सडक सञ्जालले जोडियो डोल्पा र मुस्ताङ
डोल्पा । हिमाली जिल्ला डोल्पा र मुस्ताङ सडक सञ्जालले जोडिएको छ। शनिबार डोल्पाबाट मुस्ताङ र मुस्ताङबाट डोल्पाको सीमानामा ट्याक्टर पुर्याएपछि डोल्पा र मुस्ताङ सडकको ट्याक खुलेको हो ।
सरकारले गण्डकी प्रदेशको मनाङ-मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा-मुगु जोड्ने रणनीतिक महत्वको सडक अन्तरर्गत २०७५/०७६ सालदेखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो ।
मुस्ताङ-डोल्पा सडकका लागि आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्याक खोल्ने र सडक स्तरोन्नतिको जिम्मा लिएका थिए । मुस्ताङ डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले अख्तियारी प्राप्त गरेको थियो । सडकका लागि २० करोड लगानी भइसकेको छ ।
६ महिना अघि मुस्ताङ-डोल्पा सडकको ४६ दशमलव ५ किलोमिटर सडकको ट्याक ओपन भइसकेकोमा त्यसयता करिब १० किलोमिटरको जोखिमयुक्त पहाडको चट्टान काटेर मुस्ताङ-डोल्पा सडकको ट्याक खुलेको छ ।
गत वर्ष नयाँ ट्याक ओपन गर्न मन्त्रालयले ३ करोड १७ लाख बजेट विनियोजन गरेको थियो। चालु वर्ष नयाँ ट्याक खोल्न मन्त्रालयले २ करोड बजेट छुट्याएको थियो । मुस्ताङ-डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्याक ओपन गर्नका लागि सिखा इन्जिनियरिङ र पम्फा जेभी कन्टक्सनले जिम्मा पाएका थिए ।
मुस्ताङ-डोल्पाको सामूहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ ४ वर्षपछि सडक सञ्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
डोल्पाबाट मुस्ताङतर्फ सडक ट्याक जोड्न छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले पहल गरेका थिए । यता सडक डिभिजन कार्यालयले सडक निर्माणको कामलाई अघि बढाएको वडाध्यक्ष गुरुङको भनाइ छ । अन्नपूर्ण पोष्ट