कोदोको परनिर्भरता हटाऊँ !
हिमामी तथा उच्च मध्य पहाडी भेगमा उत्पादन हुँदै आएको खाद्यान्न बाली कोदोको उत्पादन वर्षेनी उत्पादन घट्नु चिन्ताको विषय बनेको छ । पुरानो खाद्यान्न बाली कोदो खेती झन्झटिलो र खाद्यान्नमा कम उपयोग हुने हुदाँ कृषकले उत्पादनमा महत्व नदिँदा यस्तो उत्पादन घट्दो क्रममा रहेको पाईएको हो । मुलुकका पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको समाचार पक्कैपनि तपाई हाम्रा लागि अशुभ संकेत हो । त्यहीं माथि युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन् । यस्तोमा कोदोमा पनि हामी भारतमाथी नै निर्भर हुनुपर्ने अवस्था आएको छ । आर्थिक वर्ष २०७९–८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात भएको तथ्याङ्क छ । सरकारी तथ्यांक अनुसार उक्त अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ । कृषकले कोदो उत्पादन गर्न छोडेपछि क्षेत्रफलसँगै उत्पादनमा समेत कमी आएको छ । सुर्खेतमा अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा २ हजार ८ सय ३२ मेट्रिक टन उत्पादन भएकोमा गएको आवमा घटेर २ हजार ४ सय ४० मैट्रिक टन मात्र उत्पादन भएको छ । यो त्यस अघिल्लो आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले कोदो उत्पादनमा कमी हो । त्यस्तै जिल्लाको कोदो उत्पादन क्षेत्रफल समेत घट्दै गईरहेको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी २ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएकोमा कोदो यस वर्ष घटेर २ हजार ७२ हेक्टर क्षेत्रफलमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले क्षेत्रफल घटेको हो ।
जिल्लाका पाँच पालिकामा कृषकले कोदो खेती गर्दै आएता पनि दुई वर्ष यता निरन्तर उत्पादनमा ह्रास आएको छ । अधिकांस कृषक अन्य खेती तर्फ आकर्षक बढ्न थालेपछि कोदो उत्पादनमा कमी आएको हो । विगतदेखि ह्रास आउँदै गरेको कोदोको उत्पादनमा सरकारसँग प्रभावकारी योजना नहुँदा उत्पादनमा कमी हुँदै आएको छ । रैखाने बालीको रुपमा रहेको कोदो उत्पादन बृद्धि गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन सरकारले नसक्दा कृषकको मनोबल घट्दो छ । कर्णाली प्रदेश सरकारले कोदो उत्पादन बृद्धिका लागि नयाँ उपाय शुरु गर्न अब बहुत जरुरी भईसकेको छ । सुर्खेतमा मात्र नभई देशैभरी कोदो उत्पादन घट्ने क्रम जारी नै रहेका बेला कृषकलाई प्रोत्साहन गर्ने कृषि मन्त्रालयले विशेष रणनीति नै बनाउनु जरुरी देखिन्छ । धेरै जसो बजेट सिधै स्थानीय तहमा जाने हुँदा पालिकाहरुले समेत नीतिगत रुपमै कोदो उत्पादन बृद्धि तर्फ सोच्न जुट्नु पर्छ । यदी स्थानीय तहले कृषिक्षेत्रलाई सोचे जस्तो प्राथमिता नदिँदा कोदो उत्पादन थप घटने सम्भावना छ । कोदो सुर्खेतका पूर्वी, उत्तर र पश्चिम पहाडी भेगका क्षेत्रमा उत्पादन हुँदै आएको छ । सुर्खेतमा हाल स्थानीय जातसँगै रसुवा जिल्लाका ओखले, काभ्रे–१ र डल्ले जातका कोदोको विउ पाइन्छ । कृषकलाई कोदो उत्पादनप्रति आकर्षक गर्नलाई सरकारीस्तरबाटै विशेष अभियान नै शुरु गर्न आवश्यक रहेको देखिन्छ ।
भात खाने बानीको चलन बढ्नु र पुरानो चलनमा कोदोको ढिढो (कोदोको परिकार) खाने प्रचलन हट्दै गएको छ । कोदोबाट विशेषगरि विस्कुट, केक र विभिन्न परिकार उत्पादन हुन्छ, यसतर्फ पनि स्थानीय तहसँगै प्रदेश सरकारले उद्योगका लागि विशेष पहल थाल्न आवश्यक देखिन्छ । विस्तारै कोदोको उत्पादनमा ह्रास आईरहेको भएपनि समयमै सबै पक्षबाट उत्पादन बृद्धिका लागि पहल शुरु गर्नु पर्छ । रोटी खाने वानी छुट्नु र भात खाने बानीतर्फ सबैको आकर्षक बढेकाले कोदो उत्पादन बचाउन जरुरी छ । अब हामी सबैले खानपानीको आनीबानिमा समेत ध्यान पु¥याउन जरुरी भईसक्यो । गत आवमा ४४ लाख ८० हजारको एक सय १२ मेट्रिक टन फापर समेत भारतबाट आयात भएको छ । भारतबाट रैथाने खाद्यान्न मात्र होइन, तरकारी समेत समेत दिनहुँ आयात भईरहँदा कर्णाली प्रदेश सरकारले कृषितर्फ ठोस नीति अंगिकार गर्न सकेको छैन् । कृषकका नाममा विचौलियालाई अनुदान एवं छुट दिएर कृषि बजेट दुरुपयोग गरिरहेको छ । त्यहीं माथि अर्गानिक प्रदेश बनाउने भन्दै कार्यकर्ता पोस्ने काम बाहेक वास्तविक किसानसम्म प्रदेश सरकार कुनैपनि कार्यक्रम तथा नीतिको पहुँच पुग्न सकेको छैन् । प्रदेश सरकारले अब पहुँच विहिन कृषकको पहुँचमा पुग्ने गरी नीति तथा कार्यक्रम बनाएर विचौलियालाई पाखा निस्तेज गर्नु पर्छ । कृषि उत्पादकत्वमा बृद्धि हुने गरी कृषकको हित सुनिश्चित गर्ने तर्फ प्रदेश सरकार मात्र होइन, स्थानीय सरकार समेत थप जिम्मेवार बन्नु नै पर्छ । अनि मात्र, कृषि र कृषकबाट समृद्धिको आश गर्न सकिन्छ ।