चपाई (चापागाई) वंशावली पुस्तकको विमोचन
सुर्खेत । चपाई (चापागाई) वंशावली २०८१ पुस्तकको विमोचन गरिएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा चपाई परिवार एकता समाजका अध्यक्ष उमालाल चपाईको अध्यक्षतामा भएको कार्यक्रममा वंशावली पुस्तक प्रकाशन समितिका प्रमुख सम्पादक डिलाराम चपाईले ‘चपाई (चापागाई) वंशावली २०८१ पुस्तक’ को विमोचन गरेका हुन् ।
जिल्लाको वीरेन्द्रनगर, लेकवेसी, पञ्चपुरी, कैलालीको टिकापुर लगायतका स्थानमा छरिएर रहेका चपाईहरुको पुख्र्यौलीलाई आधार बनाई अध्ययन तथा अनुसन्धान पश्चात वंशावली पुस्तक निर्माण गरिएको थियो । सुर्खेतको वीरेन्द्रनगरका डिलाराम चपाई र यादव चपाईसँगै कैलाली टिकापुरका नयाँराम चपाईले वंशावली पुस्तकलाई धेरै मेहनतपछि मूर्तरुप दिएका थिए । कार्यक्रममा वंशावली पुस्तक निर्माणकर्ता तीनै जनालाई सम्मान गरिएको थियो ।
वयोवृद्ध लिलाधर चपाई, साविक रतु गाउँविकास समितिका पूर्व अध्यक्ष भूपेन्द्रप्रसाद चपाई, वीरेन्द्रनगर वडा नम्वर ७ र १२, का वडाध्यक्षद्वय ध्रुर्वकुमार चपाई र चुडामणि चपाईलगायतले बधाईसँगै शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आधुनिकिकरण, पश्चिमिकरण र संस्कृतिकरणलाई सकारात्मक तरिकाले ग्रहण गर्दै आफ्नो मातृभुमि, संस्कृति, रितिरिवाज आदिलाई प्रवर्धन गरी संरक्षण गर्नको लागि कुल, गोत्र, वंशजहरुको खोज अनुसन्धान, उचित समन्वय, सहकार्य, सद्भाव, पहिचान, आत्मियता कायम गरी समाज र राष्ट्रको विकासमा योगदान गर्न चपाई तथा चापागाईहरु हरेक क्षेत्रबाट अगाडि बढ्न आवश्यक रहेको औल्याइएको थियो ।
वंशावली पुस्तकमा ठाउँ विशेषले कसैलाई चपाई र चापागाई भनिएपनि दुबै थर एउटै भएको बताईएको छ । नेपालमा बसोबास गर्ने सबै चपाई (चापागाई) एउटै थर र गोत्र भएको पुस्तकमा सविस्तार उल्लेख गरिएको छ । विभिन्न सयममा गरिएको अध्ययन तथा अनुसन्धानबाट चपाई (चापागाई) एउटै प्रमाणित भएको पाईएको पुस्तकका लेखकहरुले दावी गरेका छन् ।
चपाई (चापागाई) नेपालको विभिन्न भूःभागमा बसेर समग्र नेपालको विकासमा अहम् भूमिका खेल्दै आईरहेको बताईएको छ । पुस्तकले चपाई (चापागाई) वंशको पुस्तालाई लिपिबद्ध गर्ने कार्य गरेको छ । वंशावली पुस्तकले थप अनुसन्धान गर्दै सम्पूर्ण चपाई (चापागाई) लाई समेटी एकताबद्ध गर्नेकार्य जारी राख्नु पर्नेमा जोड दिएको छ ।