सिन्काको अर्थशास्त्र : स्थानीय अर्थतन्त्रको बलियो आधार
उमेरले ८ दशक पुग्नै लागेका भोजपुरेली धनबहादुर राईले सिन्का व्यवसायबाट आय आर्जन गर्दै गुजारा चलाएको समाचार कुनै दैनिकमा पढेपछि यो लेखन्तेलाई सिन्काको अर्थशास्त्रमाथि केही कुरा लेख्न मन लागेको हो । वास्तवमा सिन्काको खासै महत्त्व नदेख्ने नेपाली नीतिज्ञहरूलाई यसले केही पाठ पढाउला कि भनेर यतिसम्म लेख्ने आँट गरिएको मात्र हो । नेपाली अर्थतन्त्रमा सिन्काको महत्त्व र उपयोगिताका बारेमा सम्भवत: शहरतिरकालाई भन्दा गाउँघरतिरकालाई बढी जानकारी हुनसक्छ । बाँसबाट बनाइने यो सिन्का खासमा दुनाटपरी बनाउन (गाँस्न), सिन्केधूपको काँटीका लागि र दाँत कोट्याउने काममा प्रयोगमा आउने गर्छ । बाँस नेपाली हावापानी माटोमा सजिलै पाइने कृषि पैदावार हो ।
चिन्नेका लागि यो एक व्यावसायिक वस्तु पनि हो । बाँसबाट दैनिक व्यवहारमा आवश्यक पर्ने अनेकौं थोक बन्ने गर्छन् । उसैगरी कलाकारहरूले यसबाट थुपै्र कलात्मक वस्तु बनाएका छन् । पारखीहरूले सजावटका थुप्रै सामान पनि बनाएको पाइन्छ । यो हामी हिन्दूहरूका लागि त जन्मदेखि मरण र मरणोपरान्त पनि उत्तिकै आवश्यक पर्ने वस्तु हो । यज्ञ गर्दा मदानी पारेर कठबाँसबाटै आगो निकालिन्छ र त्यसबाट यज्ञाग्नि बालिन्छ । कटेरा, मचान बनाउन होस् वा बेराबार लगाउनदेखि घरको छानो छाउँदा आवश्यक पर्ने बाँहा, बलोलगायत घरको डाँडाभाटामा बाँस नभई नहुने वस्तु हो । पहाडी खोलातिर बाँसले बनेका फड्केहरूले पुलकै काम गरेका छन् ।
हाम्रा सरकारी कार्यालयहरूले कागजका टुक्रा आदि चिजबिज फाल्न प्रत्येकजसो कार्यालयका कोठा परिसरतिर प्लास्टिकका डस्टबिनको प्रयोग गरेको त देखेकै छौं । यस्तो प्लास्टिकका डस्टबिनलाई बाँसले बनेका ससाना डालीले विस्थापन गर्न सकिन्छ ।
हाम्रै मधेश तराईका केही भेकतिर हिउँदमा नदी पार गर्न बाँसकै पुल प्रयोग भइरहेको पनि देखिन्छ । त्यसबाट ओहोरदोहोर गर्दा यात्रुलाई र साइकल, मोटर साइकल सवारी गर्नेलाई केही दस्तुर लिएर बाँसको पुलको सेवा दिइरहेको पनि देखिएको छ । घरमा खरको छानो छाउँदा आवश्यक पर्ने चोया बाँसबाटै बन्छ । अचेल यो छानोको प्रणालीलाई जस्तापाता र सिमेन्ट, ढलान र कंक्रिटले विस्थापन गरेको छ । नांग्लो, थुन्से, डालो, ढाकर, डोको, मान्द्रो, दाम्लो, भकारी, पेरुंगो, ढकिया, मुढालगायत अनेकौं थरीका र परिपरिका बाँसका प्राचीन घरेलु उत्पादन हाम्रो कृषि प्रणालीसितै जोडिएका अभिन्न र संस्कृतिकै एक अविच्छिन्न अंग बन्दै आएका छन् । यसलाई अचेल प्लास्टिकजन्य पदार्थहरूले विस्थापन गरेका भए पनि बाँस र त्यसबाट बनेका वस्तुको महत्त्व अहिलेको जलवायु परिवर्तनले ल्याएको वातावरणीय असन्तुलनलाई हेरिरहेको विश्वले अझ बुझ्न जरुरी छ ।
किनभने प्लास्टिक कहिल्यै नकुहिने वस्तु भनेर विश्व वातावरणविद्हरूले त्यसको प्रयोगमा चिन्ता प्रकट गर्न थालेको पनि दशकौंदशक भइसक्यो । तर, हाम्रै पुर्खाले प्रयोग गरिआएका परम्परा र प्रचलनलाई नै नबुझेर हामी भने अचेल ती वस्तुबाटै विमुख मात्र होइन कि हाम्रा सन्तानले तिनका नाम नै बिर्सन थालेका पनि छन् । बजारमा अचेल प्लास्टिकका नाङ्लो, डालो, थुन्सेलगायत तिनबाट बनेका अनेकौं वस्तु सजिलै पाइन थालेपछि हाम्रा गाउँघरका बाँसबाट बन्ने वस्तुहरू लोप हुने नै भए । तिनमा आधारित, परम्परागत नै सही, कुटीर उद्योग पनि समाप्तै हुने भए । कठै ! धनबहादुरजस्ता वयोवृद्धले अहिलेसम्म पनि सिन्काको व्यवसाय धानेका रहेछन् ।
सानु आकारमै किन नहोस् सिन्का बेचेर केही आयआर्जन गरी गुजारा चलाइरहेका रहेछन् । तिनलाई त राज्यले सलाम गर्नुपर्ने हो, स्याबासी दिनुपर्ने हो र तिनको कदर गरेर हाम्रा विदेशिने हजारौंहजार युवालाई स्वदेशमै पाइने कच्चा पदार्थमा आधारित केही घरेलु उद्योगधन्दाका कर्म गर्न प्रोत्साहित गरेर लगाउनुपर्ने हो ।
तर, नेपालमा घरेलु उद्योगहरूमा बैंकवित्तीय संस्थाहरूले निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने गरी आएको केन्द्रीय बैंकको नियमनले कुटीर उद्योगधन्दालाई खासै प्रोत्साहित गरेर लैजान सकेको देखिएन वा ती संस्थालाई यो क्षेत्र उस्तो आकर्षक र लगानी मैत्री नलागेर हो कि ? यो क्षेत्रमा लाग्ने वा व्यवसाय गर्नेहरूलाई उत्साहित गरेर लैजान सकेको देखिएन । दाँत कोट्याउने सिन्का (टुथपिक) कै कुरा गर्दा अहिले नेपाली डिपार्टमेन्ट स्टोरतिर जाने हो भने अनकौं डिजाइनका सयओटाजति सिन्काको प्लास्टिकका बट्टामा राखिएका १५० रुपैयाँ मूल्य राखेर बेचिएका देखिन्छन् । ती टुथपिकहरू सबै चीनबाट आयात गरिएका हुन् । के यसलाई नेपालभित्रबाटै विस्थापन गर्न सकिँदैन ?
बाँसकै कच्चा पदार्थमा आधारित सिन्काको सानो व्यापारव्यवसायले यतिन्जेल जसोतसो जीवन धान्दै आएका भोजपुरेली धनबहादुरजस्ता पौरखीहरूले आगे पुस्तालाई के दिए वा दिएनन् भन्दा पनि हामीले हाम्रै देशभित्र हुने कच्चा पदार्थमा आधारित कुटीर उद्योगलाई केकति संरक्षण गर्नसकेका छौं र तिनमा लागेका, लाग्ने वा लाग्न चाहनेहरूलाई के कसरी प्रोत्साहित गरेका छौं वा गर्न सक्छौं ? तिनका उत्पादनलाई सरकारले आफ्ना दैनन्दिनहरूमा के कसरी प्रयोग गरेर तिनको बजारीकरणलाई साथ दिइरहेका छौं ? भन्ने प्रश्न वा चिन्ताचाहिँ प्रमुख हो ।
अदालत, केही सरकारी कार्यालयमा टिप्पणी लेखन र पर्यटकीय होटेलहरूमा सामान्य डायरी आदिमा सीमित रहिरहेको नेपाली पहाडे कागजको प्रयोगलाई व्यवसायीकरण मात्र गर्ने हो भने पनि यसले राम्रै उद्योगका रूप लिन्छ भने लोक्ता खेतीमा धेरै कृषकलाई आकर्षित गर्न सकिन्छ ।
यसै मेसोमा यहाँनेर एक सानु परिकल्पना प्रस्तुत गर्नु समीचीन हुनेछ । हाम्रा सरकारी कार्यालयहरूले कागजका टुक्रा आदि वा केही चिजवस्तु फाल्न प्रत्येकजसो कार्यालयका कोठा परिसरतिर प्लास्टिकका डस्टबिनको प्रयोग गरेको त देखेकै छौं । ती भरसक हरेक वर्ष फुटकर खर्चमा फेरिने गरेका पनि होलान् । अब यस्तो प्लास्टिकका डस्टबिनलाई बाँसले बनेका ससाना डालो वा डालीले विस्थापन गर्न नसकिने भने होइन । रह्यो, नीतिको कुरा : नेपालमा प्लास्टिकका झोला विस्थापन गर्ने नीतिको कहिले सफल अवतरण हुनसकेको छैन वा सफल गर्न दिइएको छैन, त्यो जगजाहेर छ ।
तर, कमसेकम सबै सरकारी कार्यालय (संघीय, प्रादेशिक र स्थानीय)हरूले यस्ता प्लास्टिकका डस्टबिनको मात्र पनि विस्थापन गर्ने नीति लिएर बाँसबाट बनेका वस्तुबाट जस्तै : ससाना डालो, डालीबाट पनि काम चलाउने हो भने नेपालमा यस्ता कुटीर उद्योगले राम्रै काम पाउँथे । केहीले राम्रै रोजगारी पाउँथे । बाँसको व्यावसायिक खेतीको पनि भरथेग हुुन्थ्यो । बैंक वित्तीय संस्थाले पनि यस्ता वस्तुको बजारीकरणका केही प्रत्याभूति देखेर केही लगानी बढाउँथे । वातावरणीय अनुकूलनता पनि हुन्थ्यो । बाँसखेतीले ओगट्ने क्षेत्रफल बढेर वनको क्षेत्रफलै पनि बढ्थ्यो । हरियाली बढ्थ्यो । नदी कटान रोकिन्थ्यो । पहिरो पनि थामिन्थ्यो । किनभने, बाँस रोपिएको स्थानमा यस्ता कटान कम हुने र पहिरो कम जाने त हामी सबैले देखेकै हो, अनुभव गरेकै हो ।
बाँस बहुुउपयोगी वस्तु हो । बाँसका कलिला टुसाबाट बन्ने तामाको तरकारी, सूप वा अचार हाम्रो भोजनालयमा प्रख्यातै छ । यसबाट कागज पनि बनाउन सकिन्छ । कागजी नोटलाई थप सुरक्षित बनाउनसमेत बाँसबाट बनेको कागजको प्रयोग हुनेगर्छ । बाँसबाट बनेकै कलात्मक प्रडक्टले बेरिएको स्कच ह्विस्की (एक लिटरको) मैले सन् २००१ मा हनोई, भियतनामको एक ड्यूटिफ्री सपबाट किनेको थिएँ । सन् २००५ मा फिलिपिन्समा कुनै कार्यक्रममा सहभागी हुँदा त्यहाँ बाँसबाटै बनेको एक लजिस्टिक झोलाको प्रयोग गरिएको देखेको थिएँ भने त्यो हामीलाई सेमिनारको सोभेनर झोलाको रूपमा बाँडिएको पनि थियो । नेपालमै पनि केही कलाकारहरूले बाँसबाट बनेका थुपै्र कलात्मक वस्तुहरूको प्रदर्शन गरी विक्री वितरण गरेको देखिन्छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार वितरण गर्दा दिइने प्रमाणस्वरूप बाँसले बनेको सानो आकारको नाङ्ग्लोमा
मदन पुरस्कार र साल लेखिएको प्रमाणपत्र दिने परम्परा नै बसालेको देखिन्छ । यी त सामान्य उदाहरण मात्र हुन् । नीति निर्माताहरूले अठोट गर्ने हो भने स्वदेशी उत्पादनलाई जगेर्ना गर्ने मात्र होइन, त्यसको व्यवसायीकरण गरेर बाहिरी जगत्मा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने साधन पनि बनाउन सकिन्छ । जस्तो लोक्ता वनस्पतिमा आधारित नेपाली कागजको उत्पादन विश्वमै अनौठो हो । यो उत्पादन गर्ने तौरतरीका हाम्रो आफ्नै किसिमको छ । यसबाट बनेको कागजको प्रयोग घरायसी र आधिकारिक तमसुक लेखन एवम् मालपोत कार्यालयले अंशबण्डा, जग्गा घर किनबेच गर्दाको राजीनामा पासलगायतका काममा गर्ने गरेको युगौं भयो । अदालत, केही सरकारी कार्यालयमा टिप्पणी लेखन र पर्यटकीय होटेलहरूमा सामान्य डायरी आदिमा सीमित रहिरहेको नेपाली पहाडे कागजको प्रयोगलाई व्यवसायीकरण मात्र गर्ने हो भने पनि यसले राम्रै उद्योगको रूप लिन्छ भने लोक्ता खेतीमा धेरै कृषकलाई आकर्षित गर्न सकिन्छ । नेपाली कागज (पहाडे कागज) लाई सरकारी लेखनको कागजका रूपमा प्रयोग गर्ने नीति लिन कुनै आइतवार कुरिरहनु पर्छ जस्तो लाग्दैन । सिन्काको अर्थशास्त्रले यति मात्रै पनि तत्त्वज्ञान (सिन्का तत्त्वज्ञान) बाँड्नसक्यो भने नेपाली अर्थतन्त्र केही उँभो लाग्थ्यो । आर्थिक अभियान
प्रधान नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।