बाँकेमा ७० प्रतिशत रोपाइँ सम्पन्न

बाँके । बाँकेमा हालसम्म धान खेती हुने भू–भाग मध्ये ७० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि पानी पुगेपछि जिल्लाका डुडुवा र जानकी गाउँपालिका बाहेक धेरैजसो स्थानमा रोपाइँ सकिएको छ ।

साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा सिचाईको सुविधा नपुगेको ठाउँमा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदलले बताए। उनका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले जानकी र डुडुवा गाउँपालिकामा चाहे जतिको रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै भएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि सिचाईको व्यवस्था नभएको पालिकाहरूका किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।

डुडुवामा २ हजार २ सय ७८ हेक्टरमा धान लगाउँदै आएको बताउँदै डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले यस वर्ष २३ सय हेक्टर क्षेत्रफलमा धान लगाउने अनुमान रहेको जिकिर गरे । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा चैते धान र मकै भित्र्याए लगत्तै किसानले धान रोप्ने स्थानीय कृषक राजेन्द्र कुर्मीले बताए। कुर्मीले भने, आकाशे पानीको भरमा खेती नहुने भए पछि बोरिङबाटै खेती गर्दै आएको बताए । सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको कुर्मीले बताए ।

 

धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजन इन्जिनियर सन्देश पौडेलले जानकारी दिए । बाँकेमा ३४ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

पछिल्लो समय कृषि प्रविधिको प्रयोग बढेका कारण धान खेती छोटो समयमै सम्पन्न गर्न सहज बनेको छ । धान रोपाइँमा ट्याक्टर, रोलाभेटर, हाते ट्याक्टर जस्ता मेसिनको प्रयोग बढेपछि दुई साताभित्रै अधिकांश भूभागमा धान खेती सकिएको ज्ञान केन्द्रका प्रमुख अहमदलले जानकारी दिए। विगत केही वर्षअघिसम्म हलगोरु र मानिसको सहायताले मात्र धान रोपाइँ हुँदै आएको थियो । (रेडियो नेपाल)

Translate »