बाँकेमा २६५ घरेलु उद्योग बन्द

बाँके । बाँकेमा चालू आर्थिक वर्षको नौ महिनामा २६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

कार्यालयमा गएर आधिकारिक रूपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १६५ उद्योग खारेजीमा परेकाे घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए ।

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्। एक सय पाँच उद्योगतर्फ र एक सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी-व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् ।

बाँकेमा गत आर्थिक वर्ष ०७९-८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । यस वर्ष चालू आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ चार सय ३४ र वाणिज्यतर्फ तीन सय ७३ गरी आठ सय सात घरेलु तथा साना उद्योग दर्ता भएको अधिकारीले जानकारी दिए ।

बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका ६ सय ३१ र वाणिज्य फार्म एक हजार एक सय ५० गरी एक हजार सात सय ८१ घरेलु तथा साना उद्योग नवीकरण भएका छन् । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताए ।

उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कयौँ उद्योगी व्यवसायी नेपालगन्जबाट विस्थापित हुन पुगेका छन् । रासस

Translate »