पर्यटकको पर्खाइमा मुर्मागाउँ

मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको मुर्मागाउँ यतिखेर पर्यटक आवागमनको पर्खाइमा रहेको छ । समुन्द्री सतह देखि करिब २९ सय मिटरको उचाइमा रहेको मुर्मागाउँका ८१ घरधुरी पर्यटकको आवागमनको प्रतिक्षामा छन् ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको नेपालकै ठुलो र गहिरो ताल रारा आउने पर्यटकहरू रारा तालको पश्चिम दिशातिर करिब २० मिनेट उकालो हिँडेर पुगिने प्रसिद्ध मुर्माटप हिमालयको फेदीमा अवस्थित मुर्मागाउँ अति सुन्दर गाउँको रूपमा परिचित छ ।
चारैतिर सल्ला धुपीका घनघोर हरियाली जङ्गलले घेरिएको प्राकृतिक दृष्टिकोणले अति सुन्दर यस मुर्मागाउँमा गतवर्ष कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला वन कार्यालय मुगुमार्फत मुर्मागाउँका सबै घरधुरीलाई होमस्टेको रूपमा बिकास गरि रारा घुम्न आउने पर्यटकहरूलाई खाना र बासको लागि कुनै प्रकारको दुख नहोस् र गाउँ लाई नै व्यवस्थित गरी पर्यटन प्रवर्द्धन मार्फत स्थानीयको आयस्तरमा सुधार गर्ने उद्देश्यका साथ गाउँमा शौचालय स्वस्थ खानेपानी र स्वास्थ्य र सरसफाइका लागि शौचालयका निर्माणका आवश्यक सामाग्रीहरू पाइप, ट्वाइलेट पेन, सिमेन्ट, जस्ता पाता, काठ लगायतका सामाग्रीहरू उपलब्ध गराएको थियो ।

परम्परागत बाली सिमि, आलु, फापर, मकै, जौ, गहुँ का साथै पशुपालनमा भेडा, बाख्रा पालन गर्ने अब्बल गाउँको रूपमा चिनिँदै आएको छ । बन जङ्गल र पाटन क्षेत्र समेत नजिक पर्ने भएकाले हिमाली मौरी पालनको प्रचुर सम्भावना भएको मुर्मागाउँमा मह समेत पाईने गरेको छ ।
तसर्थ रारा घुम्न आउने पर्यटक मुर्मागाउँ आएको खण्डमा उचित वासस्थानका साथ फापरको लगड, मौरीको मह, लोकल खसी र कुखुराको मासु, मकैको ढिँडो, सिमि मकैका कोल, सिस्नोको साग, कोदो तथा हिमाली गहुँको रोटी हिमाली घुच्चिच्याउ लगायत अन्य जङ्गली च्याउ, स्याउ बाट बनेको मार्फा लगायतका अर्ग्यानिक परिकाले स्वागत गर्न सकिने मुर्मागाउँका स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए ।
प्रचार प्रसार व्यापक नहुँदा हाल गाउँमा फाटफुट मात्र पर्यटकहरू गाउँमा आउने गरेको शिक्षक रोकायाले जनाए । रारा तालका अलावा नजिकै रहेका मुर्माटप हिमाल , मुर्मागाउँ घुम्न सकेको खण्डमा मात्र रारा भ्रमण पूरा भएको अनुभूति हुने मुर्मागाउँका पर्यटन व्यवसायी बृखबहादुर रोकायाले बताए ।
रारामा भरिभराउ पर्यटक भइरहँदा नजिकै रहेको मुर्मागाउँमा सबै व्यवस्था हुँदाहुँदै पनि फाटफुट बाहेक अपेक्षित पर्यटक नआउँदा गाउँमा आर्थिक क्षति गुमाउनु परेको राराका अर्का पर्यटन व्यवसायी देवीकृष्ण रोकायाको बुझाई रहेको छ । गाउँ आएका पाहुनाहरूको मनोरञ्जनका लागि स्थानीय संस्कृति, देउडा, बालो चम्पा, झोडा नाचले मनोरञ्जन दिन सकिने रोकायाको भनाई रहेको छ ।