अवरुद्ध कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइन विस्तारको काम पुनः शुरु

अनिता विक/ सुर्खेत । कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइन विस्तार आयोजनाको काम पुनः शुरु भएको छ ।
विगत दुई वर्षदेखि अबरुद्ध बाँकेको बानियाभार खण्डमा आज स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपछि आयोजना विस्तारको काम पुनः शुरु भएको हो । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारसँगै स्थानीय राजनीतिक दल, सरोकारवाला र सुरक्षा निकाय वीच समन्वय गरेपछि आयोजनाका कामदार तथा कर्मचारीले प्रसारणलाइन विस्तारको काम पुनः शुरु गरेका छन् ।
यसअघि बानियाभारका स्थानीयले पटक–पटक सरकारले तोकेभन्दा बढी मुआव्जाको माग गर्दै अवरोध गरेपछि विद्युत प्रसारणलाइन विस्तारको काम अवरोध भएको थियो । स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था सुनिश्चित गरेपछि प्रसारणलाईन विस्तारको काम अघि बढेको हो ।
अब विस्तारको काम शुरु भएसँगै आउँदो साउन महिना भित्रै सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ । अहिले सञ्चालनमा रहेको ३३ केभी विद्युत् प्रसारण लाइनले सुर्खेतसहित सिँगो कर्णालीको माग र आवश्यकता थेक्न सकिरहेको छैन ।
त्यसमाथि पुराना उपकरण र सीमित संरचनामार्फत सेवा दिँदै आएको विद्युत् प्रणालीले बारम्बारको अवरोध र अस्थिरता झेल्नुपरिरहेको छ । कोहलपुरबाट सुर्खेतसम्म तानिएको ३३ केभी क्षमताको प्रसारणलाइन ‘ओभर लोडेड’ छ ।
प्रसारण लाइनका पोलहरु पनि जीर्ण अवस्थामा पुगेकाले सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैं जसो विद्युत सेवा अवरुद्ध हुने गरेको छ । १३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युतका कारण कर्णालीका नागरिकले भोग्नुपरेको समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएपछि बाँकेको बैजनाथ गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुनासँगै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको विवाद टुङिगएको आयोजनाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण, कर्णाली प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधिहरु, उद्योगी व्यवसायी र नागरिक समाजको दवावले विद्युत प्रसारणलाइन विस्तारको काम पुनः शुरु भएको आयोजनाका प्रमुख रविकुमार चौधरीले बताए ।
उनले कर्णालीकै आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएको यो आयोजनाले पूर्णता पाए सुर्खेतलाई ऊर्जा आपूर्तिमा आत्मनिर्भर बनाउन मात्र नभई समग्र आर्थिक विकासलाई गति दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार करिब ७० करोड रुपैयाँको यो आयोजनामा १६२ वटा ठूला टावरहरु मध्य १५३ वटा निर्माण भसकेका छन् ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले केही समयअघि गृहमन्त्री रमेश लेखकलाई कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइन विस्तारमा भईरहेको ढिलाईप्रति ध्यानाकर्षण गराएका थिए ।
समग्र कर्णालीसँग जोडिएको आयोजनालाई बाँकेको बैजनाथ गाउँपालिका र राष्ट्रिय निकुञ्ज क्षेत्रमा भईरहेको अवरोधलाई सुरक्षा व्यवस्था मिलाएर हटाउनका लागि गृहमन्त्री लेखकको निर्देशनसँगै आयोजना कार्यालयको आग्रहपछि सुरक्षा व्यवस्था सुनिश्चित गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।
उनले आम नागरिकको जीवनसँग जोडिएका विकास निर्माण कार्यमा हुने अवरोध र ढिलासुस्ती हटाउनु सबैको दायित्व भएको जनाए । आयोजनाले विद्युत प्रसारणलाइन विस्तारको काम २ वर्षभित्रै सक्ने लक्ष्य लिएपनि स्वार्थ समूहले विभिन्न बाधा, व्यावधान खडा गरेपछि चार वर्ष वित्दा समेत सम्पन्न हुन सकेको छैन् ।
आयोजना ढिलाई हुँदा विकास निर्माणका कामसँगै औद्योगिक उत्पादन, सञ्चारमाध्यम, स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र नागरिकको दैनिकमा प्रत्यक्ष असर पुगिरहेको छ ।
प्रसारणलाइन बनेमा समग्र कर्णालीका जनताले पाउने विद्युत सेवाको गुणस्तरमा सुधार हुनुका साथै विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न ठूलो सहयोग पुग्नेछ ।