गरिब विमुख समाजवाद !

नेपालमा पछिल्लो चार दशक यता सबै भन्दा प्रिय नारा हो, ‘विश्वका मजदुर एक होऔं’ । तर, आपत विपत परेका बेला मजदूलाई साथ दिने कोही हुँदैन् । यो धेरै मजदूरहरुले आफ्नो व्यक्तिगत तथा सामूहिक जीवनमा भोगेको यर्थात सत्य हो । धेरै मजदूरले चेतनाको अभावमा आफु मजदूर भएरपनि मजदूर होइन भन्ने गलत बुझाइ कायमै राखेका छन् । मजदूर र गरिब किसानलाई आधार बनाएर राजनीति गर्नेहरुले यसै वर्गलाई लक्षित गरि धेरै आधारहरु तयार गरेको पाइन्छ । देशमा पटक–पटक कम्युनिष्ट सरकारको पहिलो काम भनेकै काम गरी खाने बहुमत जनताको हितबारे सोच्नु हो । तर, यसको ठीक उल्टो यहाँ स्वदेशी वस्तुलाई प्रोत्साहन दिई गरिबी उकास्नुपर्ने अवस्था देखिंदैन । कुनै व्यवस्थाबिनै कमिसनको लोभमा परी विदेशी सामान धमाधम भित्र्याइदै छ । यसबाट आफ्नो देशमा उत्पादन भएको वस्तु विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिको सृजना भएको छ । यसबाट मजदुरहरूले पाउनुपर्ने ज्याला पनि पाउन सकेका छैनन् । प्रायः कच्चा सामान भारतबाटै आयात भइरहेको अवस्थामा भारत सरकार र त्यहाँको कच्चा सामान कम्पनीहरुले आफ्ना मजदुरहरुलाई ती कच्चा सामानबारे पूरा तालिमको व्यवस्था गरी कामबारे निपुण बनाउने गर्दछन् तर नेपालमा नेपाली मजदुरहरुलाई त्यस्ता आयात भएका सामानबारे तालिमको कुनै व्यवस्था नभएकोले ती भारतीय मजदुरहरुसँग प्रतिस्पर्धा गर्न पनि मुस्किल भइरहेको छ ।

भारतीय मजदुरहरु निर्वाधरुपमा नेपालमा काम गर्नसक्ने व्यवस्थाका कारण नेपाली मजदुरहरु विदेश पलायन हुने स्थिति सृजना भएको हो । आज छिमेकी देशहरु २१ औँ शताब्दीलाई वैज्ञानिक युगको रुपमा रूपान्तरण गर्दैछन् तर हाम्रो देश सत्तासीन दलका नेताहरुको अकर्मण्यताको कारण विदेशी देशहरुको दासको रुपमा परिणत हुँदैछन् । यदि नेपाली जनता विशेष गरेर काम गरी खाने बहुमत श्रमजीवी जनताले आफ्नो मातृभूमि र आफ्नै देशको राजनीतिक अवस्थाबारे ज्ञान र चासो नलिने हो भने शासक दलहरुले स्यालझैँ ¥याल चुहाई झन् झन् दुःख दिइरहने छन् । नेपालको संविधानले मुलुकलाई समाजवादमा लैजाने भन्छ । नेताका बोलीपिच्छे समाजवाद उच्चारण हुन्छ । संविधानले समाजवादको व्याख्या गर्दैन । कस्तो हुन्छ समाजवाद र नेपालीलाई के गर्छ त्यसले ? संविधानका अक्षरले केही भन्दैनन् । नेताहरुले पनि समाजवादको व्याख्यान राम्ररी गर्दैनन् । फगत सुगा रटाइँ चाहिँ गरि रहन्छन् । प्रमुख दलहरु एमाले, कांग्रेस र माओवादीले आफूहरुलाई समाजवादी नै भन्न रुचाउँछन् । कतिपय पार्टीहरुको नामै पनि समाजवादी छ । राजनीतिक शब्दावलीको अर्थ जसले जे जसरी अथ्र्याए पनि नेपाली जनतालाई के चाहिँ परेको छ भने समाजवाद भनेको पक्कै जनताले सुख पाउने व्यवस्था होला । त्यही मनोविज्ञान बुझेरै दल र नेताहरुले समाजवादको रटान गरिरहन्छन् । साधारण र गरिखाने वर्गको नेपालीलाई समाजवादको अर्थभन्दा पनि उसलाई भोको पेटको अर्थ थाहा हुन्छ ।

आफ्नो गास, बास, कपास र शिक्षा, स्वास्थ्यको अर्थ थाहा हुन्छ । रोजगारीको अर्थ थाहा हुन्छ । किनभने उसले अहिले बेहोरिरहेको सबैभन्दा आधारभूत समस्या त्यही हो । तिनै समस्याको समाधान भइदिने हो भने उसले समाजवाद आएको ठान्छ । तर आधारभूत वर्गको नेपालीलाई लक्ष्य गरेर चाहिँ कुनै पनि दलले त्यस्तो केही काम गरेका छैनन् । आज पनि २१ प्रतिशत जति नेपाली गरिबीको रेखामुनि रहेको नेपालको जीवनस्तर सर्वेक्षणको तथ्यांक छ । गरिबीलाई अर्थसँग मात्रै नजोडी हेर्दा शिक्षा, स्वास्थ्य र रोजगारीका कसीमा राख्ने हो भने सरकारले भनेको भन्दा धेरै नेपाली गरिब देखिन सक्छन् । हरेक चुनावमा नेताहरुले समृद्धिको नारा खुबै चर्काएका हुन्छन् । गरिबी निवारणमा उनीहरूको कार्यक्रम के हो ? शिक्षामा के हो ? र स्वास्थ्यमा के हो ? सबैमा अमूर्त कुरामात्रै छन् । शिक्षामा पहुँच बढ्छ गरिबी आफैं न्यूनीकरण हुँदै जान्छ । भारी बोक्ने मजदुरी गर्ने जति पनि छन्, उनीहरू पढाइलेखाइ नभएकैले भरिया बनेका छन् । परिश्रम गर्दा नै जीवन परिवर्तन हुन्छ भन्ने मान्ने हो भने भरियाहरुको हकमा असत्य सावित भइरहेको छ । सरकारले त्यो वर्गलाई हेरेर कहिल्यै नीति निर्माण गरेकै छैन् । वास्तविक अर्थको समाजवाद भनेको सामाजिक सुरक्षाको सुनिश्चितता पक्कै हो । अब गरिब मजदूर वर्गले आफुले आफुलाई चिनौं ।

 

Translate »