सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी ९०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु १००० पु¥याइएको सुर्खेत मासु व्यवसायी संघले जनाएको छ ।

यो मूल्य मंसिर १ गते (शनिबार) देखि लागू हुनेछ । संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनु परेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रति केजीमा १०० बढाइएको उनको भनाइ छ ।

‘किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी ५८० सम्म खरिद गर्नुपरेको छ,’ वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने, ‘खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।’

उनले कर्णालीकै कालिकोटमा १ हजार र जुम्लामा ११ सय रुपैयाँमा प्रतिकेजी मासु विक्री गर्न थालेपछि आफुहरु समेत मूल्य समायोजन गर्न बाध्य हुनु परेको बताए । जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको संघले जनाएको छ ।

Translate »