कोसेढुङगा बन्दै ‘बेतन कर्णाली’


कर्णाली र सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको ४३९ मेगावाट (मेवा) क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने खबरले स्थानीयमा खुशी बढेको छ । रोग भोग, गरिवी र अशिक्षाले पछाडी पारिएको पश्चिम सुर्खेत र अछामका नागरिकमा बेतन कर्णाली आयोजना बन्ने सुनिश्चित भएपछि स्थानीय बासिन्दा खुशी हुनु स्वाभाविकै हो । विकासका लागि आशाको दियो झै बनेको बेतन कर्णाली जलविद्युत आयोजनाप्रति स्थानीयको आशा, भरोसामा खडा उत्रिँदै रोजगारीसँगै दिगो आय आर्जनमा समेट्न सके पश्चिम सुर्खेतसँगै अछामको महार फेर्न अब धेरै समय नकुर्नु पर्ला । पूर्वाधार अभावले ंप्राकृति स्रोतसाधनले भरिपूर्ण भएपनि पश्चिम सुर्खेतको बहुउपयोग आयामलाई नेताहरुले बुझ्न नसक्दा अहिलेसम्म ओझेलमा परेको थियो । तर, समयले अहिले कोर्टे फेरेको छ ।
पश्चिम सुर्खेतमा कैलालीको बाटो हुँदै आउँदै गरेको ३२ केभिए विद्युतलाईन, कर्णाली नदी माथिका मोटेरेवल पक्की पुल निर्माणले पूर्णता पाउने वित्तिकै चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकले समेत पूर्णता पाउनेछ । अनि कैलालीको सतीदेखि कैलाली, सुर्खेतको गुटु–अछामको मंगलसेन, बाजुरा हुँदै हुम्लाको हिल्सा पुग्ने सबैभन्दा छोटो त्रि–देशीय भारत–नेपाल–चीन जोड्ने सडकले समेत मूर्तरुप पाउनेछ । त्यसैमा पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको अर्को बहुचर्चित चौकुने सिमेन्ट कारखाना, लखरपाटा सिमेन्ट कारखाना, माथिल्लो कर्णाली जलविद्युत आयोजनाजस्ता बहुउपयोगी परिजनाले पश्चिम सुर्खेत मात्र नभई कर्णाली र सुदूरपश्चिमबासीको समेत मुहार फेरिएर राष्ट्रिय अर्थतन्त्रको आधार स्तम्भ बन्ने छन् । पश्चिम नेपालमा बहुआयामी सोच भएका विकासप्रेमी नेताको अभावले यहाँका नागरिकलाई नूनको खोजीमा सुनको सिरानी छोडेर भौतारिनु परिरहेको छ । सुर्खेतका गाउँ–गाउँ वस्तीमा राष्ट्रिय विद्युत प्रसारणलाईन जोडिने वित्तिकै ती हराभरा खेतीहरुमा सुनका बालाहरु झुल्ने छन् । मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेतको केही हदसम्म कनेक्टविटी बढाएपनि त्यो भन्दा बढी त्रि–देशीय सडक निर्माणको कामलाई राज्यले विशेष महत्व दिन सक्नु पर्छ ।

अहिले आयोजना प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्यहरु अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशको अछाम र कर्णाली प्रदेशको सुर्खेतको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा बन्न लागेको यो अर्धजलाशययुक्त आयोजना ड्याम (बाँधस्थल) अछामको ढकारी गाउँपालिका–६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका–६ र पावरहाउस (विद्युतगृह) अछामको ढकारी गाउँपालिकामै पर्ने टटालीघाटमा रहनेछ । डाइभर्सन टनेल चौकुने गाउँपालिकाको वडा नं ६ मा राखिनेछ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करीब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको बेस क्याम्प हाउस, पहुँच सडक, टेस्ट टनेल निर्माण, जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, वातावरणीय प्रभाव मूल्याङ्कन, सार्वजनिक सुनुवाइ, बेलिब्रिज निर्माणलगायतका कार्य निर्माणपूर्वको तयारी अन्तर्गत पर्दछन् ।
अहिले तीनै कार्यहरु त्यसक्षेत्रमा भईरहेका छन् । आयोजनाको साइट क्याम्प निर्माण पूरा भएको छ भने टेस्ट टनेल खन्ने काम भइरहेको छ । आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण कार्य पूरा भएको छ । सुर्खेतखण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ । पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिनेछ । हाल आयोजनास्थलमा अछाम सुर्खेत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा छ । पुल बनेपछि यातायातका साधन वारपारमा सहज हुनेछ । मालुमेलामा १४० मिटर अग्लो बाँधबाट २१ किमी लामो कृत्रिम ताल बन्नेछ । उक्त तालमा मत्स्यपालन, पर्यटन व्यवसाय सञ्चालन गर्न सकिनेछ । सुर्खेत, कैलाली र अछामको विकासमा यो आयोजना कोसेढुङ्गा सावित हुनेछ । ८८ अर्ब रुपैयाँ लागत रहेको यो आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यहाँबाट उत्पादित विद्युतले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार रुपैयाँ तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख ८ हजार रुपैयाँ वार्षिक आय हुने अनुमान गरिएको छ ।

