लामो बिदापछि खुलेको बजारमा १ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । तिहार र छठको लामो बिदापछि सोमवारदेखि खुलेको धितोपत्र दोस्रो बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१२ कारोबार दिनपछि दोस्रो बजारमा १ अर्बभन्दा बढीको धितोपत्र कारोबार भएको हो । सोमवार ४४ हजार ७२७ पटकको व्यापारमा उक्त रकम बराबरको ३३ लाख १९ हजार ५५८ कित्ता धितोपत्र कारोबार भएको हो ।

कुल कारोबारमा हिमालय डिष्टिलरीको सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको ४१ हजार ९४२ कित्ता शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने ७ दशमलव शून्य १ प्रतिशत घटेको छ । यो दिन प्रतिकित्ता १३१ रुपैयाँले घटेर हिमालयन डिष्टिलरीको अन्तिम शेयर मूल्य १ हजार ७३७ रुपैयाँ कायम भएको हो ।

यो दिन समग्र धितोपत्र दोस्रो बजार कारोबार मापक नेप्से परिसूचक भने १ दशमलव ३९ अंकले बढेर १ हजार ८५३ दशमलव ४८ विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक न्यूनतम १ हजार ८४६ दशमलव ५२ विन्दुसम्म झरेको थियो भने अधिकतम १ हजार ८७३ दशमलव ३४ विन्दुसम्म पुगेको थियो ।

सामान्य बढेको बजारमा दुई कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ ।

यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य प्रतिकित्त ८३ रुपैयाँले बढेर अन्तिम मूल्य ९१५ रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य २७७ रुपैयाँ १० पैसा कायम भएको छ ।

यो दिन तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा घटेको छ । फरवार्ड माइक्रोफाइनान्स र सयपत्री हाइड्रोपावरको १० प्रतिशतले र माथिल्लो मैलुङखोला जलविद्युतको ९ दशमलव ९९ प्रतिशत शेयर मूल्य घटेको हो । फरवार्ड लघुवित्तको प्रतिकित्ता १२० रुपैयाँ ९० पैसाले घटेर अन्तिम मूल्य १ हजार ८८ रुपैयाँ ६० पैसा र सयपत्री हाइड्रोपावरको प्रतिकित्ता ५० रुपैयाँ ७० पैसाले घटेर अन्तिम मूल्य ४५६ रुपैयाँ ३० पैसा कायम भएको हो ।

माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य भने प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले घटेर अन्तिम मूल्य २५९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

यस दिन उत्पादन तथा प्रशोधनको १ दशमलव ९१ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ८३ प्रतिशत, लघुवित्तको १ दशमलव ४२ प्रतिशत र अन्य समूहको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ । अन्य समूहको परिसूचक भने यो दिन बढेको छ । बैंकिङको शून्य दशमलव २० प्रतिशत, विकास बैंकको १ दशमलव २६ प्रतिशत, वित्तको शून्य दशमलव ३२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३१ प्रतिशत, लगानीको शून्य दशमलव ७३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७५ प्रतिशत र व्यापारिक समूहको १ दशमलव ४२ प्रतिशत परिसूचक बढेको छ ।

परिसूचकमा आएको वृद्धिलाई आधार मान्दा सोमवारको बजारबाट व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

सोमवारको कारोबारमा कुल बजार पूँजीकरण ४ अर्ब ७४ करोड ५० लाख रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन कात्तिक २३ गते २८ खर्ब ५३ अर्ब १ करोड ३९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमवार २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ कायम भएको छ । (आर्थिक अभियान)

Translate »