महिला तथा बालबालिका लक्षित बजेट आउँदैछ : मन्त्री साह


सुर्खेत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले कर्णाली जस्ता दुगर्म उपेक्षित क्षेत्रसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा यस पटक राम्रो बजेट आउने बताएका छन् ।
आज सुर्खेत–दैलेख सीमा गुराँस गाउँपालिका कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीसँगको भेटमा उहाँले बटेज मार्फत महिलाको श्रम, सिप र नेतृत्व कौशल विकास गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनले तीनै तहका सरकार वीच समन्वय तथा सहकार्य नहुँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ल्याएको महिला लक्षित कार्यक्रमको लाभ स्थानीय तहसम्म पु¥याउन ढिलाई भएपनि यस पटक पु¥याउने लक्ष्य रहेको बताए ।
मन्त्री साहले मुख्यतः एकल महिलालाई विशेष केन्द्रविन्दुमा राखेर सरकारले विशेष कार्यक्रम नै सञ्चालन गर्ने योजना अघि बढाएको जनाए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सरकारले विशेष ध्यान दिएको बताउँदै उनले यस पटकको बजेटमा नागरिक प्रत्यक्ष लाभ लिने खालका केही नयाँ कार्यक्रम समेटिने बताए ।

उनका अनुसार अनुसार बजेटमा ज्येष्ठ नागरिक, अशक्त नागरिकका लागि थप नयाँ कार्यक्रमसहित बजेट तयार गर्ने कार्य अघि बढेको छ । उनले गुराँस कोसेली गृहको अनुगमन गर्दै राउटे समुदायका लागि गुराँस गाउँपालिकाले पु¥याएको योगदानको समेत प्रशंसा गरे ।
भेटघाट कार्यक्रममा महिला तथा बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सह–सचिव ज्ञानहरि घिमिरेले महिलाको हक÷हितको संरक्षण र संवद्र्धन गरी विकासको मूलप्रवाहमा प्रभावकारी तरिकाले समाहित गर्ने कार्यमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
सरकारले महिला अधिकार एवं लैंगिक न्याय कायम गर्ने अभिप्रायले जनचेतनासँगै आर्थिकरुपले सवल हुने खालका कार्यक्रम सञ्चालन गरिरहेकोले यसको लाभ स्थानीय तहले लिनुपर्नेमा उनले जोड दिए ।


