जेठसम्म पातारासी गाउँपालिका भौतिक प्रगति ८० प्रतिशत

जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा भुक्तानी लिने उपभोक्ताको बाक्लो भिड छैन । जेठ अन्तिम सम्म अधिकांश भुक्तानी भइसकेकोले भिडभाड नभएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तमै पातारासीको भौतिकप्रगती ८० प्रतिशतबढी भएको छ ।

कार्यसम्पादनमा जिल्लामै अब्बल सावित भएको तातोपानी गाउँपालिकालाई पछयाउदैँ पातारासीले भौतिक विकासमा फड्को मारेको हो । ढिलोमा असार १० गते सम्म सबै योजना निर्माण सम्पन्न तथा अन्तिम भुक्तानी सक्ने लक्ष्य लिएको पातारासीले द्रुत गतिमा विकास निर्माण भइरहेका छन् ।

पातारासीका कुल योजना मध्य जेठ मसान्तसम्म १ सय ४० वटा योजना निर्माण सम्पन्न भएको इन्जिनियर नवीन शाहीले बताए। उनले भने, ‘पालिकाका कुल योजना सङ्ख्या १ सय ८० वटा रहेकामा हालसम्म १ सय ४० वटा सम्पन्न भइसकेका छन् । जसमध्य १ सय ३० वटा योजनाको अन्तिम भुक्तानी भइसकेको छ । भने १० वटा योजनाको कार्य सम्पन्न भइसकेको र भुक्तानी लिन बाँकी रहेको छ ।’

त्यस्तै ३६ वटा योजना निर्माणाधीन अवस्थामा रहेका छन् । भने,सरकारले चालु आवको अन्तिम किस्तामा समानीकरण अनुदानको ५० प्रतिशत बजेट कटौती गरेपछि करिब ३० देखि ४० वटा योजनाको सम्झौता रोकिएको इन्जिनियर शाहीले उल्लेख गरे।

ठुला ठेक्कापट्टाका क्रमागत योजनाहरू अन्तिम भुक्तानी बाँकी रहेकोले योजना सम्पन्न भएको तुलनामा वित्तीय प्रगति भने न्युन देखिएको प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलले बताए । उनले भने, ‘बजेट कटौतीले सम्झौता हुन रोकिएका योजनाहरूलाई आगामी बजेटमा प्राथमिकता दिइने छ ।

काममा ढिलासुस्ती नहुँदा,जनप्रतिनिधिबाट योजना छनोट समयमै हुनु,उपभोक्ता समितिको सक्रियता,प्राविधिक जनशक्तिको निरन्तरता जनप्रतिनिधि कर्मचारीको समन्वयले विगतको तुलनामा भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक देखिन्छ ।’

विगतको जस्तो भिड छैन । फाटफुट भुक्तानी भइरहेको छ । कर्मचारी जनप्रतिनिधि आगामी आवको नीति तथा कार्यक्रम बनाउन केन्द्रित भएको प्रमुख प्रशासकीय अधिकृत रावलले जानकारी दिए ।

भौतिक प्रगति ८० प्रतिशत भएपनि वित्तीय प्रगति भने ३५ प्रतिशत मात्रै भएको छ । ठुला ठेक्काका योजना सञ्चालित रहेको र अन्तिम भुक्तानी दिन बाँकी रहेकोले वित्तीय प्रगति न्युन देखिएको हो । यद्यपि,८० प्रतिशत योजना सम्पन्न भएअनुसार सोही बमोजिम ८० प्रतिशत योजनाकै अन्तिम भुक्तानी भइसकेको छ ।

कुल पुँजीगत बजेट २८ करोड ६८ हजार ३३५ रुपैयाँ रहेकोमा जेठसम्मको खर्च १६ करोड ९९ लाख ८ हजार ७३७ रुपैयाँ खर्च भएको छ । चालु आव सकिन एक महिना मात्रै बाँकी रहँदा अझै ११ करोडबढी बजेट खर्च बाँकी रहेको लेखा शाखाले जानकारी दिएको छ ।

पातारासी गाउँपालिका उपाध्यक्ष तथा अनुगमन संयोजक जनमाया रोकायाले पालिकाको पुँजीगत खर्च बढाउन,गुणस्तर विकास गर्नका लागि समयमै योजना सम्झौता, अनुगमन निरीक्षण तथा भुक्तानी दिइएको बताए । असारे विकासलाई अन्त्य नगरी स्थानीयतहको विकास दिगो र गुणस्तर नहुने भएकोले सबै संयन्त्र मिलेर समृद्ध पातारासी बनाउन आगामी आवमा पालिकाले ठोस नीति लिने उल्लेख गरे । रेडियो नेपाल

Translate »