प्रदेश आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा सञ्चालन

सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अन्तरङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
अन्तरङ्ग सेवा सञ्चालनमा आएसँगै अब विरामीले अस्पतालमै भर्ना भएर उपचार लिन पाउने छन् । यसअघि अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा वीरेन्द्रनगर बाहिरका विरामीलाई कोठा भाडामा लिएर उपचार गराउनु पर्ने बाध्यता रहेको थियो ।
कर्णाीली प्रदेशमै पहिलो पटक प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अन्तरङ्ग सेवा सञ्चालनमा ल्याएको हो । कर्णालीको सुर्खेतबाट सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा तर्फको अन्तरङ्ग सेवा प्रदेशका दश वटै जिल्लामा पु¥याउने सरकारी लक्ष्य रहेको छ ।
अस्पतालले आवश्यक जनशक्तिसँगै पूर्वाधार तयार गरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले आज अन्तरङ्ग सेवा सञ्चालनका लागि अनुमति दिएको हो । यद्यपि ! अस्पतालले गएको चैत ११ गते देखि नै अन्तरङ्ग सेवा शुरु गरी हालसम्म १४ जना विमारीलाई डिस्चार्ज गर्नुका साथै अहिले ६ जना विरामीको उपचार गरिरहेको अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनले प्रदेश राजधानी जस्तो ठाउँमा लामो समयदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा तर्फका सेवाग्राहीको मागलाई सम्बोधन गर्न अन्तरङ्ग सेवा शुरु गरिएको जनाए । ‘सेवाग्राहीको मागसँगै समय सापेक्ष अस्पतालले अन्तरङ्ग सेवा शुरु गर्नु नै थियो,’ उनले भने, ‘ढिलैभएपनि प्रदेश सरकार र सेवाग्राहीको मायाले उपलब्ध साधनस्रोतको अधिकतम् उपयोग गर्दै अन्तरङ्ग सेवा शुरु गरेका छौं ।’
उनले मागको अनुपातमा हालको सेवा पर्याप्त नभएपनि चाडै थप स्तरोन्नती गर्ने अस्पतालको योजना रहेको जानकारी दिए । उनका अनुसार हाल १७ जना विरामी क्षमताको अन्तरङ्ग सेवा सञ्चालनमा ल्याईएको छ । यता अस्पतालका सूचना अधिकारी श्रीराम आचार्यले अस्पतालको भवन निर्माण कार्य चार वर्षदेखि अलपत्र हुँदा हाललाई सानो ठाउँबाटै अन्तरङ्ग सेवा प्रवाह गर्नु परेको बताए ।
उनले भवन निर्माणमा भईरहेको ढिलाईले अस्पतालले चाहेर पनि आवश्यकता अनुरुपको सेवा प्रवाह गर्न नसकिरहेको जनाए । उनका अनुसार सरकारले ३० वेडको अन्तरङ्ग सेवा सञ्चालनका लागि अनुमति दिएपनि पर्याप्त भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाई भईरहेको हो ।
अस्पतालमा २६ जनाको मात्र दरबन्दी कायम गरिएपनि डेढ सय जना जनशक्ति आवश्यकता हुन्छ । अहिले अधिकांस करारकै कर्मचारीबाट काम चलाउनु परिरहेको उनको भनाइ छ ।