पुरातात्त्विक धातुका मूर्तिसहित दुई जना पक्राउ
बर्दिया । बर्दिया प्रहरीले ठूलो परिणाममा पुरातात्त्विक मूर्ति र धातुका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार बाँसगढी नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ च १६९७ नम्वरको बलेरो गाडीबाट प्रहरीले ठूलो परिणाममा पुरातात्त्विक मूर्ति र धातुका सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सामान ओसारपसार गर्नका लागि प्रयोग गरिएको बलेरो जिपसँगै जिपका चालक गुलरिया नगरपालिका–११ बस्ने २१ वर्षीय संजय राढ र सहयोगी भारतको बहराइच जिल्ला लौकाही बस्ने ४८ वर्षीय जब्बर खाँलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार पक्राउ परेका साथबाट १० थान धातुको मूर्ति, धातुका फूलदानी, करुवा, कलश, प्याला ,टुकी , घण्ट, खड्करो, कसौडी लगायतका ७१ थान भाँडा बरामद गरेको छ ।
उनीहरुबाट विभिन्न किसिमका अटोमोबाइल्स (गाडीका पाटपुर्जा) का सामानहरु समेत बरामद गरिएको डीएसपी अर्यालले बताए । उनका अनुसार अहिले सामान, गाडी र मानिसलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान शुरु गरिएको छ ।
रातिको समयमा शङ्कास्पद तरिकाले गाडीमा राखी लैजाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा १४ वटा पोकामा प्याकिङ गरेको अवस्थामा पश्चिमबाट पूर्व लैजाँदै गर्दा फेला पारेको डीएसपी अर्यालले जनाए । उनले पक्राउ परेकालाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गतको कसुरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढेको बताए ।
पक्राउ परेका धातुका सामानहरु काठमाडौंमा रहेको पुरातत्त्व विभागमा चेकजाँचका लागि पठाउने तयारी भइरहेको र चेकजाँच पश्चात् पक्राउ परेकालाई सोही अनुसार कानुनी कारबाहीमा लैजाने उनले जानकारी दिए ।