कर नबुझाउने पाँच करदातामाथि कारबाही

सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतले लामो समयदेखि कर नबुझाउने ११ जना करदातामाथि कारबाही गर्ने लक्ष्य लिएको छ । ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको आन्तरिक राजस्व कार्यालय सुर्खेतका सूचना अधिकारी अमरबहादुर थापाले जानकारी दिए ।

उनले पाँच जना करदाता माथि कानूनी कारवाही नै गरेर करिब ३५ लाख राजस्व असुल उपर गरिएको बताए । उनका अनुसार कर नबुझाई बाँकी/वक्यौता भएको ५८ वटा करदाताको संकलन भ्रमण गर्नुपर्ने वार्षिक लक्ष्य रहेकोमा हालसम्म ४० वटा करदाताको संकलन भ्रमण गरिसकिएको छ । उनले चालु आर्थिक वर्षमा मुल्य अभिबृद्धि कर तर्फ २ सय १६ जना र आयकरतर्फ ६ सय ८ जनालाई विवरण पेश गर्न निर्देशन गरिएको जनाए ।

आयकर र मुअकर विवरण पेश नगरी नन्फाइलर रहेका करदातालाई कार्यालय अन्तर्गतका पाँच वटा जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा र हुम्लाको उद्योग वाणिज्य संघ र विभिन्न स्थानीय तह मार्फत समन्वय एवम् सहकार्यका लागि पत्राचार गरिएको उनको भनाइ छ ।

कर नबुझाएका करदाताबाट करिब मुल्य अभिवृद्धि करतर्फ करिब रु ९ करोड ७३ लाख भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । ‘पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौं,’ सूचना अधिकारी थापाले भने, ‘त्यही भएर हामीले करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौं ।’ कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो ।

यस्तै आन्तरिक राजस्व कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु १ अर्ब २२ करोड ४४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६७ दशमलव ५५ प्रतिशत सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी थापाका अनुसार चालु आव २०८१÷८२ को नौ महिनाको अवधिमा रु १ अर्ब ८१ करोड २५ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु १ अर्ब २२ करोड ४४ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ ।

चालु आव २०८१÷८२ मा रु २ अर्ब ४९ करोड ८६ लाख १४ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको सूचना अधिकारी थापाले बताए । सो कार्यालयमा आयकरतर्फ ५२ हजार ३ सय ९२, मूल्य अभिवृद्धि करतर्फ ५ हजार ४ सय ४८, अन्तशुल्कतर्फ २ हजार ७ सय ९, विथहोल्डरतर्फ १ हजार ८ सय ६५ र व्यक्तिगत तर्फका ८७ हजार ६ सय ३७ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाई जस्ता कारणले अघिल्लो आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व संकलनमा १३ दशमलव ८९ प्रतिशतले वृद्धि भएको कर अधिकृत कल्पना सुवेदीले बताईन् ।

Translate »