बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस


काठमाडौं । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार सरकारले बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।
यसअघि वाग्मतीको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियार थिए । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।
यसैगरी, बैठकले २२ जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतको सरुवा गर्ने समेत निर्णय पनि गरेको छ ।

