रूससँगको तिक्ततापूर्ण सम्बन्धबीच फिनल्याण्डमा आइतबार राष्ट्रपतीय निर्वाचन

हेलसिन्की । युक्रेनमा जारी युद्धपछि छिमेकी मुलुक रूससँगको तनावका कारण विदेश नीतिको नेतृत्व गर्ने भूमिकालाई बढावा दिएको फिनल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी आइतबार मतदान हुँदैछ ।
फिनल्याण्डको सशस्त्र बलको सर्वोच्च कमाण्डरका रूपमासमेत काम गर्ने नयाँ राष्ट्रप्रमुखका लागि यूरोपको बदलिँदो भूराजनीतिक परिदृश्य मुख्य चिन्ताको विषय हुनेछ ।
पूर्व कन्जरभेटिभ प्रधानमन्त्री अलेक्जेन्डर स्टब र ग्रिन पार्टीका पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो गरी दुई शीर्ष राजनीतिज्ञले नौ जना उम्मेदवारको समूहको नेतृत्व गरेका छन् ।
जनमत सर्वेक्षणका अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत (५० प्रतिशत) भन्दा बढी नल्याउने तर फेब्रुअरी ११ मा हुने दोस्रो चरणको मतदानमा स्टब र हाभिस्टोबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ ।
‘फिनल्याण्डको नयाँ आउने राष्ट्रपति पहिलो पटक पश्चिम र नेटो समर्थक हुने र हाम्रो सबैभन्दा महत्वपूर्ण सम्बन्ध भनेको संयुक्त राज्य अमेरिकासँगको साझेदारी हो,’ स्टबले हालैको एक टिभी अन्तर्वार्तामा भने ।
सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मस्को र हेल्सिन्कीबीचको सम्बन्ध बिग्रिएको थियो जसका कारण फिनल्यान्डले दशकौं लामो सैन्य असंलग्नता त्यागेर अप्रिल २०२३ मा नेटोमा सामेल भएको थियो ।
फिनल्याण्डसँग एक हजार ३४० किलोमिटर लामो सीमा जोडिएको रूसले तुरुन्तै ‘प्रतिकारात्मक उपाय’ अपनाउने चेतावनी दिएको थियो ।

त्यसको केही महिनापछि सन् २०२३ को अगष्टमा फिनल्यान्डले आफ्नो पूर्वी सीमाबाट बिना भिसा प्रवेश गर्ने आप्रवासीको चाप देखियो ।
मस्कोले आप्रवासीहरूलाई अस्थिर पार्न हाइब्रिड आक्रमणमा धकेलिरहेको दाबी हेलसिन्कीले गरेको छ । फिनल्याण्डले गत नोभेम्बरमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो ।
शीतयुद्धपछिको समयमा हेलसिन्कीले मस्कोसँग राम्रो सम्बन्ध कायम राखेको थियो ।
वर्तमान राष्ट्रपति साउली निनिस्टोले कुनै समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो घनिष्ठ सम्बन्धको लागि गर्वसमेत गरेका थिए ।
युनिभर्सिटी अफ हेलसिन्कीको सामाजिक विज्ञान संकायका सहायक डिन हन्ना वासका अनुसार राष्ट्रपति पदका सबै उम्मेदवारले फिनल्यान्डको स्वतन्त्रता र नेटो सदस्यका रूपमा यसको नयाँ भूमिका दुवैको समर्थन गरेका छन् ।
वासले एएफपीसँग भने, ‘उनीहरू सबैको आत्मनिर्भरतामा जोड दिने बलियो विचार देखिन्छ, भविष्यमा फिनल्याण्डले स्वतन्त्र रूपमा आफ्नो रक्षाको जिम्मेवारी लिनुपर्छ र साझा युरोपेली रक्षा र नर्डिक सहयोग निर्माणमा सक्रिय योगदानकर्ता पनि हुनुपर्दछ ।’
युनिभर्सिटी अफ टाम्पेरेका विदेश नीतिका प्राध्यापक टुमास फोर्सबर्गले ती सबै उम्मेदवारको विदेश नीति समान रहेको बताए ।
उनले एएफपीसँग भने, ‘यो नेतृत्वका लागि व्यक्ति चयनभन्दा पनि नेतृत्व रहने व्यक्तिको विश्वसनीयता र जिम्मेवारी र विदेश नीतिको जानकारी राख्ने गुण, मूल्य र अन्य प्रतिनिधित्व छान्ने अवसर हो ।’