उत्पादक, विक्रेता तथा ग्राहकवर्गले थाहा पाउनु पर्ने …‘उपभोक्ता अधिकार’

१. उपभोक्ताको अधिकार भनेको के हो ?

प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु वा सेवा प्राप्त गर्ने हक रहन्छ यसलाई नै उपभोक्ताको अधिकार भनिन्छ। उपभोक्ताको हक र हितका सम्बन्धमा प्रत्येक उपभोक्तालाई देहायको अधिकार हुने कानूनी व्यवस्था रहेको छ :-

  • वस्तु वा सेवामा सहज पहुँचको अधिकार,
  • स्वच्छ र प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौटगर्न पाउने अधिकार,
  • वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदि बारे सुचित हुने अधिकार,
  • दुई वा दुईभन्दा बढि पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा,तत्व वा प्रतिशतको सम्बन्धमा उत्पादक, पैठारीकर्ता वा बिक्रेताबाट जानकारी पाउने अधिकार,
  • मानव जीउ, ज्यान,स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्‍याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार
  • अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप विरुद्ध उचित कानूनी कारबाही गराउन पाउने अधिकार,
  • वस्तु वा सेवाको प्रयोगबाट भएको हानि, नोक्सानी विरुद्ध क्षतिपूर्ति पाउने अधिकार,
  • उपभोक्ताको हक, हितको संरक्षणका सम्बन्धमा अधिकार प्राप्‍त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुने अधिकार,
  • उपभोक्ता शिक्षा पाउने अधिकार ।

२. उपभोक्ताको अधिकारका विषयमा नेपालको संविधानमा के केव्यवस्था छन् त?

विषेश गरी नेपालको संविधानलेउपभोक्ताको अधिकारलाई मौलिक हकको रुपमा व्यवस्थित गरेको छ । संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने र गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक समेतरहने व्यस्था गरेको छ ।

३. उपभोक्ताको अधिकार सम्बन्धमा संघीय सरकारको उपभोक्ता संरक्षण ऐन, २०७५ पनि छ, उक्त ऐनमा उपभोक्ताका अधिकारका विषयमा के कस्ता व्यवस्था रहेका छन्?

उपभोक्ता संरक्षण ऐनमा उपभोग्य वस्तु तथा सेवालाई स्पष्ट रुपमा परिभाषित  गरिएको छ । उपभोक्ताको अधिकार तथा वस्तु तथा सेवाको बजारसँग सम्बन्धित पक्षको दायित्वको व्याख्या गरिएको छ ।

सम्बन्धित पक्षले आफ्नो दायित्व पुरा नगरेमा हुने दण्ड जरिवानाको व्यवस्था गरेको छ । उपभोक्तालाई वितरित वस्तु वा सेवाबाट भएको हानी नोक्सानीको क्षतिपुर्तिको लगायतका विषयहरु ऐनमा रहेका छन् ।

४. वस्तु वा सेवाको बजारसँग सम्बन्धित पक्षको दायित्वहरु के के हुन ?

बस्तु वा सेवाको उत्पादक, आयात वा पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता तथा सेवा प्रदायकहरु वस्तु वा सेवाको बजारसँग सम्बन्धित पक्षहरु हुन् ।

प्रत्येक पक्षको आ-आफ्नो दायित्व कानूनले स्पष्टरुपमा तोकिदिएको छ । यी दायित्व पुरा नगरेमा वा दायित्वको उलंघन गरेमा कसूर गरेको मानिन्छ । यस्ता कसुर गर्ने वा गराउनेलाई दुई वर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ।

  • उत्पादकले वस्तु वा सेवा उत्पादन गर्दा पूरा गर्नु पर्ने दायित्वहरु के के हुन् ?

उत्पादकले वस्तु वा सेवा उत्पादन गर्दा पूरा गर्नु पर्ने दायित्वहरु धेरै छन् ।  गुणस्तरिय वस्तु वा सेवा उत्पादन गर्ने र त्रुटिपूर्ण उत्पादन नगर्ने, वस्तुको लेबल निर्धारण गर्ने,लेबलमा उल्लेख गर्नु पर्ने कुराहरु उल्लेख गर्ने, आफुले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु सङ्कलन गरी नष्ट गर्ने, वस्तु वा सेवाको उत्पादनका कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपूर्ति दिने, वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने,  दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको उपभोक्तालाई जानकारी दिनु पर्ने जस्ता दायित्व उत्पादकको रहेको हुन्छ ।

यी दायित्व पूरा नगरेको वा कुनै वस्तुको उत्पादन, निर्माण, प्रशोधन, डिजाइन, सूत्र तयारी, पैठारी, प्याकिङ्ग, लेबलिङ्गको क्रममा भएको कुनै त्रुटि, कमी कमजोरी (डिफेक्ट) को कारण त्यस्तो वस्तु वा सेवा उपभोग गर्दा कसैको जिउ, ज्यान, सम्पत्तीमा हानी, नोक्सानी भएमा त्यस्तो हानी, नोक्सानी बापत त्यस्तो वस्तु वा सेवाको उत्पादक जिम्मेवार हुनेछ र त्यस बापत क्षतिपूर्ति दिने दायित्व निजको हुन्छ ।

  • वस्तुको बिक्री गर्ने बिक्रेताले पूरा गर्नु पर्ने दायित्वहरु के के रहेका छन्?

कानूनले वस्तु विक्रि गर्ने विक्रेताको दायित्व स्पष्ट रुपमा व्याख्या गरेको छ ।  बिना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने,वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रुपमा राख्‍ने,सर्वसाधारणले स्पष्ट रुपमा देख्‍ने बुझ्ने गरी वस्तुको मूल्य सूची राख्‍ने, सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने, वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यस्तो व्यवस्थाको पालना गर्ने, पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने, उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसिद दिने आदि दायित्वहरु विक्रेताको रहेको हुन्छ ।

  • उपभोक्तालाई सेवा प्रदान गर्ने सेवा प्रदायकले पूरा गर्नु पर्ने दायित्व ?

सेवा प्रदायकले पुरा गर्नु पर्ने दायित्व धेरै छन् ।  बिना भेदभाव उपभोक्तालाई सेवा प्रदान गर्ने, सर्वसाधारणले स्पष्ट रुपमा बुझ्ने गरी सबैले देख्‍ने ठाउँमा आफूले प्रदान गर्ने सेवाको प्रकृति र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले तिर्नु पर्ने मुल्यको सुचि राख्ने, सम्बन्धित निकाय वा अधिकारीले माग गरेका बखत आफुले प्रदान गर्ने सेवासँग सम्बन्धित विवरण तथा कागजात उपलब्ध गराउने, पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने, उपभोक्तालाई सेवा प्रदान गरे बापतको रकम लिएपछि त्यसको बिल वा रसिद दिने आदि दायित्व उनीहरुको रहेको हुन्छ ।

  • उपभोक्ताले किनेको वस्तु फिर्ता गर्ने कानूनी व्यवस्था छ त ?

छ  !  कसैले बिक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न चाहेमा सात दिनभित्र बिक्रेता समक्ष फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु वा आफूले त्यस्तो वस्तु खरिद गर्दा तिरेको रकम भुक्तानी लिन सक्छ ।

वस्तु फिर्ता गर्दा बिक्रेताले मुल्यमा कटौती गर्न वा अन्य कुनै किसिको थप शुल्क लिन पाउँदैन । सिलबन्द गरेको वस्तु भए सिल नतोडिएको अवस्थामा त्यस्तो वस्तु पन्ध्र दिनभित्र फिर्ता गर्न वा त्यस्तो वस्तुको सट्टा सोही मूल्य बराबरको त्यस्तै अर्को वस्तु लिन सकिन्छ ।

बिक्रेताले तोकेको अवधिभित्र सामान फिर्ता नलिएमा वा त्यस्तो मूल्य बराबरको सामान सट्टा नलिएमा कसूर गरेको मानिन्छ । यस्तो कसूर गरे वा गराएमा तीन महिना देखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।

९.वस्तु फिर्ता गर्न वा सट्टा लिन नसकिने अवस्थाहरु पनि छन् की ?

छन् !  खरिद भइसकेपछि खरिदकर्ताले त्यस्तो वस्तुको गुणस्तर वा परिमाणमा परिवर्तन गरेमानिश्चित अविधिभित्र उपभोग गरी सक्नु पर्ने प्रकृतिका वस्तु भए त्यस्तो अवधि व्यतित भईसकेको वस्तु भएमा,दूध, फलफुल, तरकारी, माछा, मासु जस्ता तुरुन्त उपभोग नगरेमा सडी, गली जानेप्रकृतिका वस्तु भएमा, खरिद गरेको वस्तु प्रयोग गरिसकेको भएमा, सिलबन्दी गरिएको वस्तु भए सिलबन्दी तोडिएको भएमा फिर्ता नहुने कानूनी व्यवस्था छ ।

१०.के बस्तु वा सेवाको बजारसँग सम्बन्धित पक्षले बिल वा बिजक अनिवार्य रुपमा राख्‍नु पर्ने हो ?

हो, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्‍चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनको लागि खरिद गरेका वस्तु वा सेवाकोखरिद बिल वा बिजक आफूसँग राख्‍नु पर्छ । यस्तो बिल वा बिजक सम्बन्धित अधिकारीले मागेका बखत उपलब्ध गराउनु पर्छ ।

बिल वा बिजक नराखेमा कसूर गरेको मानिन्छ । यस्तो कसूर गरे वा गराएमा निरीक्षण अधिकृतले पाँच हजारदेखि बिस हजार रुपैयाँसम्म जरीवाना गर्न सक्छ।

११. बस्तु वा सेवाको बजारसँग सम्बन्धित पक्षले गर्न नहुने निषेधित कामहरु के छन् र निषेधित काम गरेमा कस्तो कस्तो कारवाही हुन्छ ?

बस्तु वा सेवाको उत्पादक, आयात वा पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, विक्रेता तथा सेवा प्रदायकले गर्ननहुने कार्यलाई निषेधित कामहरु हुन् । कानूनद्वारा निषेधित गरिएका कामहरुकसैले पनि गर्न हुँदैन । यस्ता कार्य तथा क्रियाकलाप धेरै छन ।

क.निरीक्षण अधिकृतले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप छन् जस्तै,-

  • वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री गर्ने,
  • कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गरेर बिक्री गर्ने,
  • बिक्री गरेको वस्तु वा सेवाको बिल वा बिजक जारी गर्न इन्कार गर्ने वा बिल वा बिजक जारी नगर्ने वा बिल वा बिजक जारी गर्दा थप रकम माग गर्ने,
  • उपभोग गरिसक्नु पर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गर्ने ।

ख. दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा चार लाखदेखि छ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने अनुचित  व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप पनि धेरै छन् जस्तै,-

  • झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने,
  • मौखिक, लिखित वा दृश्यबाट कमसल वस्तुलाई विशिष्ट वा गुणस्तर भएको, स्तरीय गुणस्तर र मात्रा, श्रेणी, संरचना, डिजाइन देखाई बिक्री गर्ने,
  • पुनर्निर्मित वा पुराना वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याई बिक्री गर्ने,
  • घोषित गरिएका कुनै फाइदा नहुने अवस्थामा पनि वस्तु वा सेवाको बिक्री गर्दा झुठा र भ्रमपूर्ण रुपमा विज्ञापन वा सूचना प्रसार गर्ने,
  • कुनै वस्तु वा सेवाको वास्तविक लागतको आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य निर्धारण गर्ने वा कुनै प्रतियोगिता, चिठ्ठा, अवसर आदिको लागत समेत समावेश गरी मूल्य तय गर्ने वा त्यस्तो मूल्यमा बिक्री गर्ने,
  • कुनै वस्तु वा सेवाको मूल्यमा दान, इनाम वा नि:शुल्क पाइने अन्य वस्तुको मूल्य वा लागत समावेश गरी मूल्य निर्धारण गर्ने वा त्यस्तो मूल्यमा त्यस्तो वस्तु वा सेवाको बिक्री गर्ने,
  • कुनै वस्तु वा सेवामा तोकिएको गुणस्तर वा मानकभन्दा घटी हुने वा बढी हुने गरी वा त्यस्तो वस्तु वा सेवा उपभोगबाट उपभोक्तालाई हानि, नोक्सानी पुर्याउने गरी त्यस्तो वस्तु उत्पादन, मिश्रण वा आपूर्ति वा ओसारपसारवा सञ्‍चय वा बिक्री गर्ने,
  • त्रुटिपूर्ण उत्पादनबाट नष्ट भएको वस्तुको मूल्य वा व्यापारिक कारोबारको सिलसिलामा करार भएको वस्तुको मूल्य समेत अन्य वस्तुको लागत मूल्यमा समावेश गरी बिक्री गर्ने,
  • कुनै वस्तुलाई विस्थापित गर्न नक्‍कली वस्तु उत्पादन वा पैठारी गर्ने वा त्यस्तो वस्तुको बिक्री गर्ने,
  • कुनै वस्तु उपभोग गर्दा उपभोक्तालाई हानि, नोक्सानी वा क्षति पुग्ने गरी बिषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग भएको वस्तु बिक्री गर्ने,
  • उपभोग गर्न नसकिने गुणस्तरहीन वस्तु पैठारी, उत्पादन वा बिक्री गर्ने,
  • उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्‍चयकर्ता वा बिक्रेता वा त्यस्ता व्यक्ति र अन्य व्यक्ति, संघ संस्थाको मिलेमतोबाट दफा 17 को उपदफा (1) को प्रतिकूल हुने गरी बिक्री गर्ने,
  • व्यवसायिक सेवा प्रदायकले सेवाको मूल्य, गुणस्तर, सेवा उपलब्ध गराउने स्थान र समय उल्लेख नगरी सेवा प्रदान गर्ने,
  • कुनै वस्तु वा सेवा बिक्री वा प्रदान गर्दा तोकिएको व्यापारिक तहभन्दा बढी तह वा श्रृंखला खडा गरी बिक्री वा प्रदान गर्ने,कुनै वस्तु वा सेवा बिक्री वा प्रदान गर्न कुनै संरचना, मानक वा मापदण्ड तोकिएकोमा त्यस्तो संरचना, मानक वा मापदण्ड पूरा नगरी बिक्री गर्ने ।

ग. दुई वर्षदेखि तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने वस्तु वा सेवाको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने केही कसूरहरु छन् जस्तै,-

  • कसैले कुनै वस्तुको उत्पादन, पैठारी, ढुवानी, सञ्‍चय वा बिक्री वितरणमा लागेको लागत र तोकिए बमोजिमभन्दा बढी मुनाफा लिई बिक्री वितरण वा ढुवानी गर्न वा बिक्री वितरणमा अवरोध गर्ने,
  • कुनै वस्तुको उत्पादनका लागि चाहिने कच्चा पदार्थको कोटा निर्धारण गर्ने वा कुनै वस्तुको उत्पादन घटाउने ।

घ. निरीक्षण अधिकृतले पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना गर्न सक्नेकुनै वस्तु वा सेवाको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने कसूरहरु पनि छन्, ती मध्ये,-

  • कुनैव्यक्ति, संस्था वा अन्य कसैसँग मिली कुनै वस्तु वा सेवा सञ्‍चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने,
  • निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने मुख्य हुन् ।

ङ. तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने अन्य निषेधित कार्यहरु पनि छन्, जस्तै,-

  • जानीजानी कमसल वस्तुको उत्पादन, बिक्री वा पैठारी गर्ने,
  • कुनै वस्तु वा सेवालाई अर्को वस्तु वा सेवा हो भनी वा न्यूनस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री गर्ने,
  • उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवाको उत्पादन वा बिक्री गर्ने,
  • एकै प्रकृतिका विभिन्‍न वस्तु उत्पादन, पैठारी वा बिक्री गर्ने व्यापारी वा व्यापारिक समूहहरु मिली त्यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्ने,
  • एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एकभन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलेमतोबाट चक्रीय प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली वा टोकन प्रणाली अपनाई सेवा सञ्‍चालन गर्ने,
  • एउटा वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नु पर्ने व्यवस्था गर्ने ।

१२. अत्यावश्यक खाद्य तथा अन्य वस्तु र सेवाको सूची राख्नु पर्ने भन्छन् नि त्यो भनेको के हो ? नराखे के हुन्छ ?

नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको सूची निर्धारण गर्दछ । यस्तो सूचीमा अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको अधिकतम् मूल्य समेत तोक्ने गर्दछ। विक्रेताले यस्ता वस्तु वा सेवा बिक्री गर्दा यसरी तोकिएको मूल्यभन्दा बढी हुने गरी बिक्री गर्न वा गराउन हुँदैन ।

यसो गरेमा कसूर गरेको मानिनेछ। यस्तो कसूर गरे वा गराएमा तीन महिना देखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था कानूनमा रहेको छ ।

१३.उत्पादक, बिक्रेता र सेवा प्रदायकले मूल्य सूची तथा दर्ता प्रमाणपत्र सबैले देख्ने गरी राख्‍नै पर्ने हो नराखे के हुन्छ ?

  • उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्य र सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य स्पष्ट रुपमा उल्लेख गरी मूल्यसूची राख्‍नु पर्छ ।
  • वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजत पत्र सर्वसाधारणले देख्‍ने गरी बिक्री स्थलमा राख्‍नु पर्छ ।
  • यी कामहरु नगरेमा कसूर गरेको मानिन्छ। यस्तो कसूर गर्ने वा गराउनेलाई निरीक्षण अधिकृतले पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना गर्न सक्छ ।

१४. कुनै उपभोक्तालाई वितरित वस्तु वा सेवाबाट भएको हानी नोक्सानीको क्षतिपुर्तिको व्यवस्था छैन ?

हो छ ! उपभोक्ता संरक्षण ऐन विपरीत वस्तु वा सेवा विक्री वितरण वा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई शारीरिक, मानसिक, आर्थिक,भौतिकवा अन्य किसिमको हानी, नोक्सानीहुन गएमा वा वस्तुको त्रुटिपुर्ण उत्पादनको कारणबाट क्षति पुग्न गएमा उपभोक्ता स्वयंले वा निजको तर्फबाट कुनै उपभोक्ता संस्थाले वा उपभोक्ता असक्षम भएमा वा निजको मृत्यु भइसकेको अवस्थामा त्यस्तो उपभोक्ताको हकवालाले त्यस्तो वस्तु वा सेवा उत्पादन, पैठारी, सञ्चय,ढुवानी,विक्री वितरण वा प्रदान गर्ने जुन व्यक्तिको कारणवाट त्यस्तो हानि,नोक्सानी भएको हो सोही व्यक्तिबाट क्षतिपूर्ति भरार्इ पाउन अदालत समक्ष त्यसरी हानी,नोक्सानी पुगेको मितिले छ महीनाभित्र उजुरी गर्न सक्नेछ ।

उपभोक्ता संरक्षणऐन विपरित वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गरेको कारणबाट घाइते भएमा उपचार खर्च,उपचार अवधिभर पारिवारिक स्थिति अनुसार दैनिक गुजराको लागि आवश्यक पर्नेअन्तरिम राहत रकम र क्षतिपुर्तिको निमित्त परेको उजुरी उपर छानबिन गर्दा उपभोक्तालाई हानी,नोक्सानीपुग्न गएको ठहर भएमा त्यस्तो हानी,नोक्सानीको आधारमासम्बन्धित उत्पादक,पैठारीकर्ता, सञ्चयकर्ता,ढवानीकर्ता, वितरक वा बिक्रेताबाट क्षतिपुर्तिबापतको रकम उपभोक्ता वा निजको मृत्यु भइसकेको भए कानून बमोजिमको हकवालाले पाउँछ ।

प्रस्तुतीकर्ता :– देवीलाल सापकोटा (निर्देशक) उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत ।

Translate »