द्वन्द्वकालमा बाँकेबाट विस्थापित सात वटा छोटी भन्सार अझै पुनः स्थापना हुन सकेनन्

बाँके । बाँकेका पालिकाहरूले जिल्लामा स्थापित पुराना छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न माग गरेका छन् ।

द्वन्द्वकालमा विस्थापित ७ वटा छोटी भन्सार कार्यालय अझै पुनःस्थापना भएका छैनन् । यसबाट सरकारले बर्सेनि ठूलो राजस्वको रकम गुमाउनु परिरहेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात वटा छोटी भन्सार कार्यालय अहिले बन्द छन्  ।

आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् । सीमावर्ती भारतीय बजार बघौडा बजार सँग जोडिएको कटकुइँयाको सुइया, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भंघोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी सात वटा छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दुरीका हिसाबले ५५ किलोमिटर टाढा सुइया, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भंघोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दुरीमा पर्दछन् ।

छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी–पैठारी नियन्त्रणको काम गर्दै आएको छ । उनले भारतमा पनि ‘काउण्टर पार्ट’स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिँदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने बताए । यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको बताइएको छ ।

नरैनापुर क्षेत्रमा रहेका छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि धेरै पटक अनुरोध गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिए । गाउँपालिकामा निर्वाचित भएदेखि नै छोटी भन्सार सञ्चालन गर्न अनुरोध गरिए पनि सरकारले वास्ता नगरेको अध्यक्ष शाहको भनाई छ ।

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर छोटी भन्सार कार्यालय स्थापना गर्न माग गर्दै आएको बताए । उनले भन्सार नहुँदा स्थानीय व्यापारीहरूलाई व्यवसाय गर्न अप्ठ्यारो हुँदै आएको जनाए ।

Translate »