वनमा आगजनी गर्नेलाई खोजी–खोजी कार्वाही गरौं !
गर्मीयाम लागेसँगै आगलागीका घटना वर्षेनी बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेका दृष्य यतिबेला सामाजिक सञ्जालदेखि प्रत्यक्ष यत्रतत्र देख्न सकिन्छ । कर्णालीसँगै आसपासका क्षेत्रमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षतिसँगै प्राकृति स्रोतसाधन नष्ट भएका छन् । डोल्पाको ठुलीभेरी नगरपालिका–४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो । डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ । मुगु, रुकुम पश्चिम, सल्यान, सुर्खेतलगायतका जिल्लामा वन डढेलोले ठूलो क्षति पु¥याएको छ । हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ । गएको वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै एक सय ५५ जनाको ज्यान गएको छ ।
त्यसपछि धेरै क्षति आगलागीका कारण भएको छ । आगलागीका कारण देशभर गएको वर्ष एक सय छ जनाको ज्यान गएको छ । यो वर्षको सुक्खायाम सुरु भएपछि वनक्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ । आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भइसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन् । कतिपय आगो मानवीय क्रियाकलापमा हुने त्रुटिबाट डढेलो बन्छ भने कतिपय ठाउँमा नियतबस आगो लगाइन्छ । नियतबस आगो लगाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्था भएपनि सूचनाको अभावमा आगलागी जस्तो आपराधिक घटनामा संलग्नलाई कानुनको दायरामा विरलै ल्याउने गरिएको छ । घाँस राम्रो पलाउने, जङ्गली जनावर तथा पन्छीहरुको सहजै सिकार गर्न पाइने लोभका कारण मानव सिर्जित आगलागी बढेको देखिन्छ । वनजङ्गल, जडीबुटी र वातावरण संरक्षणका विषयमा जनचेतनाको अभावले आगलागीका घटना बढेका छन् । पोखरी, कुवालगायत पानीका स्रोत मासिनु, झाडी तथा बुट्यान क्षेत्र बढ्नु र मानिसमा चेतनाको अभाव हुनुलगायत कारणले प्रत्येक वर्ष घटना दोहोरिने गरेको छ ।
प्राकृतिक वा मानवीय कमजोरीले निम्त्याउने डढेलोले प्रत्येक वर्ष दुःख दिएकै छ । तर, राज्यसँग डढेलो नियन्त्रणको तयारी भने कहिल्यै हुँदैन् । अझ खास भन्ने हो भने डढेलो पनि एउटा ठूलै विपद् हो भनेर त्यसको पूर्वतयारी भएको छैन् । डढेलो नियन्त्रणका लागि राज्यसँग सोच नै छैन, संयन्त्र छैन र स्रोतसाधन छैन् । सहर बजारमै भीषण आगलागी हुँदा वा डढेलो फैलँदा निभाउने पर्याप्त वारुण यन्त्र छैनन् । नाम मात्रका छन् । वनजंगल त बर्सेनि हजारौं हेक्टरमा डढेलो लागेर क्षति हुँदै आएको छ । यति संवेदनशील विपद्को तयारीमा भने ध्यान छैन् । हिउँदको सुक्खायाममा हप्तौंसम्म पनि डाँडाकाँडामा आगलागी भइरहन्छ अनि एक दिन पानी पर्छ र निभाउँछ । प्रकृतिको भर परेर डढेलोको नियन्त्रण हुनु भनेको हदैसम्मको हेलचक्र्याइँ हो । डाँडाकाँडा र पहाड पर्वतमा हेलिकोप्टरबाट पानी हालेर भएपनि निभाउने सामथ्र्य राज्यले राख्नुपर्छ । वारुणयन्त्रलगायत अग्नि नियन्त्रक उपकरण र स्रोतसाधनको जोहो गर्नुपर्छ । त्यसका लागि सरकारहरुले बेलैमा वन डढेलो नियन्त्रणका लागि पर्याप्त योजनासँगै बजेटको व्यवस्था गर्नु पर्छ ।