कर्णाली सरकारद्वारा भूकम्प प्रभावित विद्यालय तथा अस्पताल मर्मतका लागि ५० करोड

सुर्खेत ।  कर्णाली प्रदेशले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका सामुदायिक विद्यालय र सरकारी अस्पतालको मर्मत तथा पुर्ननिर्माणका लागि ५० करोड रकम दिने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट, रुकुम पश्चिम र सल्यानका करिब ७० वटा क्षतिग्रस्त विद्यालय तथा अस्पतालको मर्मत तथा पुर्ननिर्माणको काम चालु आर्थिक वर्ष भित्रै सक्ने गरी आवश्यक प्रक्रिया शुरु भईसकेको जानकारी दिएका छन् ।

उनले आपत्कालीन अवस्थामा तथा नियमित रुपमा सडक मर्मतका गरी सडक यातायातलाई सुचारु बनाउन आवश्यक बजेट तथा सडक मर्मत सम्भार समूह परिचालन गरिएको बताए ।

‘स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याउने उद्देश्यले विश्व बैकको सहयोगमा तीनै तहको साझेदारीमा प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अघि बढाईएको छ,’ उनले भने, ‘विश्व बैंककै सहयोगमा कर्णाली प्रदेशका ३० वटा पालिका केन्द्र जोडने सडकको स्तरोन्नतिका साथै सडक सञ्जालसँग जोडन बाँकी रहेका ६ वटा पालिकाको करिव ९७ किलोमिटर सडक निर्माण गरिने योजना अघि बढेको छ ।’

उनले विश्व बैकको सहयोगमा प्रादेशिक सडक गुरुयोजना निर्माण गरी तल्लो डुङ्गेश्वर–डाँडाँडापराजुल र हुम्लाको गल्फाघाट ठाडाकाटे सडक अदानचुली सडकको टेण्डर प्रक्रिया अन्तिम चरण रहेको जनाए । पछिल्लो साढे ५ महिनाको अवधिमा गरेका कामको विवरण सार्वजनिक गर्दै उनले प्रदेश सरकार अन्तर्गतका सबै निकायहरुको वार्षिक कार्ययोजना स्वीकृत गराई कार्ययोजना अनुसार कार्य सञ्चालन गरी समयमै प्रगति हासिल गर्न ९ बुँदे साझा प्रतिबद्धताको कार्ययोजना अनुसार कार्यसम्पादन भइरहेको बताए ।

उनका अनुसार प्रदेशका १० जिल्लामा कार्ययोजना तथा प्रतिबद्धता अनुसार भौतिक मन्त्रालय र ऊर्जा मन्त्रालय अन्तर्गत ठेक्का लगाउनुपर्ने ३५१ मध्ये २१५ वटा आयोजनाको ठेक्का आव्हान गरिसकेको छ । ‘संघीय सरकारले दशैं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा नगर्दासम्म प्रदेशले प्रतियोगिताको लागि हतार गर्नु हुँदैन,’ उनले भने, ‘अहिले पूर्वाधार निर्माणको काममा प्रदेश सरकारले तीव्रता दिईरहेकाले सानो ठाउँमा यति ठूलो कार्यक्रम गर्दा हतार गर्नु पर्ने कुनै कारण छैन् ।’

प्रदेश सरकार तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गराउन लागिपरिरहेको बताउँदै उनले राष्ट्रिय प्रतियोगितालाई आयोजनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे । सुर्खेत विमानस्थल विस्तार कार्यका लागि संघीय सरकारले अग्रसरता लिनु पर्ने भएकाले प्रदेश सरकार अहिले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको उनको भनाइ थियो ।

उनले प्रदेशका चारवटा शहीदको जिल्ला र मन्त्रालयमा तस्बिर राख्ने र परिवारका एक जना सदस्यलाई रोजार दिने प्रदेश सरकारले तयारी गरेको जनाए । उनका अनुसार प्रदेश अस्पताल र कर्णालीको समग्र स्वास्थ्य समस्या समाधानका लागि डाक्टर भगवान कोइरालाको नेतृत्वमा एउटा अध्ययन टोली समेत गठन गरिएको छ ।

Translate »