मौका खेर नफालौं

राजनीतिलाई कमाई खाने भाडो नमानिएपनि गरिब देशका करिब ५५ प्रतिशत बढी युवा राजनीतिमै रोमलिएका छन् । किनभने राजनीति नेपाल जस्तो गरिव देशका लागि नाम, दाम र दिर्घकालिनरुपमै सुन्दर भविष्य भएको क्षेत्रका रुपमा देखिन थालिएको छ । खासमा के हो ? भने बोल्न जान्ने वित्तिकै गधेलाईपनि घोडा बनाउन सकिन्छ भन्ने मानसिकता नै राजनीति क्षेत्रको सबै भन्दा ठूलो कमजोरी हो । अपराधीले समेत राजनीतिलाई कमाई खाने भाडो बनाउन थालेपछि सबैका लागि आकर्षक क्षेत्र बनेको छ । नेपाली राजनीतिमा अपराधिकरण हावी भएपछि दलाल मात्र होइन, व्यापारी उद्योगीसँगै अपराधीहरुले हिस्सा ओगट्न थालेका छन् । राजनीतिको अपराधिकरणले वास्तविक मूल्य मान्यताहरुलाई नै चुनौति पेश गरिरहेका छ । राजनीति समाज सेवा हो की, कमाई खाने भाडो भन्ने छुट्टाउन अहिले समस्या परिरहेको छ । ठूला भनिएका राजनीतिक दलले संघ र प्रदेश संसद् दुवैतिर त्यस्तै खाले पात्रलाई चुनावी मैदानमा उतारेका छन् । यो सरासर मतदाताको चेतनाको अवमूल्यन हो र राजनीतिक नेतृत्वलाई त्यसको जवाफ दिने अवसर पनि हो ।

यस्ता दल र तिनका नेताका खराब कर्मको हिसाब–किताब निकाल्दै यही चुनावमा ठेगान नलगाउने हो भने मुलुकले दुःख पाइरहने छैन् । लोकतान्त्रिक शासकीय पद्धतिमा खराब दल–पात्रलाई किनारा लगाउने र शुद्धीकरण गर्ने अचूक उपाय चुनावलाई नै लिइन्छ । यस्तो अवसर पाँच वर्षमा एक दिन मात्र आउँछ । मतदाताले आफूलाई प्राप्त ‘सुवर्ण अवसर’ कुनै लोभ–लाभमा परेर दुरुपयोग गरेमा त्यसको मूल्य पाँच वर्षसम्म चुकाउनु पर्नेछ । हामीले नेताहरुलाई सँधैभरि आरोप लगाइरह्यौं, खराब कामको आलोचना गरिरह्यौं । हिजो आफैंले गाली गरेका त्यस्ता पात्रलाई फेरि शासकीय थलोमा पु¥याउने वा किनारा लगाउने भन्ने दायित्व मतदाताकै हो । बितेको संसदीय कालखण्डमा सदन र समिति ‘कोरम’ नपुगेर स्थगित भएका समाचार हामीले बारम्बार पढ्नु परेको थियो । मतदाताले मुलुकको हित सोच्ने हो भने आउँदो चुनावबाटै भ्रष्ट, खराब, राज्यकै ढुकुटी क्याप्चर गर्न उद्यत व्यापारी–व्यवसायी, ढोंगी–पाखन्डी, छेपारा झैं रंग बदलु पात्रहरुका अनुचित आकांक्षामा ‘फुलस्टप’ लगाउन सकिन्छ ।

सँधैभरि राजनीतिमा बुढापाका र बिरामी पुस्ता हाबी भएको विषय उठाइन्छ । अनि चुनावको मुखमा चाहिँ दलीय रंगबाट रंगिँदै तिनैको प्रशस्ती गाउने क्रम रोक्ने कि नरोक्ने ? मतदाताले चुनावमा तिनलाई रोक्न नसकेकै कारण वृद्ध, रोगी, घमन्डी, खराब, भ्रष्टाचारमा लिप्त पात्रको मनोबल बढेको हो । शासकीय संरचनामा सक्रियता खोज्ने हो भने पाका उमेरका पात्रहरुलाई चुनावबाटै किनारा लगाउन सकिन्छ । चुनावी प्रतिस्पर्धामा उत्रिएका पुराना पात्रका अनुहार हेर्ने हो भने तिनीहरुको चरित्र मुलुकले देखिसकेको छ, भोगिसकेको छ । त्यस्ता पात्रहरु पहिला समानुपातिक सूचीमा सीमित रहेका थिए, अब चुनावी मैदानमा उत्रिएका छन् । तिनलाई अब मतदाताले नै किनारा लगाउनुपर्नेछ, नत्र तिनले फेरि राज्यको ढुुकुटीमा वैधानिक तवरमै शोषण गर्ने छन् । अझ तिनले चर्काे स्वरले थर्काउने छन्, ‘हामी जनताको मतमा सांसद भएका हौं, हामीमाथि प्रश्न गर्ने ?’ राज्यलाई सकारात्मक योगदान दिनुभन्दा लुट्न माहिर व्यापारी–व्यवसायी, भ्रष्ट चरित्रका राजनीतिकर्मी, बिचौलिया प्रवृत्ति पात्रहरुलाई चुनावी मैदानबाटै किनारा लगाउनुपर्छ ।

Translate »