‘ड्रेस कोर्ड’ लागु गर्ने कर्णाली प्रदेशमै पहिलो बन्यो डिभिजन वन कार्यालय दैलेख

सुर्खेत । कुनै पनि पेसाकर्मीको पहिचान उसको पोसाकबाट नै सहज हुन्छ । अर्थात वस्त्र संहिता हरेक पेसाकर्मीको लागि उचित मात्र होइन, जरुरी पनि हो । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका लागि पृथक पृथक पोसाक तथा युनिर्फम तोकेको छ ।

युनिर्फमबाटै सर्वसाधारणले अमुक व्यक्ति जनपद प्रहरी, अमुक व्यक्ति सशस्त्र प्रहरी, अमुक व्यक्ति नेपाली सेनाको हो भनी सजिलै छुट्याउन सक्छन् । तर, एउटै रंगको पोसाक, युनिर्फम तीनवटै सुरक्षाकर्मीले लगाउने हो भने चिन्न गाह्रो हुन्छ कि को जनपद प्रहरी, को सशस्त्र प्रहरी वा को सेना ? स्थापित भएको तथ्य, अस्तित्व एवं पहिचान गुम्न गई बराबर हुन पुग्छ ।

त्यसैले पृथक पहिचान कायम राख्न पनि अरु भन्दा फरक किसिमको पोसाक चाहिन्छ । कुन कर्मचारी कुन निकाय वा सेवाको भनी छुट्याउन गाह्रो भएपछि कर्णाली प्रदेश सरकारले वन सेवाका कर्मचारीको फिल्ड स्तरमा प्रयोग हुने पोशाक सम्बन्धि ड्रेस कोर्ड कार्यविधि २०८२ ल्याएको थियो ।

उक्त ड्रेस कोर्ड लागु गर्ने कर्णाली प्रदेशमै डिभिजन वन कार्यालय दैलेख पहिलो भएको छ । कार्यालयले मंगलबार दैलेख जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, निमित्त प्रमुख जिल्ला अधिकारी कैलास ठकुरातीको उपस्थितिमा वन सेवाका कर्मचारीको फिल्ड स्तरमा प्रयोग हुने पोशाक सम्बन्धि ड्रेस कोर्ड कार्यान्वयनमा ल्याईएको डिभिजनल वन अधिकृत अमरप्रसाद साहले जानकारी दिए ।

उनले प्रदेश वन सेवाको चिन्ह (लोगो), व्याच, नाम प्लेटससहितको पोशाक वा ड्रेस कोर्ड लागु गरिएको बताए । उनका अनुसार वन गस्ती, वन अपराध नियन्त्रण, समुदाय स्तरका कार्यक्रममा सहभागी हुँदा तथा फिल्डस्तरका कार्यालयमा कार्यरत रहँदा उक्त पोशाक (ड्रेस कोर्ड) प्रयोग गरिने छ । खरानी हरियो गाढा खैरो रंगको दबुैपट्टी गोजी भएको फुल सर्ट र हाफ सर्ट बनाईएको छ ।

त्यस्तै गाढा हरियो रंगको चौडा बेल्ट छड्के साईड पकेट र पछाडी एक पकेट भएको पाईन्ट छ भने गाढा हरियो रंगको पाईन्टकै रंगमा ४ वटा बटन तीन वटा पकेट भएको कोट पनि प्रयोगमा ल्याईएको उनले जानकारी दिए ।

यता वन निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी सूर्यप्रसाद शर्माले वन सेवाको एउटै पोसाक हुँदा कर्मचारीहरुको मनोबल र आत्मविश्वास बढ्ने मात्र नभई संगठनको पहिचान विशिष्ट बन्ने बताए । ‘पोशाक (ड्रेस कोर्ड) को महत्व पेसागत वा विभागीय पहिचान मात्र नभई अनेक अर्थमा रहेको छ,’ उनले भने, ‘शरीरलाई गर्मीमा शीतल र चिसोमा न्यानो बनाई राख्न हेतु, सामाजिक प्रतिष्ठा हेतु, कार्य क्षमतामा अभिवृद्धि हेतु, अवगुण माथिको आवरण हेतु पनि ड्रेस कोडको महत्व हुन्छ ।’

उनले प्रदेश सरकारले वन सेवाका कर्मचारीको फिल्ड स्तरमा प्रयोग हुने पोशाक सम्बन्धि ड्रेस कोर्ड कार्यविधि २०८२ कार्यान्वयनमा आएसँगै अब प्रदेशभरी लागु हुने जानकारी दिए । डिभिजन वन कार्यालय दैलेखबाट शुरु भएको ड्रेस कोड छिट्टै अन्य जिल्लाहरुले लागु गर्न लागेको उनको भनाइ छ ।

‘वन सेवाका सबै कर्मचारीहरुले कार्यालयमा काम गर्दा निजामती सेवाको नियमित पोशाक प्रयोग गरेपनि समारोहमा ड्रेसकोड लागु गरिएको छ,’ उनले भने, ‘कर्मचारीले मन्त्रालय, निर्देशनालय तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सञ्चालन गर्ने तालिम÷गोष्ठि, दिवस, समारोह जस्ता कार्यक्रमहरुमा दफा ४ को उपदफा (१) को खण्ड (ख) (पोशाक नं.२) बमोजिमको पोशाक प्रयोग गर्नु पर्नेछ ।’

Translate »