आम्दानीको गतिलो स्रोत बन्दै डाले चुक

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं.८ टोप्लाका युवा उद्यमी हरिकृष्ण बिष्टले डाले चुकको रस बेचेर बर्सेनी लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

स्थानीय वन जङ्गलमा पाईने डाले चुक सङ्कलन गरी विष्टले आफ्नो उद्योगबाट जुस उत्पादन गर्दै आइरहेका छन् । पछिल्लो समयमा जिल्लामा बेरोजगारीको समस्या बढिरहेका बेला बिष्ट भने आफै स्वरोजगार छन् । बेरोजगारीका कारण धमाधम युवाहरू बिदेसिन थाले पनि थोरै लगानी र आफ्नै पसिनामा गाउँमै उद्योग सञ्चालन गरिरहेका विष्ट यत्तिखेर धेरैका लागि प्रेरणको स्रोत बनिरहेका छन् ।

‘लगनशील भएर स्वदेशमै थोरै लगानी गर्नसके आर्थिक कमाइको लागि समस्या छैन, विदेश जानै पर्दैन’ बिष्टले बताए । उनका अनुसार आफूले यस अघिका केही वर्षहरुमा रू १० लाख सम्म घरमै बसेर कमाई गरिरहेको बताए ।

रारा जुस प्रोडक्सन उद्योगबाट उत्पादन हुने डाले चुकको जुस बेचेर आफूलाई सन्तोषजनक आम्दानी हुनाका साथै आफूले थप ३ जनालाई रोजगारी दिन सकेकोमा खुसी लाग्ने गरेको बिष्टले बताए । २०७० सालबाट डाले चुक उत्पादन सुरु गरेका बिष्टले २०५९ सालमा युएनडिपी र आरसिडीसी नामक गैरसरकारी संस्थाबाट जुस उत्पादनको तालिम लिएका थिए । तालिम पश्चात् उद्योग दर्ता गरी आफूले व्यवसाय सञ्चालन गरेको र राम्रो आम्दानी गर्न सफल भएको उनले बताए । डाले चुककै जुस बेचेको रकमले आफूले घर खर्च, बैङ्क ब्यालेन्स र आफ्ना ३ बालबच्चालाई काठमाडौँमा पढाउँदै आएको बिष्टले बताए।

डाले चुकको जुस खाँदा स्वादिलो हुने र स्वास्थ्यको लागि अत्यन्तै लाभदायक भिटामिन सी पाउनुका साथै दम खोकी , गिँजा पाक्ने, पिसाब नली सम्बन्धि रोगहरू सन्चो हुने भएकोले यहाँ उत्पादित जुस काठमाडौँ, पोखरा लगायत नेपालगन्जका बजारमा समेत राम्रो माग हुने गरेको उद्योगी बिष्टको भनाई छ ।

पर्यटनको प्रबल सम्भावना बोकेको नेपालकै सुन्दर रारा घुम्न आउने पर्यटकहरूले चिनोको रूपमासमेत खोजी, खोजी जुस लाने गरेको उनले बताए । जिल्लाको रारा, सल्लेरी, गमगढी, लगायतका बजारमा समेत डाले चुकको माग अत्यधिक रहेको बिष्टले बताए । प्रति सात सय एम एलको होलसेल मूल्य रू २५० र खुद्रा मूल्य रू ३०० रुपैयाँमा बिक्री वितरण हुने गरेको उनले बताए । ईसिमोड, र यसएनभी नेपालको सहयोगमा उद्योगलाई थप व्यवस्थित बनाउनका साथै आधुनिक थप ज्ञान सीप हँसिला गर्नको लागि छिमेकी मुलुक भारत चीनको भ्रमण गर्ने अवसर पाएका बिष्ट अहिले विभिन्न संघ संस्था द्वारा आयोजित तालिमका प्रशिक्षकको रूपमा पनि काम गर्नु हुन्छ ।

डाले चुक फल्ने समयमा धेरैले युवा, युवतीले रोजगारसमेत पाउँदै आएका छन् । थार्पको रिम्रे,र पहाड लेक, र टोप्लाको बाबुकाँद, भदाली, तिल्खुरी र मुगुमकार्मारोङको महको लेकमा डाले चुक प्रशस्त पाईने गर्दछ । छायाँनाथरारा नगरपालिका वडा नं ७ टोप्लाको मालिकीधारा नजिक डाले चुक बनाउने उद्योग रहेको छ । स्थानीय सरकारले उद्योगलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रोत्साहन गर्न नसकेकोमा भने दुःख लाग्ने गरेको विष्टको गुनासो छ । (रेडियो नेपाल)

Translate »