रारामा १ अर्ब १० करोडमा कर्णालीकै पहिलो लक्जरी रिसोर्ट बन्ने

काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।

काठमाडौंमा जारी लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नेछन् ।

मुगुको छायानाथ रारा नगरपालिकाको मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ । कूल १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको रिसोर्ट निर्माणको काम अबको ३ महिनामा नै सुरु हुनेछ ।

पहिलो चरणमा ४० वटा कोठा निर्माण हुनेछ भने दोस्रो चरणमा २० वटा कोठा निर्माण गरिनेछ। दुई वर्षमा निर्माण सम्पन्न गरि रिसोर्ट संचालन गर्ने तयारी छ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने छ। र, स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङसका एक प्रतिनिधिले बताए।

समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाईमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको दृश्य देखिनुका आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिने बताइएको छ ।

‘यो योजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै अब निर्माण प्रक्रियालाई तीब्रता दिनेछौं,’ ती प्रतिनिधिले भने ।

एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

 

Translate »