चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र

अनिता विक/सुर्खेत । चाडपर्व नजिकिएसँगै कर्णाली प्रदेश राजधानी सुर्खेतका विभिन्न बजारमा अनुगमन तीव्र पारिएको छ ।

चाडपर्वका बेला बजारमा हुने गरेको दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अनियमितता रोक्न अनुगमनलाई तीव्र बनाईएको हो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरेन्द्र नगरपालिका र उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालयले छुट्टाछुट्टै टोली बनाएर अनुगमन तीव्र पारेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले  दसैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न बजार अनुगमन तीव्र पारिएको जनाए । पाण्डेका अनुसार चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको हो ।

अनुगमनका क्रममा उपभोक्ता हितविपरीतको कार्य नगर्न व्यापारीहरूलाई सचेत पनि गराएको उनले बताए । चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने भ्रमलाई हटाइ आम उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमनलाई निरन्तरता दिने सहायक प्रजिअ पाण्डेले जनाए ।  राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले नियमनकारी निकाय माथि उपभोक्ता अधिकार रक्षाका लागि सशक्त दवाव बनाएपछि बजार अनुगमन तीव्र पारिएको हो ।

नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग, उपभोक्ता हित संरक्षण निर्देशन, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतलगायतका कार्यालय र संस्थाहरूका प्रतिनिधिको सहभागिता चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र पारिएको उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनका अधिकृत माधवप्रसाद न्पौपानेले जानकारी दिए ।

चाडपर्व लक्षित अनुगमनका क्रममा उपभोक्ता हितसम्बन्धी कानून उल्लंघन गरेका ७ ओटा किराना पसललाई जरिवाना तिराइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका र उत्पादन मिति उल्लेख नभएका करिब ३ लाख मूल्य बराबरका सामाग्री सम्बन्धित व्यवसायी मार्फत नै नष्ट गराईएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले समेत सुर्खेतका नौ वटै पालिकालाई आ¥आफ्नो क्षेत्रका बजार अनुगमनलाई तीव्रता दिन आग्रह गरेको छ । उता राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ता हित विपरित कार्य गर्ने जो कोहीलाई हदैसम्मको कार्वाही गर्न माग गर्दै आईरहेको छ । उपभोक्ताले समेत सामान खरिद गर्दा उपभोग्य मिति र गुणस्तर हेरेर विल लिने बानीको विकास गर्न मञ्चले आग्रह गरेको छ ।

Translate »