सुर्खेतका सरकारी सवारी चालकलाई दुर्घटना न्यूनिकरणका लागि ‘रोल मोडल’ बनाईँदै

स्काई न्यूज /माघ १२, सुर्खेत । सुर्खेत ट्राफिक प्रहरीले सरकारी सवारी चालकहरुलाई दुर्घटना न्यूनिकरणका लागि अनुशिक्षण दिएर नमूना ‘रोल मोडल’ बनाउन लागेको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, बढ्दो सवारी चाप जस्ता कारणले ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरणका लागि सरकारी सवारी चालकलाई नमूना रोल मोडल बनाउन लागिएको हो ।

सरकारी नियम, कानून र मर्यादासँगै नागरिक जवाफदेहिता बढाउन ट्राफिक प्रहरीले सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत सवारी चालकलाई सवारी ऐन, नियमको जानकारी दिन अनुशिक्षण कार्यक्रम अघि बढाएको छ ।

सवारी दुर्घटना न्यूनिकरण तथा सचेतना फैलाउने उद्देश्यले सरकारी कार्यालयमा कार्यरत चालकलाई थप अनुशासित र जिम्मेवार बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वयमा ट्राफिक नियम सम्बन्धि अनुशिक्षण दिने कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख नेत्रबहादुर कँवरले जानकारी दिए ।

उनले हालसम्म संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा कार्यरत ३७ जना सवारी चालकलाई ट्राफिक नियम सम्बन्धि अनुशिक्षण दिई सकिएको बताए । ट्राफिक ऐन नियम, सवारी दुर्घटनामा मानवीय कारण, कमजोर सडक तथा सडक सुरक्षा, सवारी साधनको भौतिक तथा यान्त्रिक अवस्थालगायत विषय वस्तु अनुशिक्षण दिईएको उनको भनाइ छ ।

अहिले सुर्खेतलगायत कर्णालीका अधिकांस सवारी साधनले सीट क्षमता भन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामानको ढुवानी गर्ने, ट्राफिक संकेत तथा ट्राफिक इसाराको पालना नगर्ने, सवारी चालकलाई सवारी प्राथमिकताका सम्बन्धमा अनभिज्ञता र जथाभावी ओभरटेक, चालकको दक्षतामा कमी, नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग, ब्लुबुक, लाईसेन्स तथा रोडपरमिट जस्ता आवश्यक कागजात विना नै सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी पार्किङ्ग गर्ने र सवारी ऐन नियमको ख्याल नगर्ने जस्ता मुख्य समस्याहर रहेका छन् ।

सवारी दुर्घटना न्यूनिकरणका लागि अब नियमित अनुगमनसँगै प्राविधिक तथा भौतिक चेकजाँचलाई प्रदेशभरी निरन्तरता दिएर सवारी चालक एवं धनीलाई जिम्मेवार बनाउन अनुशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख (प्रहरी उपरीक्षक) प्रज्वल मर्हजनले बताए ।

उनले सवारी दुर्घटनाबाट वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्थालाई जानकारी दिएर चुनौतीपूर्ण रहेको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण अभियानले थप जनचेतना फलाउन अन्य निकायसँग समन्वय गरेर अघि बढ्ने जनाए ।

कर्णालीमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमि, स्रोत साधनको कम उपलब्धता, सडकको दुरावस्था, सवारी चालकको लापरबाही, प्रविधि प्रयोगको अभाव लगायतका कारणले दुर्घटना न्यूनिकरण चुनौति देखिएपनि सामूहिक प्रयासबाट समाधान गर्न सकिने उनको भनाइ छ । कर्णालीमा पछिल्लो तीन वर्षको अवधिमा ९९२ वटा सडक दुर्घटनामा परेर ३९२ जनाले ज्यान गुमाईसकेका छन् ।

Translate »