो आदर्शसँग सम्झौता नगर्ने बताइरहे । कठोर जेलभित्रै उनको निधन भएसँगै कतिपय प्रश्नको उत्तर उनको सिङ्गो जीवन र व्यवहारले दिइसकेको छ ।

पछिल्लो समय छालाको क्यान्सरबाट पीडित रहेका उनको स्वास्थ्य कमजोर बन्दै गएपछि उनलाई जेलमुक्त गर्न संसारभरीबाट आवाज उठिरहेको थियो ।

नेतृत्व सुरक्षाको प्रश्न

पेरूको यही घटनालाई देखाउँदै नेपालमा जनयुद्ध गरिरहेका माओवादी नेतृत्वले ‘नेतृत्व सुरक्षा’को प्रश्नलाई प्राथमिकतामा राख्यो । नेतृत्व सुरक्षाको राजनीतिक प्रश्नलाई माओवादी नेतृत्वले प्राविधिक बनाएर भारतमा आश्रय लिएको थियो । यही गल्तीको जति जवाफ दिए पनि जवाफ बन्न सकिरहेको छैन र उनीहरूको टाउको दुखिरहेको छ ।

नेतृत्वको सुरक्षा त राजनीतिक कार्यदिशाले गर्ने हो भन्ने कुरामा अकाट्य सत्य मान्न सकिन्छ ।

चुनवाङ बैठकबाट शान्तिपूर्ण राजनीतिको बाटो नसमातेको भए न माओवादीले विद्रोह सफल बनाउन सक्थ्यो न देश गृहयुद्धबाट तत्काल मुक्त हुनसक्थ्यो । पहिलो संविधानसभापछि पाएको विशाल जनमतलाई लत्याएर विद्रोहको बाटो समाउने गलत निर्णयको मूल्य माओवादीले अहिलेसम्म पनि चुक्ता गरिरहेको छ ।

सम्भवतः यो मूल्य आफू नसकिएसम्म माओवादीले चुक्ता गरिरहनु पर्नेछ यदि उनीहरूले नयाँ सन्दर्भमा नयाँ कार्यदिशा लिन सकेनन् भने । किनकि पहिल्यै भनिएको छ- नेतृत्व र आन्दोलनको रक्षा विदेशमा लुकेर वा सुरुङभित्र छिरेर हुने होइन, यो त सही राजनीतिक विचार र कार्यदिशाबाट मात्र सम्भव छ ।

यस्तो लाग्छ- एक थान कुर्सीका लागि दिनदिनै पार्टी र गुट बदल्नेहरूका लागि गोञ्जालोले नैतिक झापड हानिरहेका छन् । हुन त, नीतिको जमिनमा उभिनेलाई नै नैतिकताले छुन्छ ?

माओवादीको सुरुवात

संसारमा माओवाद भन्ने पदावलीको प्रयोग सम्भवतः पेरूमा गोञ्जालोले सुरु गरे । लिन प्याओहरूले चीनमा माओवादको प्रयोगको कुरा गरे तर स्वयम् माओले नै मानेनन् । मार्क्सवाद, लेनिनवाद र माओवादलाई स्वीकार्दै उनले गोञ्जालो विचारधाराको प्रयोग सुरु गरे ।

पेरूमा रहेका विभिन्न कम्युनिष्ट धारामध्ये एक थियो- साइनिङ पाथ । पेरूभियन कम्युनिष्ट पार्टीको धेरै समूहमध्ये पेकपा- साइनिङ पाथ एक थियो । उक्त पार्टीले पछ्याएको वैचारिक आदर्श मालेमावादसँगै गोञ्जालो विचारधारा थियो । तर त्यतिबेलाको प्रचलन भने फरक थियो । धेरै कम्युनिष्ट पार्टीहरूले मार्क्सवाद र लेनिनवाद मान्थे । तर उनीहरू माओवाद नमानेर माओविचारधारा मात्र मान्थे ।

यही सन्दर्भमा गोञ्जालोले माओवादलाई पनि मानेर गोञ्जालो विचारधारा सुरु गरेर हरेक देशको क्रान्तिको आफ्नै मौलिक विचारधारा हुन्छ भन्ने तर्कलाई स्थापित गर्न खोजे ।

नेपालमा प्रचण्डहरूले पनि सोही अभ्यासलाई पछ्याए । मार्क्सवाद, लेनिनवाद, माओवाद हुँदै प्रचण्डपथ पनि थपे । यसरी हेर्दा कहीँ न कहीँ प्रचण्डपथ थप्नुमा गोञ्जालो विचारधारा अभ्यासको प्रेरणा देखिन्छ ।

सिक्दासिक्दै नसिकेको कुरा

नेपालका कम्युनिष्टहरूले पेरूको आन्दोलनबाट धेरै शिक्षा लिएको देखिन्छ । नेतृत्व सुरक्षादेखि प्रचण्डपथ सैद्धान्तिकरण गर्ने हदसम्म सिकेपनि नसिकेको कुरा हो- कम्युनिष्ट आन्दोलनभित्र लोकतन्त्र कमजोर बनाउनु भनेको आन्दोलन नै कमजोर बनाउनु हो ।

त्यसैगरी, सशस्त्र विद्रोहले २१औं शताब्दीमा निकास दिन सक्दैन । माओको समयमा जस्तो अहिले गाउँबाट शहर घेर्ने रणनीति सम्पूर्णरूपले लागू नहुन सक्छ । माओवादी नेतृत्वले शान्तिपूर्ण अवतरणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरालाई रणनीतिकरूपमा उपयोग गर्ने नीति लियो । यसबारे माओवादीको तत्कालीन अन्तरसंघर्षलाई नजिकबाट हेर्नुपर्ने हुन्छ ।

जनयुद्धको बेला प्रचण्डले कार्यकर्ता प्रशिक्षणमा पेरूको गोञ्जालोको उदाहरण दिने गर्दथे । माओवादी शान्ति प्रक्रियामा आएपछि विद्रोहमा जाने कि शान्तिपूर्ण बाटोबाट संविधानसभामार्फत् अगाडि बढ्ने भन्ने दुई लाइन संघर्ष चल्यो ।

जब माओवादीहरू पालुङटार प्लेनम पुगे, त्यहाँ प्रचण्ड र किरणले विद्रोहको लाइन रोजे भने बाबुराम भट्टराईले शान्तिपूर्ण बाटो । प्रचण्डहरूले काठमाडौंमा असफल जनविद्रोहको अभ्यास पनि गरे । चलाख प्रचण्डले आफ्नो निर्णयमा त्रुटि भएको थाहा पाएर शान्ति र संविधानको लाइनमा आइहाले । तर नीतिमा ‘इमान्दार’ वैद्य र विप्लवहरू क्रान्तिकै बाटोमा लाग्न खोजे ।

दुई तिहाई बहुमत नजिक भएको बेला केपी ओली र प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा सरकारले विद्रोहमा रहेका विप्लवलाई पनि गोञ्जालो बनाइदिने रणनीति अख्तियार गरेको आरोप विप्लव समूहका नेताहरूले लगाउने गर्दछन् । सोही रणनीतिअनुसार विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट सरकारले प्रतिबन्ध लगाएको थियो ।

नेपालको इतिहासमा ००७ सालपछि मातृका कोइरालाले कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएका थिए भने पञ्चायतमा राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएका थिए । त्यसपछि चरम संकटकालमा राजा ज्ञानेन्द्रले पनि दलमाथि प्रतिबन्ध लगाएका थिएनन् ।

अहिले जसरी गोञ्जालोलाई पेरूकै वाम राष्ट्रपतिले ‘आतंककारी’को संज्ञा दिएका छन् । विप्लवलाई त्यसरी नै सिध्याउने तत्कालीन कम्युनिष्ट सरकारले लिएको देखिन्छ । केही नेताहरू गिरफ्तारीको श्रृङ्खला पनि सुरु भइसकेको थियो । तर प्रचण्डसँग दूरी बढेपछि ओलीले विप्लवलाई खुला राजनीतिमा स्वागत गरे ।

कमरेडहरूलाई गोञ्जालोको सन्देशहरू

गोञ्जालोको स्वास्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि बिहीबारदेखि नेपालमा विभिन्न कम्युनिष्ट घटकहरुले उनको रिहाईको लागि आवाज उठाएका थिए । उक्त श्रृङ्खला प्रदर्शनसम्म पुग्ने खबर आए पनि यसअघि नै गोञ्जालोको मृत्युको खबर आयो ।

गोञ्जालोले त भौतिक शरीर छाडेर गए तर, उनको सिङ्गो जीवनले बाँचेकाहरुलाई केही सशक्त सन्देशहरु छाडेर गएको छ ।

कार्यदिशा फरक परेपछि नेपालको माओवादी आन्दोलन पनि अहिले छिन्नभिन्न भएको छ । यद्यपि पेरूको भन्दा यहाँ संख्यामा नै उल्लेख्य जनमत अहिले पनि माओवादसँगै गोञ्जालोलाई पनि आदर्श नेता मान्छ ।

प्रेमको व्याख्या गर्नेहरूले भन्छन् – पाउनु मात्र प्रेम होइन, गुमाउनु थप बढी प्रेम हो । लामो जेल जीवनमा गोञ्जालोले कुनै पनि सम्झौता गरेनन् । उनले मृत्यु स्वीकारे ।

एक थान कुर्सीका लागि दिनदिनै पार्टी र गुट बदल्नेहरूका लागि गोञ्जालोले नैतिक झापड हानिरहेझै भान हुन्छ । हुन त, नीतिको जमिनमा उभिनेलाई नै नैतिकताले छुन्छ ?

अर्को सन्देश हो- आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न नयाँ सन्दर्भमा नयाँ कार्यदिशा ग्रहण गर्न सक्नुपर्छ । एउटै बाटो र तरिकाबाट न प्राप्त उपलब्धिको रक्षा गर्न सकिन्छ न त सबै उपलब्धि हासिल गर्न नै ।

गोञ्जालोको कारावासभित्रै निधनको सन्दर्भसँग जोडेर लेखक राजेन्द्र महर्जनको प्रश्न गर्छन्- ‘एक नेताको गिरफ्तारीसँगै कसरी सिङ्गो आन्दोलन शिथिल हुन सक्छ ? गडबडी नेतृत्व निर्माणमा छ कि सिद्धान्त र संगठनमै समस्या छ ? आन्दोलन पार्टी र संगठनको निजीकरण नै समस्या त हैन ?’

महर्जनको प्रश्नमा चन्द्र खाकी अर्को प्रश्न थप्छन्- ‘साँच्चै नै घोत्लिनै पर्ने प्रश्न ! नेतृत्वको अति व्यक्तिवादी केन्द्रीकरण र देवत्वकरणले निम्त्याउने अनिवार्य दु:खान्त त हैन ?’

प्रश्नहरू शक्तिशाली छन् । उत्तर अपेक्षित छ । समयमै जवाफ दिन नसक्नेहरुलाई समयले नै जवाफ दिनेछ ।

गोञ्जालोले लिएको बाटो सही हो कि गलत समयले जवाफ दिनेछ । तर उनले रोजेको जीवनले संसारलाई धेरै कठिन र शक्तिशाली सन्देशहरू भने दिएको छ ।

उनी राजनीतिक मागका लागि सबैभन्दा लामो समय अर्थात् २९ वर्ष लगातार जेल बस्दै एउटा रेकर्ड बनाएर बिदा भएका छन् ।

यसअघि दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला २७ वर्षसम्म लगातार राजनीतिक माग पूरा गर्न जेल बसेका थिए । मण्डेल जेलभित्र परे पनि उनको विचार र सांगठनिक शक्तिलाई शासकहरूले जेलमा सडाउन सकेनन् । त्यही आन्दोलनको बलले उनी जेलबाहिर निस्किए ।

नेतृत्वलाई जन्माउने र जोगाउने आन्दोलनले नै रहेछ । दिनदिनै आन्दोलनको भाषण गर्ने नेताहरूले साँच्चै नागरिकलाई आन्दोलित गर्न सकेका छन् ? आफूलाई जन्माउने आन्दोलनको रक्षा गर्न नसक्दा उक्त आन्दोलनले आफैंले जन्माएका नेताहरुलाई पनि जोगाउन सक्दैन ।

यद्यपि, गोञ्जालोको त्यागको निरन्तरताको अर्को पाटो जुन छ, त्यसले उनलाई मृत्यु पछि पनि जीवित भने राख्ने नै छ ।

अलविदा गोञ्जालो       (अनलाइन खबर)

Translate »