गुर्भाकोट वन कार्यालयको आव्हानमा एकैदिन ६३० वटा रैथाने विरुवा रोपियो

सुर्खेत । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत पूर्वी सुर्खेतको गुर्भाकोट सव–डिभिजन वन कार्यालयले एकैदिन ६ सय बढी रैथाने प्रजातिका बिरुवा वृक्षारोपण गरेको छ ।

कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा वन क्षेत्रको दिगो व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय समुदाय, वन उपभोक्ता, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरुको सहभागितामा एकैदिन ५३० वटा तेजपात र सय वटा रिठ्ठाका बिरुवा रोपेको हो ।

‘रुख रोपौं, वन जोगाऔं’ भन्ने नाराका साथ सव–डिभिजन कार्यालयले सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जमिन, विद्यालय तथा कार्यालय प्राङ्गण, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गरेको छ ।

सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत यसअघि फलफूल, जडीबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण गर्न समुदायलाई प्रोत्साहन गरिएको गुर्भाकोट सव डिभिजन वन कार्यालयका वन अधिकृत हरिश खत्रीले बताए । उनले स्थानीय समुदायको आयआर्जन र वनको घनत्व बढाउन मद्दत पुग्ने विश्वासले आर्थिक तथा वातावरणीय रुपमा बहुउपयोगी मानिएका रैथाने प्रजातिका बिरुवा रोप्न प्रोत्साहन गरिएको जनाए ।

‘सगरमाथा वृक्षारोपण महाअभियानले वन संरक्षण तथा जैविक विविधताको संम्वद्र्धनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘यस प्रकारका अभियानले भविष्यका पुस्ताका लागि स्वच्छ, सुन्दर र हरित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने छ ।’

उनले एक महिने महाअभियान अन्तर्गत गुर्भाकोटका उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिको रुख बिरुवा रोपण गरी पालिकाका बासिन्दाको आर्थिक समृद्धिसँग जोडेर वातावरणीय सन्तुलन कायम गर्नु मुख्य लक्ष्य रहेको जनाए । उनका अनुसार यो महाअभियानले सन् २०४५ सम्ममा नेपाललाई कार्बन उत्सर्जन शून्य, बनाउने, हिमालय जोगाउने र स्वच्छ भविष्य सुनिश्चित गर्ने अर्को दिर्घकालिन लक्ष्य राखेको छ ।

नागरिक समाज, निजी क्षेत्र, शैक्षिक संस्था, वित्तीय संस्थाहरु, विकास साझेदारसँगै विभिन्न संघ संस्थाहरुलाई समेत गुर्भाकोट नगरपालिकाले वृक्षारोपण कार्यमा जोडिन आव्हान गरेको उनको भनाइ छ ।

Translate »