लन्डनबाट भारत आउँदै गरेका इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली दिल्लीमा पक्राउ

काठमाडौं । बागलुङस्थित इमेज सहकारीको रकम अपचलनपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नेपालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को आग्रहमा भारतीय प्रहरीले  पक्राउ गरेको हो । नेपाल प्रहरीका निमित्त प्रमुख एआईजी टेकप्रसाद राईले नेपालीलाई दिल्ली प्रहरीले होल्ड गरेको पुष्टि गरे । उनले भने, ‘देव नेपाली लन्डन पुगेका रहेछन् । त्यहाँबाट भारत आउन दिल्ली विमानस्थल पुगेपछि दिल्ली प्रहरीले होल्ड गरेको छ । हामी नेपाल ल्याउने प्रसाय गर्दैछौं ।’

सहकारीको रकम अपचलन पछि उनी फरार थिए । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो ।

इमेजका संस्थापक अध्यक्ष नेपालीले २०८१ साउन १६ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई पत्र लेखेर आफूले सबै सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको लिखित जवाफ पठाएका थिए । उनको त्यही पत्रलाई छानबिन विशेष समितिले सोधपुछको आधार बनाएको थियो ।

इमेजका बागलुङ बजारमा केन्द्रीय कार्यालय सहित, बुर्तिवाङ, गलकोटमा सेवा केन्द्र र कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा छन् । बागलुङ र पोखरामा सहकारी खोलेर दुवै सहकारीको अध्यक्ष भई सञ्चालक समितिमा डमी पात्रहरू राखेर आफैले काम गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

कुल १ अर्ब ८० करोड रुपैयाँ बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेको नेपालीले पत्र मार्फत जानकारी गराएका छन् । समितिको प्रतिवेदन अनुसार हाल नेपालीसँग भएको सम्पत्ति विक्री वितरण गरेर बचतकर्ताको रकम फिर्ता गर्न सकिने अवस्था छ ।

नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा भएको सम्पूर्ण घर जग्गाको मूल्यांकन गर्दा करिब ३ अर्ब रुपैयाँ हुन आउने नेपालीले समितिलाई पठाएको पत्रमा उल्लेख छ । सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न चाहेको र त्यसका लागि समिति र सरकारले वातावरण मिलाइदिन उनले आग्रह गरेका थिए ।

 

Translate »