गत वर्ष १० प्रतिशत मात्र रोपाइँ भएको नरैनापुरमा यो वर्ष ८० प्रतिशत रोपाइँ

धान उत्पादनको पकेट क्षेत्रमै ...बाँके ।  गत बर्ष मौसमले साथ नदिँदा रोपाइँ गर्न नपाएका नरैनापुर गाउँपालिकालाई यसपाली भने मौसमले साथ दिएको छ ।  साउन महिनाको १५ लाग्दासम्म पानी नपाएर खेती लगाउन नपाएका किसानहरू साउनको अन्तिम साता परेको पानीले खेती लगाउन पाउँदा निकै हर्षित छन् । नरैनापुर वडा नम्बर २ बेउचहवा गाउँका राम सुरत मौर्या आफ्नो ३० कट्ठा जग्गामा गतबर्ष १० कठ्ठा पम्पसेट बाट मात्र रोपेको तर अहिले समय भन्दा ढिलै भए पनि रोपाइँ गर्न पाएको बताउछनु । ढिला गरी पानी परे पनि आफ्नो सबै खेतीमा खेती गर्न पाएकोमा मौर्या औधी खुसी छन् । मौर्या रोपाइँको सिजनमा पम्सेट चलाउन महँगो डिजेल किन्नुपरेकोमा भने रुष्ट छन् ।
नरैनापुरका अधिकांश स्थानीय कृषिमा आश्रित छन् । नरैनापुरमा अहिले पनि रोपाई भइरहेको छ । सामान्यतया तराईका जिल्लामा असार महिना भित्र रोपाइँ सकिसक्नु पर्ने हुन्छ। तर सिचाइको पर्याप्त सुविधा नहुँदा र मौसमले साथ नदिँदा पम्पसेट लगाएर भए पनि किसानहरू आजसम्म पनि रोपाई गरिरहेका छन् । सिँचाइको राम्रो प्रबन्ध हुन नसक्दा नरैनापुरका धेरै जसो किसानहरू खेतीका लागि आकाशको पानी कुरेर बस्न बाध्य छन् । भनेको बेला रासायनिक मल नपाउने समस्याबाट पनि यहाँका किसान पीडित छन् । ‘धान त रोपियो अब त्यसलाई जोगाउनै धौ धौ पर्ने हुन्छ, पालिकाबाट केही पहल हुन्छ कि भन्ने आसमा दिनभरी पालिकामा गएर आफ्ना समस्या सुनाउने गरेको छु’, वडा नम्बर २ बेउचहवाका निसार अहमद खान बताछन् ।
आफ्नो ४० कठ्ठा खेतीयोग्य जमिन भए पनि सिँचाइको समस्याका कारण गत वर्ष निसारले १५ कठ्ठामा मात्र रोपाइँ गरेका थिए । ढिला गरी वर्षा भए पनि यो वर्ष भने आफ्नो सम्पूर्ण खेतीमा रोपाइँ भएको उनले सुनाए । डिजेल, मलखाद लगायतमा महँगी बढेका कारण यसपालिको खेती महँगो परेको गुनासो उनले गरे । नरैनापुर गाउँपालिकामा ३ हजार ९ सय ६६ हेक्टर जमिन खेतीयोग्य रहेकोमा ३ हजार ७ सय ८ हेक्टर जमिनमा खेती गरिएको नरैनापुर गाउँपालिका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले यसपाली नरैनापुरमा पालिकाको सहयोगमा ठाउँमा डिप बोरिङ सञ्चालन गरिएको हुँदा रोपाइँका लागि गत साल भन्दा सहज भएको बताए। उनले गाउँपालिकाले सिक्टा सिचाई अन्तरगतको नहर अर्को वर्षसम्म सञ्चालनमा ल्याउने बताए ।
यसपालि नै सम्पन्न भइसक्ने सिँचाइको काम स्थानीय केही व्यक्तिका कारण बाधा अवरोध सिर्जना भएको हुँदा तत्काल सञ्चालन हुन नसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नरैनापुर गाउँपालिका कृषि पकेट क्षेत्र हो । यो ठाउँ धान उत्पादनको लागि प्रचलित मानिन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका २,४ र ५ नम्बर वडालाई पूर्ण रुपमा धान पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक बबिन कुमार खड्काले जानकारी दिए । (रेडियो नेपाल)

Translate »