कोरोना रोकथाम, नियन्त्रणमा उदासिन : सुृर्खेतका स्थानीय तहले अझै तयारी शुरु गरेनन्

स्काई न्यूज /माघ ३, सुर्खेत । सुृर्खेतका स्थानीय तहहरुले अझैपनि कोराना रोकथाम, नियन्त्रण तथा उपचार पूर्व तयारी शुरु गरेका छैनन् । देशका ठूला शहरमा कोरोना आक्रमण बढीरहेका बेला सुर्खेतका स्थानीय तहसँग पूर्व तयारीका लागि पर्याप्त समय रहँदा समेत हेलचक्राई गरेका छन् । यतिबेला आवश्यक पूर्वाधार, जनशक्ति तथा औषधिजन्य भण्डारणलगायतका तयारीमा जुट्नुको साँटो केन्द्र तथा प्रदेश सरकारकै सहयोग र समन्वयको प्रतिक्षामा बसिरहेका छन् ।

जिल्लामा स्मार्ट लकडाउन शुरु भईसक्दा समेत कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहहरुले आवश्यक पूर्व तयारी गरेको नदेखिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य कुमारी भुसालले बताईन् । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेल्टा र ओमिक्रोनको मिश्रणबाट सुनामी आउने ‘चेतावनीयुक्त’ घोषणा गरिसकेको परिप्रेक्षमा हाम्रो तयारी पुगेको छैन्,’ उनले भनिन्, ‘अमेरिका, युरोप मात्र नभई छिमेकी देश भारतमा कोभिडको नयाँ लहरले आक्रान्त बनाईरहेकाले यसबाट कुनै पनि बेला पश्चिम नेपाल संक्रमणको चपेटामा नपर्ला भन्न सकिन्न ।’

उनले धेरै नसकेपनि सुर्खेतका स्थानीय तहले आफ्नै जे जति स्रोत साधनबाट आवश्यक पूर्व तयारी अहिलेदेखि गर्न सुझाव दिईन् । उनका अनुसार देशका अन्य स्थानीय तहले कोभिड फैलिन सक्ने भन्दै आवश्यक पूर्व तयारीमा जुटिरहेका बेला सुर्खेतमा हेलचक्राई भईरहेको छ ।

‘स्थलमार्गका नाकाहरुमा स्थानीयह तहहरुले अविलम्ब सतर्कता अपनाउन जरुरी छ,’ उनले भनिन्, ‘सीमामा क्वारेन्टिनको प्रबन्ध गर्नेदेखि स्वास्थ्य चेकजाँचमा कडाइ गर्न सकिए मात्र ओमिक्रोन वा कोभिडको नयाँ लहरलाई रोक्न सकिन्छ ।’ उनले नागरिकमा सचेतना फैलाउनेदेखि खोपलाई अभियानका रुपमा सञ्चालन गर्ने र स्वास्थ्य सुरक्षाका उपकरण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिईन् । उनका अनुुसार जनतालाई आतंकित पार्ने नभई सचेत र सुरक्षित बनाउनेतिर स्थानीय तहको ध्यान जान जरुरी छ ।

अर्कोतर्फ, सरकारले जनतालाई आश्वस्त हुन खोपको पर्याप्त व्यवस्था नै गर्न सकेको छैन् । आगामी चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेको सरकारले व्यवहारमा भने त्यस अनुरुप काम गर्न नसकेको उपभोक्ताकर्मीको आरोपछ । आर्थिक वर्षको ६ महिना बित्दा पनि अझै धेरै नागरिकले खोप पाउन सकेका छैनन् । अबको तीन महिनामा सबै नागरिकले खोप पाउने सरकारको घोषणा केवल कागजमै सीमित नराख्न पश्चिम सुर्खेतका समाजसेवी काशीराम जैसी देवकोटाले बताए । उनले मुलुकमा खोप भित्रिए पनि सरकारले पहल नगर्दा भण्डारमै खोप थन्किएको आरोप लगाए ।

यता जिल्ला प्रशासन कार्यालयले बढ्दो कोभिड संक्रमणलाई दृष्टिगत गरि जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका एम्बुलेन्स, कोभिड–१९, उपचार केन्द्र तथा आईसोलेशन केन्द्रलाई सुदृढ गरि सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्नुका साथै अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड–१९, को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा हस्तान्त्ररण गर्न निर्देशन गरिसकेको छ ।

तर, हालसम्म त्यसको कार्यान्वयन भने फितलो देखिएको छ । कोभिड–१९, सम्बन्धि आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा अकास्मिक अनुगमन गरिने र आदेशको अवज्ञा भएको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही हुने समेत बताईएको छ । यद्यपि ! जिल्लाका नौ वटै स्थानीय तहहरुले कोरोना रोकथाम, नियन्त्रण, तथा उपचारका लागि आवश्यक पूर्व तयारी शुरु गरेका छैनन् ।

स्थानीय तहलाई सरकारको निर्देशन
खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई सरकारले निर्देशन दिएको छ । पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ’कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उक्त आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको छ ।

आदेशानुसार स्थानीय तहको स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा सातै दिन न्यूनतम् १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९, विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्नुपर्ने, नगरपालिकाले जनघनत्वको आधारमा थप खोप केन्द्रहरु राख्नुपर्ने बताइएको छ । त्यस्तै, माथिल्लो तहबाट आदेश भएका निर्देशनको पालना गराउन स्थानीय प्रशासन र स्थानीय तहलाई नै निर्देशन दिइएको छ ।

सांस्कृतिक कार्यक्रम गर्दा पाँचजनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, मठ मन्दिर, पार्टी प्यालेस, रंगशाला, सपिङ मल, सिनेमा हललगायत ठाउँमा भिडभाड हुन नदिने, हवाई उडानमा थप सावधानी अपनाउने र फेस सिल्ड तथा अन्य स्वाथ्य मापदण्ड पालना गर्नेलगायतका निर्देशन सरकारले जारी गरेको छ । उक्त निर्देशनहरु सम्बन्धित कार्यालयहरुबाट कार्यान्वयन गराउन पनि मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको छ ।

त्यस्तै, विदेशबाट नेपाल आउनेहरुमा कोरोना नेगेटिभ देखिए पनि पाँच दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था छ । जारी आदेशानुसार अब विदेशबाट नेपाल आउनेले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि पाँच दिनसम्म आइसोलेसन बस्नुपर्नेछ । आदेशमा भनिएको छ, ’विदेशबाट नेपालमा आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने ।’

Translate »