सुनको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान, किन बढिरहेको छ भाउ ?
काठमाडौं । गत शुक्रवारयता दिनहुँ नयाँ कीर्तिमान कायम गरेको सुनको भाउमा आज पनि रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलवार) सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
गत सोमवार भने सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव स्थानीय बजारमा परेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
मध्यपूर्व र रुस-युक्रेनबीच द्वन्द्व बढ्नु, संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले कटौती गर्नुलगायत कारणले डलर कमजोर भएर सुनको भाउ बढेको व्यवसायीहरूको भनाइ छ ।
यसको प्रभाव स्थानीय बजारमा मात्रै होइन, अन्तरराष्ट्रिय बजारमा समेत परेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ ।
मंगलवार दिउँसो अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६ सय ३५ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ, जुन पछिल्लो ६ महीनामा ४ सय ५३ दशमलव २८ डलर अर्थात् २० दशमलव ८६ प्रतिशतले बढेको हो ।
यस्तै, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ९१५ रुपैयाँ निर्धारण भएको छ । आर्थिक अभियान