मार्सी लगायत परम्परागत अन्न बाली हराउँदै

मुगु । कुनै समयमा नुन सँग साट्नका लागि तिब्बत तिर लाने अन्न मध्ये मार्सी पनि एक हो । अत्यन्तै पोषण युक्त अन्नको रुपमा चिनिने मार्सी खेती परापूर्व काल देखिनै खेती पाती गरिँदै आएको भए पनि पछिल्ला केही बर्ष यता मार्सी खेती घट्दो क्रममा रहेको छ । मार्सी खेती गर्ने कृषकहरूको सङ्ख्या घट्दै गएपछि मुगु बाट मार्सी अन्न लोप हुने अवस्थामा पुगेको हो । विशेष गरि मार्सीको रोटी, ढिँडो र खाजाका साथै लड्डुको रुपमा यसको परिकार बनाउने गरिन्छ ।

पछिल्लो समयमा जिल्ला उत्पादित परम्परागत अन्न बालीहरूले समय सापेक्ष बजारमा अपेक्षित मूल्य नपाउने र खेती गर्दा बढी श्रम खर्चिनुका साथै जिल्ला बाहिरको खाद्यान्न आयत हुन थाले पछि परम्परागत अन्न बाली लोप हुने क्रममा रहेको छायाँनाथ रारा नगरपालिका वडा नं ३ का कृषक रुपसरा भण्डारीले बताए । ‘बजारमा अरू सबै कुराको मूल्य बढ्छ तर कोदो, काउली, चिनो र मार्सीको कहिले पनि मूल्य बढ्दैन त्यसैले मार्सी लगायत काउनो चिनोको खेती गर्न छाडेका हौ ’ स्थानीय कृषक भण्डारीले बताइन् । खेती गर्दा दुख धेरै गरेपनि त्यसको उचित मूल्य नपाए पछि आफूले पनि मार्सी लगायत अन्य पुराना अन्न बाली को खेती गर्न छोडेको छायाँनाथ रारा वडा नं ३ का अर्का कृषक नन्दलाल रावल बताउँछन् । उनले भने ‘ बाहिर बाट चामल आउन थालेपछि मार्सी लगायत अरू अन्न बालीको खेती गर्न छाडेका हौ ’

खासै बिच जग्गामा मार्सीखेती नगरेपनि जग्गाको छेउछाउमा मार्सी खती गरिँदै आएको थियो । सानो बिरुवा हुँदा साग खान पनि मिल्ने मार्सीको जर्गेनाको लागि मालिका सामुदायिक भन्ने एक गैर सरकारी संस्थाले खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत मार्सीनामक पुस्तक पनि प्रकाशन गरेको थियो हिमाली जिल्लामा पाई सेतो मार्सीको महत्त्व धेरै भएपनि कृषि तथा यस सँग सम्बन्धित संघ संस्थाहरूले यसको खेतीको स्थायित्वको लागि कनै किसिमको गतिविधि अघि नबढाएको उत्तरी करान भेगका कृषक लाप्का लामाले बताए ।

मुगु जिल्लाका सोरु, खतेड र गममा मार्सी खेती गर्ने कृषकहरू घट्दै गएका छन् भने करान भेगका लामा जातिहरू भो खाजा, सातु , ढिँडोको परिकारका लागि मार्सी खेती अहिले पनि गर्ने गरिएको छ । तर पनि विगतमा भन्दा परम्परागत अन्न बालीको खेती घट्दो क्रममा रहेको मह गाउँका स्थानीय शिक्षक कार्मा नुर्व लामाले बताए ‘ उनले भन्नु भयो हामीहरूले बेच्न भन्दा घरको लागि खाजा, ढिँडो र रोटी लगायत अन्य परिकारको लागि नभई नहुने भएकाले मार्सी खेती गर्न नछाडेका हौँ ’ मार्सी खेती जर्गेनाको लागि सम्बद्ध सबै निकायले पहल कदम चाल्नु पर्ने देखिन्छ । (रेडियो नेपाल)

 

Translate »