नेपालमा छायांकन भएका विदेशी चलचित्र : पर्यटक आगमनमा सकारात्मक योगदान

काठमाडौं । नेपालमा छायांकन भएको भारतीय चलचित्र ‘उचाइ’ भारत, अमेरिका, मलेशिया, अस्ट्रेलियालगायत मुलुकमा प्रदर्शन हुँदा अहिले विश्वभर नेपालको चर्चा भइरहेको छ ।

त्यसको कारण हो, ‘उचाइ’को छायांकन विश्वकै अग्लो स्थानमा हुनु । सगरमाथा आधार शिविर (बेस क्याम्प)मा छायांकन भएको ‘उचाइ’ले नेपालकै उचाइ बढाइदिएको छ । उक्त फिल्ममा विश्वको अग्लो शिखर सगरमाथाका साथै नेपालको पर्यटकीय क्षेत्र मनाङ, लुक्ला र काठमाडौंको दृश्य छ ।

बलिउडका चर्चित सिने कलाकारहरू अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरको मुख्य अभिनय रहेको ‘उचाइ’ गत कात्तिकमा रिलिज भएको थियो । ४५ करोड भारूमा बनेको फिल्मले ५० करोड कमाएको छ । कमाइका हिसाबले औसत फिल्म भए पनि यसको कथाले दर्शकको मन छोएको छ । त्यो भन्दा बढी फिल्मको छायांकन भएको ठाउँले धेरैको मन छोएको छ ।

लामो समयपछि बलिउडको चर्चित अनुहारसहितको फिल्म नेपालमा छायांकन भएसँगै सुस्ताएको नेपालको पर्यटन व्यवसायमा आशा जागेको छ । विगतमा पनि नेपालमा छायांकन भएका भारतीय चलचित्र प्रदर्शन हुँदा नेपाल घुम्न आउने भारतीयको संख्या बढेको तथ्यांक छ ।

नेपालमा काठमाडौं, पोखरा, मुस्ताङलगायत पर्यटकीय गन्तव्यमा बलिउडका साथै हलिउडका दर्जनौं चलचित्र छायांकन भएका छन् । नेपालमा छायांकन भएका चलचित्र अन्य मुलुकमा प्रदर्शन हुँदा नेपाल घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय बढेको पाइन्छ ।

नेपालमा आउने पर्यटकमा सबैभन्दा बढी भारतीय हुन्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१० देखि सन् २०१९ सम्म ८३ लाख ३२ हजार पर्यटक नेपाल आएका थिए । तीमध्ये १८ दशमलव ६७ प्रतिशत (१५ लाख ५४ हजार) भारतीय थिए । नेपालको हिमाली क्षेत्रको पृष्ठभूमिमा छायांकन भएको ‘उचाइ’ले नेपालको पर्यटनमा सुधार ल्याउन योगदान गर्ने प्रबल सम्भावना रहेको सम्बद्ध व्यवसायी बताउँछन् ।

फिल्म छायांकन र पर्यटनको सम्बन्ध
नेपालमा भारत, चीन, हङकङ, स्पेन, फ्रान्स, अमेरिकालगायत मुलुकका ७० भन्दा बढी फिल्म छायांकन भएका छन् । नेपालमा छायांकन भएका फिल्म विभिन्न मुलुकमा प्रदर्शन हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली पर्यटनमा पर्ने गरेको छ ।

सन् १९६५ मा प्रदर्शन भएको ‘अप टू हिज इयर्स’ नेपालमा छायांकन भएको पहिलो चलचित्र थियो ।

उक्त फिल्म प्रसारण भएको वर्ष नेपालमा ९ हजार ३८८ पर्यटक आएका थिए । त्यसपछिको वर्ष १२ हजार ५३७ पर्यटक आए । चलचित्र प्रदर्शन भएको अर्को वर्ष साढे ३३ प्रतिशतभन्दा बढीले पर्यटक आगमन वृद्धि हुनुलाई चलचित्रकै सकारात्मक प्रभाव मानिएको छ ।

फिल्म रिलिज भएको अर्को वर्ष फ्रान्स र इटालीबाट ठ्याक्कै कति पर्यटक आएका थिए भन्ने तथ्यांक नेपालसँग छैन । तर, जानकारहरू त्यतिबेला ती देशबाट अन्य समयको भन्दा बढी पर्यटक आएको विश्वास गर्छन् ।

त्यस्तै सन् २००२ मा ‘द टच’ प्रदर्शन भएपछि पर्यटक आगमन २२ दशमलव ७४ प्रतिशतले बढेको थियो । सन् २००२ मा २ लाख ७५ हजार ४६८ रहेको पर्यटक आगमन सन् २००३ मा ३ लाख ३८ हजार १३२ पुगेको थियो ।

नेपालमा छायांकन भएका विदेशी फिल्म प्रदर्शन हुँदा हरेक समय पर्यटक आगमन निकै बढेको तथ्यांकले देखाउँछ ।

सन् २००६ मा ‘द फल’ प्रदर्शन भएपछि २००७ मा ३७ प्रतिशत, सन् २०१० मा ‘द वाइल्डेस्ट ड्रिम्स’ प्रदर्शन भएको दोस्रो वर्षमा २२ प्रतिशत, सन् २०१५ मा ‘एभरेस्ट’ प्रदर्शन भएको दोस्रो वर्षमा ४० प्रतिशत, सन् २०१६ मा एभेन्जरको ‘डाक्टर स्ट्रेन्ज’ प्रदर्शन भएको दोस्रो वर्षमा २५ प्रतिशत र सन् २०१७ मा ‘द क्लाइम्ब’ प्रसारण भएको दोस्रो वर्षमा २५ प्रतिशतले नेपाल आउने पर्यटक संख्या बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक छ ।

अन्य समयमा ३२ प्रतिशतसम्म घटे पर्यटक
नेपालमा छायांकन नभएका अथवा नेपालसँग कुनै सम्बन्ध नभएका फिल्म प्रदर्शन हुँदाका अन्य वर्षमा भने नेपाल आउने पर्यटकको संख्या थोरै प्रतिशतले मात्र बढेको र कुनैकुनै वर्षमा घटेको पाइएको छ । जस्तो नेपालमा छायांकन भएका फिल्म प्रसारण नभएका वर्षमा पर्यटक आगमन थोरैले बढेको देखिन्छ । मन्त्रालयका अनुसार सन् २००४ मा थप १३ प्रतिशतले, २००९ मा २ प्रतिशतले, २०१२ मा ९ प्रतिशतले, २०१३ मा ० दशमलव ७ प्रतिशतले र २०१४ मा १ प्रतिशतले पर्यटक आगमन बढेको थियो ।

मन्त्रालयका अनुसार सन् २००५ मा २ प्रतिशतले २००८ मा ५ प्रतिशतले र २०१५ मा ३२ प्रतिशतले पर्यटक आगमन घटेको थियो । सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएकाले पनि पर्यटक आगमन घटेको हो ।

बलिउड फिल्म प्रदर्शन हुँदा भारतीयको ओइरो
नेपालमा दर्जनभन्दा बढी भारतीय चलचित्र छायांकन भएका छन् । बलिउड चलचित्र निर्माता देव आनन्दले सन् १९७० मा पहिलोपटक भारतीय चलचित्र ‘जोनी मेरा नाम’ नेपालमा छायांकन गरेका थिए । त्यसपछि नेपालमा दर्जनौं भारतीय चलचित्र छायांकन भइसकेका छन् ।

सन् २०१५ मा भारतीय चलचित्र ‘बेबी’का साथै तेलगु चलचित्र ‘येभडे सुब्रमण्यम्’ छायांकन भएको थियो । ‘बेबी’मा नेपाली पृष्ठभूमिलाई आतंकवादीको गढ भनेर देखाए तापनि चलचित्र प्रदर्शन भएको दोस्रो वर्ष नेपाल आउने भारतीय पर्यटकको संख्या ५८ प्रतिशतले बढेको थियो । सन् २०१५ मा ७४ हजार ८१४ भारतीय पर्यटक नेपाल आएकोमा सन् २०१६ मा १ लाख १८ हजार २४९ आएका थिए ।

यस्तै सन् २०१८ मा तमिल चलचित्र ‘स्यामी स्क्वायर’ प्रसारण भएको दोस्रो वर्ष नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या ३१ प्रतिशतले बढेको थियो । सन् २०१८ मा १ लाख ९४ हजार ३२३ भारतीय पर्यटक नेपाल आएकोमा सन् २०१९ मा २ लाख ५४ हजार १५० आएका थिए ।

घट्दै भारतीय फिल्मको छायांकन
पछिल्लो समय नेपालमा छायांकन हुने भारतीय चलचित्रको संख्या भने घटिरहेको छ । सन् १९८० देखि २००० सम्म १० ओटा भारतीय फिल्म नेपालमा छायांकन भएका थिए । सन् २००१ देखि २०१० सम्म आउँदा एउटा, २०११ देखि २०२० सम्म ६ ओटा र २०२१ देखि हालसम्म १ मात्र भारतीय फिल्मको नेपालमा छायांकन भएको फिल्मसम्बन्धी अध्ययन गर्ने अन्तरराष्ट्रिय संस्था आईएमडीबीको तथ्यांक छ ।

यो तथ्यांकले सन् २००० अघिको तुलनामा अहिले भारतीय फिल्मको छायांकन हुने क्रम घटेको देखिन्छ । नेपाल सरकारले भारतीयलगायत विदेशी चलचित्र छायांकनमा सहजीकरण नगर्ने हो भने भोलिका दिनमा नेपालले पर्यटनबाट पाउनुपर्ने जति लाभ नपाउने यस क्षेत्रका जानकार बताउँछन् ।

सरकारले अन्य मुलुकका चलचित्र निर्मातालाई नेपालमा छायांकन गर्न प्रोत्साहन गरे कोभिडका कारण सुस्ताएको पर्यटन व्यवसायलाई टेवा पुग्ने पनि व्यवसायीको भनाइ छ ।
सरकारले भारतीयका साथै विदेशी चलचित्र निर्मातालाई नेपालमा छायांकन गर्न प्रोत्साहन गरे एउटै चलचित्रले ठूलो परिमाणमा पर्यटन प्रवर्द्धन गर्ने व्यवसायी बताउँछन् ।

सिने टुरिजम अत्यन्तै महत्त्वपूर्ण
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी भवानी राणा सिने टुरिजम पर्यटन विकास र प्रवर्द्धनका लागि अत्यन्तै आवश्यक भएको बताउँछिन् । माथिल्लो डोल्पामा ‘क्याराभान’ छायांकन हुँदा अपर डोल्पामा घुम्न आउने पर्यटकको संख्या बढेको थियो । त्यस्तै मुस्ताङमा भारतीय चलचित्र ‘खुदा गवाह’ छायांकन हुँदा मुस्ताङ पुग्ने भारतीयको संख्या ह्वात्तै बढेको थियो । त्यसको प्रत्यक्षदर्शी आफू रहेको राणाको भनाइ छ । यो वर्ष पनि नेपालमा छायांकन भएर प्रदर्शनमा आएको ‘उचाइ’का कारण आउने वर्ष नेपाल आउने भारतीयको संख्या बढ्ने आकलन रहेको राणाले आर्थिक अभियानलाई बताइन् ।

सरकारले उच्च प्राथमिकता राखेर विदेशी फिल्म निर्मातालाई अन्य मुलुकको तुलनामा नेपालमा फिल्म छायांकन गर्न छूट दिनुपर्ने व्यवसायी बताउँछन् । त्यसका लागि सरकारले उपकरण ल्याउन सहजीकरण, भन्सार छूट, छायांकन अनुमति प्रक्रियामा सहजीकरणलगायत नीतिगत सुधारका साथै छायांकन स्थलमा सडक, पानी, बत्तीजस्ता पूर्वाधार विकास गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

फिल्म टुरिजमबारे के छ सरकारी योजना ?
न्यूजील्यान्डले विदेशी निर्मातालाई फिल्म छायांकनका धेरै कुरामा सहुलियत दिएको छ । त्यहाँ फिल्म छायांकन गर्ने इच्छा देखाउने विदेशीलाई सरकारले आवश्यक उपकरण उपलब्ध गराउँछ । फिल्म निर्माताले कलाकार मात्रै लगेर छायांकन गरेर फर्किन सक्छन् ।

त्यसैले न्यूजील्यान्डमा ब्लकबस्टर हलिउडका ‘अवतार’, ‘द क्रोनिकल्स अफ नारनिया’, ‘एक्स मेन’, ‘द पावर अफ द डग’देखि बलिउडको ‘रेहना हे तेरे दिल मे’, ‘कहो ना प्यार हे’, ‘प्लयेर्स’लगायत दर्जनौं चलचित्र छायांकन भएका छन् ।

नेपालमा अवस्था त्यस्तो छैन । यहाँ अनुमति लिने प्रक्रियादेखि नै विदेशी फिल्म निर्माताले हैरानी खेप्नुपर्छ । फिल्म उद्योगको एउटै विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि, गृह र उद्योग मन्त्रालयसम्म ठोकिनु पर्दा नेपालमा विदेशी फिल्म छायांकनका लागि सहज अवस्था छैन भन्ने सन्देश प्रवाह भइरहेको छ ।

नेपालमा विदेशी फिल्म छायांकन गर्न मन्त्रालयले सहजीकरण गरिरहेको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका प्रवक्ता सेवन्तक पोख्रेल बताउँछन् । ‘विदेशी फिल्म छायांकन गर्न विभिन्न ठाउँबाट अनुमति लिनुपर्छ । जस्तै फिल्म छायांकनका लागि ड्रोन उडाउनु परे गृह मन्त्रालय र उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ । तर, हामीले शुरूमा नै एकीकृत सहमति गर्न मिल्ने बनाएर सहजीकरण गरेका छौं,’ उनले भने । त्यसका साथै आर्थिक ऐनमार्फत फिल्म छायांकनका लागि आवश्यक उपकरण ल्याउन

सहजीकरण गरिएको पोख्रेलले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेल पर्यटन विकासका लागि सिने टुरिजमको पनि मुख्य भूमिका रहेको बताउँछन् । नेपालमा छायांकन भएका स्वेदशी वा विदेशी फिल्म विदेशमा प्रदर्शन हुँदा दुवैले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनको भनाइ छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको पृष्ठभूमिमा फिल्म छायांकन गर्दा विदेशी दर्शकले पनि नयाँ अनुभव पाउँछन् । नेपालमा रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलमा विदेशी फिल्म छायांकनका लागि सहजीकरण गरिदिने हो भने नेपालमा घुम्न आउ भनेर निम्ता दिँदै विदेश चहार्नुपर्ने अवस्थाको अन्त्य हुन सक्ने जानकारक बताउँछन् । (आर्थिक अभियान)

Translate »