उकालो चढ्यो लामखुट्टे

जलवायु परिवर्तनको असर अहिले जहाँ त्यहाँ देखिन थालेको छ । भित्री मधेश तथा तराई मात्र पाईने लामखुट्टे पहाडतीर उकालो चढ्न थालिसक्यो । त्यति मात्र होइन, पछिल्लो समय लामखुट्टेको टोकाईबाट सर्ने यो रोग कर्णालीका हिमाली जिल्लामा समेत पुगेको छ । स्वाथ्य अधिकारीहरुका अनुसार हुम्लाको ताजाकोट गाउँपालिकाका केही वडा र कालिकोटको खाँडाचक्र गाउँपालिकाका गरी ४ वटा वडा मलेरियाको उच्च जोखिममा रहेका वडा हुन् । यसको आश्रय के हो भने अब विस्तारै तराईमा पाईने समस्याहरु पहाडतीर र पहाडमा पाईने तराईतीर झर्न थालेको प्रमाण हुन् । त्यसकारण समयमै रोकथाम, नियन्त्रण गर्न नसकिए जलवायु परिवर्तनको असरबाट अब कोही अछुतो रहन नसक्ने निश्चित प्रायः हो । कर्णालीका ९ वटा वडा मध्यम र ४१२ वटा वडाहरु मलेरियाको ‘लो रिक्स’ मा पर्छन् । कुनै समय अहिलेको कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यका मलेरियाको उच्च जोखिममा थियो । २०२० सालपछि मात्र विस्तारै बस्तीहरु उपत्यकामा सर्न थालेको इतिहास छ । औलो उन्मुलन भएपछि मात्रै वीरेन्द्रनगरमा बस्तीको बसोबास तीब्र रुपमा भएको हो । तर, पछिल्लो समय मलेरिया पहाड हुँदै हिमाली जिल्लामा पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

त्यसो हुनुको पछाडी सहरतिरको मालसामान गाडीको माध्यमबाट गाउँ–गाउँमा पुग्नु र सामानको बोरासँगै लामखुट्टेसमेत गाउँमा पुग्नु एउटा कारण हुन सक्छ । सरकारले ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने उद्देश्यसहित सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । अन्य प्रदेशको तुलनमा कर्णाली न्यून जोखिममा रहेपनि भारतकेन्द्रीत रोजगारीका कारण कर्णालीमा मलेरियाको समस्या रहेको स्वास्थ्य अधिकारीहरुको निष्कर्ष छ । चालु आर्थिक वर्ष ०७९/०८० को हालसम्म कर्णालीमा २३ जना मलेरियाका बिरामी देखिएका मध्ये ९ जना मात्र स्थानीय रहेका छन् भने बाँकी १४ जना भारतबाट फर्किएका वाला हुन् । यो वर्ष हुम्लामा ७, कालिकोटमा २, दैलेखमा २ र सुर्खेतमा १३ जनामा मलेरिया देखा परेको छ । जबकि गत आर्थिक वर्षमा कर्णालीमा ४८ जनामा मलेरिया देखा परेको थियो । जसमध्ये ३० जना भारतबाट फर्किएका र १८ जना स्थानीय थिए । यो अन्य प्रदेशको तुलनामा भने निकै कम हो । गत वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १८१, लुम्बिनी प्रदेशमा १५८, मधेसमा ४४, बाग्मतीमा ४३, गण्डकीमा १२ र कोशी प्रदेशमा ५ जना मलेरियाका बिरामी देखिएको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा विषेश गरी प्लाज्मोडियम भाइभेक्स (पिभी) का बिरामी बढी देखिन्छन् ।

यद्यपि ! ७० को दशकभित्र मलेरियाका कारण कर्णालीमा मान्छेको मृत्यु भने भएको देखिदैन । खुल्ला सीमा नाकाहुँदै भारतबाट आएका मान्छेहरु सिधै गाउँमा जाने र ती व्यक्तिमा मलेरिया देखिने गरेको छ । यो दरलाई घटाउन सिमा नाकामै चेकजाँचको व्यवस्थापन हुनुपर्छ । तर, राज्यले प्राथमिकतामा राख्न सकेको छैन् ।यो सँगै राज्यले जलवायु परिवर्तनका असरहरु कम गर्न तर्फ समेत विशेष योजना बनाउन आवश्यक भईसक्यो । किनभने जलवायु परिवर्तनको असर विश्वव्यापी समस्या भएपनि यसको प्रारम्भिक चरणबाटै रोकथाम गर्न सकिए नियन्त्रण गर्न सकिन्छ । कर्णाली देशका अन्य प्रदेशको तुलनामा विशिष्ट जलवायुसँगै पूर्वाधार विकासका लागि धेरै छेडछाड नभएको प्रदेश भएकाले नियन्त्रण सम्भव छ । यसको मतलव कर्णालीमा पूर्वाधार विकास गर्न हुँदैन भनेको पक्कै होइन, न्यून क्षतिबाट अधिकतम् लाभ लिन सकिने विकास आवश्यक छ । नयाँ आधुनिक प्रविधिको प्रयोग गरि कर्णालीमा छिटो पूर्वाधार विकास अपरिहार्य भईसकेको छ । त्यसैले स्वास्थ्य, शिक्षासँगै पूर्वाधार विकास कर्णालीको पहिलो आवश्यकता हो । मानव संसाधनको विकाससँगै भौतिक संसाधनको विकास गरिनु पर्छ । यसतर्फ राज्यका सबै सयन्त्रहरु परिचालन गरि कर्णालीका नागरिकको स्वास्थ्यसँगै दिगो विकास गर्न अब ढिलाई गरिनु हुँदैन् । सबै तह र तप्का कर्णालीको समृद्धि भन्दा अरु बढी अहिले सोच्न तर्फ नलाग्दा नै उपयुक्त हुन्छ ।

Translate »