२०८३ साउन २१ , बिहीबार
Sky News Nepal
August 6, 2026

हुकुमबासीलाई बञ्चित गरौं



पछिल्लो २८ वर्षमा देशभर ४६ हजार बिघा जमीन बाँडिंदा भूमिहीन घट्नुको साटो चार गुणाले बढेको देखिनुले सुकुम्बासीका नाममा भएको राजनीतिक दलको मनपरीलाई उदांगो पारेको छ । हरेक पटक नयाँ आयोग गठन भएपछि समस्या समाधानको काम पुनः शून्यबाटै सुरु गर्ने प्रवृत्ति अझै हटेको छैन् । हालको आयोग गठन भएको दुई वर्ष पूरा हुँदासमेत सुर्खेतमा लगत संकलनको काम सकिएको बताएपनि अझै छुटेको गुनासो आउने क्रम जारी छ । २०४६ सालको जनआन्दोलनपछि बनेको सरकारले ९ मंसीर २०४७ मा बलबहादुर राईको संयोजकत्वमा सुकुम्बासी समस्या समाधान आयोग बनायो । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि बनेको पहिलो आयोगले समस्या समाधानका लागि योजना बनाउने काम मात्रै गर्न भ्याएको थियो । यो समस्या समाधान गर्न त्यसपछि बनेका आयोगहरुका काम अहिले पनि अधुरा बनेका छन् । सुकुम्बासी समस्या समाधानको नाममा अहिलेसम्म गठन भएका आयोगहरुले यति धेरै जग्गा वितरण गरिसक्दा पनि सुकुम्बासी समस्या किन झन् बढ्दो छ ? यसतर्फ कसैले गम्भिरताले सोच्न सकेको छैन् ।

आयोगहरुले दलीय झुकाव र नजिकका आफन्त हेर्ने क्रममा धेरै ठाउँमा गैरसुकुम्बासीलाई जग्गा दिएका घटना लुकाएर पनि लुकेका छैनन् । भूमिहीनको समस्या अहिले पनि धेरै ठाउँमा ज्यूँका त्यूँ छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले भूमिहीन, दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधानका लागि अग्रसरता देखाएको छ । त्यसका लागि सुरुवाती चरणमा जग्गाको नापजाँचको काम सुरु गरेर समस्या समाधानका लागि पहल गरेको आभास हुन्छ । नगरपालिकाले सबै वडामा नापजाँच कार्य गर्ने र त्यसपछि वास्तविकताका आधारमा समस्या समाधान गरि व्यवस्थित सहरको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । तर सवाल के हो भने ? वीनपा भित्र १४ हजार जनाको फारम संकलन गरिएका मध्ये के ती सबै सुकुम्बासी हुन त ! यसतर्फ चुनावी प्रतिवद्धता मात्र होइन, सत्य तथ्य तीने पुस्तेले नपुगे सात पुस्ते खोजौं न । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या यकिन गरि त्यसको व्यवस्थापन गर्न जग्गा नापजाँचको थालनी गरेर मात्र पुग्दैन्, सत्यतथ्य खोजौं । यो शिक्षा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने हुकुम्बासीलाई कानूनी कठघरामा उभ्याएर देशभर नयाँ संदेश दिऔं ।

अन्यत्रको जग्गा बेचेर सुविधाको खोजीमा शहर छिरेकाको कथा मात्र होइन, तीनका नाममा राजनीति गर्नेहरुको पनि खोजी गरौं । सरकारले थालनी गरेको भूभि प्राप्तिको राष्ट्रिय अभियान अनुसार लालपूर्जा विहिनहरुलाई पूर्जा वितरण र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने नाममा गलत मान्छेले पुर्जा नपाउन भन्ने तर्फ सचेत हुनु पर्छ । अब कम्तिमा ढिलै भएपनि जग्गाको नापजाँच गरेर लालपूर्जा दिँदा वास्तविक सुकुम्बासीले न्याय पाउँछन भने जग्गाका दलालदेखि हुकुमबासीलाई त्यो जग्गा पुग्यो भने दुरुपयोग पक्कै हुनेछ । वर्षौंदेखि जग्गाको उपयोग गरेका तर आफ्नो स्वामित्वसहितको पूर्जा पाउन नसकेका नागरिकहरुलाई भने जमिनको अधिकारबाट बञ्चित गर्नु हुँदैन् । शुरुवातमा वीरेन्द्रनगरको १६ नम्वर वडाबाट जग्गाको नापजाँच गर्ने कार्यको थालनी राम्रो भएपनि विवेकतापूर्ण, न्यायोचित गरिनु पर्छ । विगतमा जग्गा नापजाँच गर्ने र पूर्जा वितरण गर्ने कार्यमा हुने गरेका दलाली, नातावाद, कृपावाद, पार्टीवाद र अवसरबाट जोगिनु पर्छ । छुटेकाहरुको पहिचान गरेर व्यवस्थित रुपमा कोही नछुटुन, कोही नदोहोरिउन भन्ने तर्फ नगरपालिका गम्भीरतापूर्वक लाग्नु पर्छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितलाई व्यवस्थिगत गर्ने योजनाप्रति खेलवाड नगरि वास्तविक लक्षित वर्गलाई सहज र सुलभ तरिकाले अधिकार सम्पन्न बनाउऔं ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार
Translate »