कर्णाली प्रदेश सरकारले पठाएको राहत सामाग्री हुम्ला पुग्यो

हुम्ला । कर्णाली प्रदेश सरकारले नाम्खा गाउँपालिका–६, तिल गाउँका हिमपहिरो पीडितलाई पठाएको राहत सामाग्री हुम्ला पुगेको छ ।

यहीं जेठ १ गते हिमताल भासिएर तिल गाउँका हिमपहिरो पीडितका लागि प्रदेश सरकारले पठाएको २० क्विन्टल मैदा , १८ सेट सोलार , ५ सेट चिनियाँ टेन्ट, म्याटेस लगायतका राहत सामाग्री हुम्ला पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

उनले नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेल लगायतको टोलीले खार्पुनाथ गाउँपालिका–१, को बोक्चे गौडा पुगेर राहत बुझेको बताए ।

उनका अनुसार बोक्चेगौडामा सडक निर्माण भइरहेकोले सिधै सदरमुकाम सिमकोटसम्म राहत सामाग्री पुग्न नसकेको हो । शनिवार राहत बुझेर आजै उत्तरी नाम्खा गाउँपालिका तर्फ पठाईएको उनको भनाइ छ ।

हिमपहिरोबाट विस्थापित तिल गाउँका १९ घरधुरीका ३३ जना स्थानीय बासिन्दा अहिलेपनि त्रिपालमुनि कष्टकर जीवन विताउन बाध्य छन् ।

Translate »