गन्धर्वको स्थिति सुधारौं

गन्धर्व अर्थात गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । सुर्खेत, दैलेख, जाजरकोट, दाङ, कास्की, तनहुँ, लम्जुङ्ग, गोर्खा, चितवन, वाग्लुङ्ग, पाल्पा, भोजपुर गरी नेपालको झण्डै ६९ जिल्लाहरुमा गन्धर्व जातिको बसोबास रहेको पाइन्छ । हाल नेपालको जनसंख्या झन्डै तीन करोड छ । नेपालका १२५ जाति मध्ये गन्धर्व जाति पनि एक हो । वि.सं. ०५८ सालको जनगणनानुसार गन्धर्वहरुको मात्रै ५ हजार आठ सय ८७ रहेको छ । अर्थात, नेपालको कूल जनसंख्याको ०.२१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । नेपाली लोकसंगीत र रंमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धन र विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारंगी पनि एक हो । नेपाल एक वनजङ्गल भिरपाखा र खोलानालाले ढाकिएको देश हो । यहाँ आफ्नै प्रकारका स्थानीय क्रन्दन र सुसेलीहरु पाइन्छन् ।

विविध जातजाति तथा गाँउघरले भरिएको र विविध रीतिपरम्परा रहेको यो सुन्दर देशलाई आफ्ना पाईतलाले नाप्दै, यिनै जातजाति, वनजङ्गल, भीरपाखा, र खोलानालासँग मितेरी लाउँदै नेपालका लोक गीत–संगीत, लोक जीवन र लोक सँस्कृतिलाई गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा गन्धर्व जातिको सहभागिता रहेको पाइन्छ । समग्रमा नेपाली कला र संगीतको मूल आधार नै दलित समुदायले धानेका छन् । तर, नेपालको विभिन्न भूगोलमा अवस्थित आम दलितहरुबीच भएका कला संस्कृतिहरु आधुनिकतासँगै भूमण्डलीकरणको प्रभाव तथा जातीय विभेदका कारणले विस्तारै छायाँमा परिरहेको छ । वीरताका गाथा, कर्खा, घटना, ठट्यौली तथा मनोरञ्जन र लोकगीतलाई मूर्त रुप दिई सजीवता प्रदान गर्ने गन्धर्वहरु नै हुन भन्ने कुरामा दुईमत छैन । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर–११ मा रहेको गन्धर्व बस्ती आधारभूत कुराहरुबाट वञ्चित रहँदै आएको छ । स्वास्थ्य, बेरोजगारी र पूर्वाधार विकास यहाँका नागरिकले भोग्दै आएका समस्या हुन् । यस्तै अधिकांशसँग जग्गाधनी प्रमाणपुर्जा छैन ।

गाउँगाउँमा सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व अहिले पुख्र्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य छन् । तर रोजगारीका अवसर नपाएपछि साँझबिहान चुलो बाल्न समस्या मात्र होइन, बस्तीका अधिकांश मानिस मजदुरीको भरमा बाँचिरहेका छन् । उनीहरु जग्गाको पुर्जा अभावमा राज्यबाट पाउने सुविधाबाट वञ्चित छन् । गरिबी र भोकमरीमा बाँचिरहेका बासिन्दाका लागि राज्य गम्भीर बन्नुपर्छ । भूमिहीन र विपन्न गरिबीमा रहेका समुदायको लागि सरकार गम्भीर बन्न जरुरी छ । प्रदेश राजधानी भएर पनि गन्धर्व बस्ती अनेक समस्याले आक्रान्त छ । गन्धर्व बस्ती व्यवस्थित बनाउन प्याकेजमै योजनाबद्ध विकास निर्माणको रणनीति बनाउन जरुरी देखिन्छ । गन्धर्वहरुको जीवन सहज बनाउन सके सांस्कृतिक रुपमा सम्पन्न गन्धर्व बस्तीमा आन्तरिक पर्यटक भित्र्याएर समृद्धिका नयाँ मूल्य मान्यता स्थापित गर्न सकिन्छ । गन्धर्वहरुमा जन्मजात रहेको कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी प्रदेशको आम्दानीको स्रोत बनाउन सकिन्छ । यसतर्फ बेलैमा तीनै तहका सरकारले योजनाबद्ध विकासका कार्यक्रमहरु अघि बढाउन जरुरी छ ।

Translate »