मुगुको ताल्चा विमानस्थलबाट नियमित हवाई उडान नहुँदा सर्वसाधारण समस्यामा

मुगु  । दशैं र तिहार सकिएपछि पनि रारा विमानस्थल ताल्चाबाट नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् ।

समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स, र सीता एयरका उडानहरू नियमित नहुँदा बिरामी, विद्यार्थी र अन्य कामले जिल्ला बाहिर जानुपर्ने स्थानीयहरू समस्यामा छन् ।

रारा विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालका अनुसार केही  दिन अघि सबै हवाई जहाजहरू पूर्वी क्षेत्रतर्फ पर्यटक ओसार्न व्यस्त भएका कारण ताल्चाका उडानहरू प्रभावित भएका छन् ।

कर्णाली राजमार्गको यात्रा कठिन र जोखिमपूर्ण भएकाले यहाँका बासिन्दाले हवाई यात्रालाई  रुचाउँदै आएका छन् । विकल्पको रूपमा मात्र सतही मार्ग  रोज्ने  मुगुका नागरिक हरू  कर्णाली राजमार्गमा धेरै पटक दुर्घटना भइसकेकोले  गाडीको यात्रा सुरक्षित नभएका कारण  बाध्यताले मात्र यात्रा गर्ने गर्दछन् ।

कैयौँले ज्यान गुमाइसकेको  अवस्थामा हवाई सेवा नै सुरक्षित विकल्प बनेको छ । स्थानीयबासीहरूले हवाई कम्पनीहरूलाई ताल्चा विमानस्थलमा नियमित उडान सुचारु गर्न आग्रह गरेका छन् ।

मुगु पर्यटकीय जिल्ला भएकाले  दैनिक जसो उडान  विगतमा भइरहने भएपनि पछिल्लो समयमा उडान अनियमित हुँदा  जिल्ला बाहिर जाने  बिरामी, विद्यार्थी  लगायत अन्य समस्यामा परेका छन् । सबै जहाजहरूले रारामा हप्तामा एउटा दुईवटा उडान भर्दै आएका छन् ।

 

Translate »