वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना देखिदैन् : महासचिव गुरुङ

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको कुनै सम्भावना नदेखिएको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव गुरुङले बाहिर हल्ला फैलिएपनि अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका हुन् ।

उनले छिनछिनमा सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्नु भन्दा वर्तमान सरकारलाई नै निरन्तरता दिनु उत्तम उपाय भएको जिकिर गरे । देशमा जारी शिक्षक, कर्मचारी तथा डाक्टरलगायतका समस्याहरुको समाधानका लागि राष्ट्रिय सहमति भयो भने मात्रै सरकार परिवर्तन हुने उनको भनाइ थियो ।

उनले सामाजिक सञ्जालहरुमा हल्ला र अनुमान गरेजस्तै देशमा मध्यावधि निर्वाचनको समेत कुनै सम्भावना नरहेको जनाए । केही अराजक, अस्तिरतावादीसँगै भ्रष्ट माफिया सहकारी ठगहरुको स्वार्थले देशमा अराजकता फैलिरहेको प्रति चिन्ता जाहिर गर्दै उनले सबै असन्तुष्ट पक्ष र राजनीतिक दलहरुसँग सरकारले वार्ताका माध्यमबाट समस्याको निराकरण निकाल्नु पर्ने सुझाव दिए ।

उनले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा समेत अहिले कुनै छलफल नभएको स्पष्ट पारे । गुरुङ्गले देशमा राजा फर्किने भन्ने कुरा अस्वाभाविक र असान्दर्भिक मात्र होइन, अव्यहारिक समेत भईसकेको जनाए ।

काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको उपज भएको भन्दै उनले यस्ता आचारणलाई हटाएर जनतालाई गणतन्त्रको महत्व बुझाउन वर्तमान आवश्यकता रहेको औल्याए ।

Translate »