८ महीनामा आधा अर्बभन्दा बढीको यार्सागुम्बा निर्यात
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव)को ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार २७७ किलोग्राम यार्सागुम्बा विदेश निकासी भएको छ । गत आवको ८ महीनाको तुलनामा यो आवको उक्त अवधिमा यार्सागुम्बा निर्यात मूल्यका आधारमा ७० प्रतिशतले र परिणामका आधारमा १२६ प्रतिशतले बढेको छ ।
गत आवको साउनदेखि फागुनसम्ममा नेपालले ३६ करोड ३४ लाख २ हजार रुपैयाँको ५६४ किलोग्राम यार्सागुम्बा निर्यात गरेको थियो ।
नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक गणतन्त्र, ग्रीस, हङकङ, जापान, मलेसिया, मङ्गोलिया, रूस, सिङ्गापुर, संयुक्त अधिराज्य (युनाइटेड किंगडम), संयुक्त राज्य अमेरिका, भियतनाम लगायतका देशमा यार्सागुम्बा निकासी हुँदै आएको छ ।
उक्त अवधिमा नेपालबाट हङकङमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात भएको छ । हङकङमा मात्रै २७ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको ४१२ किलोग्राम यार्सागुम्बा निकासी भएको छ ।
यार्सागुम्बा सर्वाधिक निर्यात हुने दोस्रो देशको सूचीमा चीन छ । उक्त अवधिमा चीनमा २२ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबरको ५७१ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । यस्तै, कम्बोडियामा ४ करोड ५१ लाख २१ हजार रुपैयाँ बराबरको ८८ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक अभियान
यार्सागुम्बा निर्यात भएका प्रमुख देश
देश | परिमाण (केजीमा) | मूल्य (रु हजारमा) |
हङकङ | 412 | 271,051 |
चीन | 571 | 228,775 |
कम्बोडिया | 88 | 45,121 |
भियतनाम | 137 | 37,187 |
सिङ्गापुर | 23 | 17,427 |
संयुक्त अधिराज्य | 19 | 9,566 |
संयुक्त राज्य अमेरिका | 11 | 7,214 |
मलेसिया | 14 | 3,920 |
मङ्गोलिया | 1 | 598 |
स्रोत : भन्सार विभाग ।