२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

कृषि बजारीकरणमा जोड दिऔं



आयातित तरकारीले स्थानीय किसानले उत्पादन गरेका लाखौं मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेको समाचार वास्तवमा दुःखद खबर हो । आर्थिक परनिर्भरताले हाम्रो सोच, व्यवहार कर्म समेत परनिर्भर भईसकेको वर्तमान परिप्रेक्षमा खाद्यान्न तथा तरकारीजन्य वस्तु समेत अरुकै भरपर्ने दिन आएका छन् । कोरोना महामारीले सृजित समस्यालाई कम बनाउँदै अर्थतन्त्रलाई चलायमान बढाउन कृषि क्षेत्रले योगदान पु¥याएपनि अपेक्षाकृत प्रतिफल दिन नसकेका बेला स्थानीय किसानले उत्पादन गरेका तरकारीले बजार नपाउँदा बारीमै कुहिन अशुभ संकेत हो । सुर्खेत आसपासका क्षेत्रमा टमाटर, बोडी, घिरौंला, करेला, लौका, काँक्रा, फर्सी, चिचिन्डो, भिन्डी, सिमला मिर्च लगायतका तरकारी धेरै उत्पादन हुने गर्दछ । पछिल्लो समय यसक्षेत्रका धेरै कृषक व्यवसायिक रुपमा लगाएको घिरौंला, लौका, काँक्रा, टमाटरलगायतका तरकारीले बजार नपाउँदाको पर्ने आर्थिक क्षति व्यक्तिगत मात्र नभई त्यो देशका लागि पनि घाटा हो । अघिल्लो वर्षमा खाद्यान्न बालीबाट भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी लिएका यसक्षेत्रका कृषकले अरुको जग्गा भाडामा लिएरसमेत व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । अरुको बारीमा तरकारी खेती गर्ने कृषकलाई भने बैंकको ऋण कसरी तिर्ने भन्ने अर्को चिन्ता सृजित भएको छ । यस क्षेत्रमा करिब तीन सयको हाराहारीमा व्यवसायिक कृषकले तरकारी बिक्री गर्न नपाउँदा लाखौंको नोक्सानी बेहोर्नु परिरहेका बेला भारतीय तरकारीले बजार ओगटी रहेको छ ।

स्थानीय उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट आएका तरकारी भने निर्वाधरुपमा ठूला बजारमा प्रवेश पाउनुले किसान मारमा परेको विषयलाई राज्यले सम्बोधन गर्नु पर्छ । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेशको अवधारणा अघि सारेपनि व्यवहारमा त्यो कार्यान्वयन नहुँदा हवाई घोषणा मात्र हुन पुगेको हो । आफ्नै उत्पादनलाई प्रोत्साहन र स्थापित गर्नुको साटो भारतीय तरकारीलाई निर्वाधरुपले नेपालीको भान्सासम्म पु¥याउन सरकारले नै मदद्त पु¥याई रहेको छ ।  कृषि उत्पादनमा व्यावसायिक रुपमा लाग्न चाहने कृषकलाई अनुदान दिने व्यवस्था ल्याईपनि त्यो आफ्ना नजिकका नातेदार र कार्यकर्तामुखि बनाईंदा प्रतिफल शुन्य बनेको हो । वास्तविक किसानसम्म पुग्न नसकेको सरकारी नीति कार्यक्रमका कारणले स्थानीय उत्पादित कृषि उपजहरूको बजारीकरणको व्यवस्था नगरिदिँदा समस्या उत्पन्न भएको छ । कर्णालीका १० वटै जिल्लाका किसानहरुसम्म सरकारी नीति तथा कार्यक्रमको प्रभावहिन हुँदा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत गैरकृषक र बिचौलियालाई प्रत्यक्ष फाइदा पु¥याउने काम भईरहेको छ । वर्षेनी कृषिमा अर्बौं बजेट विनियोजन गरेपनि वास्तविक कृषकले लाभ नपाउँदा असरी कृषक विभिन्न समस्याले पीडित बन्नु परेको हो । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर मुख्य बजारदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको इन्द्रपुर गाउँका कृषकले उत्पादन गरेको तरकारीले बजार नपाउँदा लागत उठाउन हम्मे–हम्मे परेको छ । उत्पादित तरकारीले बजार नपाउँदा आर्थिक नोक्सानीसँगै बेरोजगारीको समस्या समेत बढेको छ । वीरेन्द्रनगर स्थित मण्डीले पालो कुर्न भनेपछि बाहिरी बजारमा लगेर बेच्न सक्ने कृषकको हैसियत छैन् । बाह्य बजारमा लान तरकारीको मूल्यभन्दा ढुवानी खर्च बढी लाग्छ ।

मण्डीवालाले भनेको समयमै तरकारी उठाइदिन्नन्, बारीमा तरकारी फलेर कुहिन थालेपछि झन् समस्या भएको हो । कृषिलाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा अगाडि सारेपनि किसानलाई कुन समयमा कुन खेती लगाउने भन्ने स्पष्ट खाका दिन नसक्दा पर्याप्त उत्पादन हुने तर, उचित मूल्य र बजार अभावमा बारीमै कुहिने समस्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ । किसानले उत्पादन गरेका सिजनल कृषि उपजहरुले बजार नपाएको खण्डमा र मूल बिउ भण्डारण गर्न विकल्प मानिएको शीत भण्डार प्रदेश सरकारले अझैसम्म निर्माण गर्न सकेको छैन । प्रदेशको कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ६ प्रतिशत कृषि क्षेत्रले ओगटेको कर्णालीमा जीविकोपार्जनको आधार कृषि हो । आर्थिक विकासका लागि प्राथमिकता प्राप्त यो प्रदेश भौगोलिक विविधता र पूर्वाधार विकासको दृष्टिकोणबाट समेत कृषि विकासमार्फत समृद्धि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । त्यसो भएपनि सरकारले कृषकसँग तालमेल मिलाउन नसक्दा आयातित कृषिउपजमा भर पर्नुपर्ने बाध्यता बढ्दै गएको छ । निर्यातयोग्य कृषिवस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी कृषि क्षेत्रलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्न जरुरी छ । तर, कृषकले उत्पादन गरेका कृषिउपजहरुको उचित मूल्य र बजारीकरणका लागि खाली गफ मात्रै लगाउने गरी कृषक दुःख दिने परिपार्टी अब छिट्टै अन्त्य गरिनु पर्छ ।

 

प्रकाशित मिति : २०८० भदौ १ गते शुक्रबार
Translate »