कर्णालीबाट सञ्चालित नीजि क्षेत्रका मिडिया उद्योग आर्थिक संकटमा

सुर्खेत । आम नागरिकलाई सुशिक्षित गर्ने उद्देश्यले नीजि क्षेत्रबाट सञ्चालित आमसञ्चार माध्यमहरु पछिल्लो समय आर्थिकरुपले कमजोर बन्दै गईरहेको कर्णाली मिडिया सोसाइटीले जनाएको छ ।

कर्णाली मिडिया सोसाइटीले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णाली प्रदेशका मिडियाले भोगेका असाधारण संकट विषयक अन्तरक्रिया कार्यक्रम’ मा कर्णालीबाट सञ्चालित नीजि क्षेत्रका मिडिया उद्यमीहरुले कोरोना महामारीबाट प्रभावित बनेका आमसञ्चार माध्यमहरु पछिल्लो समय प्रविधिको तीव्र विकासका कारण व्यावसायिक, प्राविधिक तथा आर्थिक चुनौति थपिदै गएको बताएका हुन् ।

कर्णाली मिडिया सोसाइटीका संयोजक सुशीलराज शर्माले मोफसलबाट सञ्चालित मुलधारका आमसञ्चार माध्यमलाई सरकारले नीतिगत रुपमै ‘साना मिडिया उद्योग प्रवद्र्धन कार्यक्रम’ ल्याउन आवश्यक रहेको औल्याए । उनले आफै मालिक, आफै कामदार भएर स्वरोजगार भएका साना लगानीका मिडिया उद्योगलाई सरकारले तत्काल संरक्षण गर्ने नीति ल्याउन नसके विस्थापित हुने अवस्था आएको जनाए ।

कार्यक्रममा कर्णालीका प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले मोफसलबाट सञ्चालित नीजि क्षेत्रका सञ्चार माध्यमको दिगो विकासका लागि ऐन, नियम र कानून बनाउने प्रक्रियामा केही ढिलाई भएपनि अब छिट्टै नीतिगतरुपमा अघि बढेको बताए । उनले आम नागरिकलाई सुशिक्षित गर्ने कार्यमा अहोरात्र खटिने सञ्चार माध्यमसँग समन्वय तथा सहकार्य गरेर तत्काल देखा परेका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले हाल मोफसलका सञ्चार माध्यमलाई परिरहेको आर्थिक संकट अन्त्य गर्नका लागि प्रदेश सरकार नीति–नियम र सहज वातावरण बनाउने कार्यमा तत्कालै जुट्ने बताए । उनले छापा, रेडियो, टेलिभिजन र अनलाइनको दिगो विकासका लागि हरसम्भव पहल गरिने जनाए ।

Translate »