मुगुका कृषकहरूको मुख्यआयस्रोत भेडा पालन

मुगु । मुगु जिल्ला, जहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता प्रख्यात छ, यहाँका कृषकहरूको प्रमुख आयस्रोत भेडा पालन बन्दै गएको छ । जिल्लाका चारै स्थानीय तह—छायाँनाथ–रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका, र मुगुम कार्मारोङ गाउँपालिकामा भेडा पालन मुख्य पेसाको रूपमा विकास हुँदै गएको छ।

यहाँको चिसो हावापानी, प्रशस्त चरन भूमि, र पिउने पानीको सहज उपलब्धताले भेडा पालनलाई थप सम्भावनायुक्त बनाएको छ। कृषकहरूले भेडाबाट मुख्यतः ऊन, मासु र मल उत्पादन गरी आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । विशेषगरी, भेडाको ऊनबाट बनेका सामानले स्थानीय मात्र होइन, राष्ट्रिय बजारमा पनि राम्रो स्थान पाउँदै गएको छ।

आर्थिक अवस्थामा सुधार :

पछिल्लो समयमा भेडा पालनले कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याएको छ । स्थानीय कृषक छायाँनाथ रारा नगरपालिका वडा नं. ९ लिउडी का कृषक रूपबहादुर सेजुवालका अनुसार, भेडाबाट हुने आम्दानीले बालबालिकाको शिक्षादेखि स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पारेको छ । कृषकहरू सरकार र गैरसरकारी संस्थाहरूबाट अनुदान, तालीम र प्राविधिक सहयोग पनि पाइरहेका छन् भने केही कृषकहरूले कतैबाट केही पनि सहयोग नपाएको गुनासो समेत गर्दै आएका छन् ।

चरन क्षेत्र र भेडा बाख्राको सङ्ख्या  ?

भेटनरी तथा पशु अस्पतालको तथ्याङ्क अनुसार मुगु जिल्लामा भिर बाँझो जमिनगरी जम्मा २६७७ हेक्टर क्षेत्रफल जमिन रहेको छ । भने हाल करिब ३१८१९ भेडा, ७१८८० बाख्रा र १८० च्याङ्ग्रा गरि जम्मा १ लाख ३ हजार ८ सय ७९ भेडा बाख्रा रहेका छन् ।

स्थानीय सरकार, भेटनरी तथा पशु अस्पतालको भूमिका ?

मुगुका स्थानीय तहहरूले भेडा पालनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । भेडाको स्वास्थ्य जाँच, रोग नियन्त्रण, र लागि विशेष पहल गरिएको छ। छायाँनाथ रारा नगरपालिकाका प्रमुख बिष्णु कुमार भामले भने, ‘भेडा पालनलाई व्यवस्थित बनाउन भेडा पालक कृषकहरूलाई सोलार, ब्याट्री, त्रिपाल र लगायतका सामाग्रीहरू निःशुल्क रूपमा वितरण गरेको र आगामी दिनमा समेत नगरपालिका भित्रका वास्तविक भेडा पाल्ने कृषकहरूलाई प्रोत्साहन गरिँदै जाने र थप सहयोग पुर्‍याउने योजनामा छौं ।’ यस्तै गरेर भेटनरी तथा पशु अस्पतालले पनि भेडा बाख्रा पालक वास्तविक कृषकहरूलाई सोलार सेट त्रिपाल, लगायत ५० भन्दा बढी भेडा पाल्ने कृषकहरूलाई ओषधि उपचार खर्च बापत वार्षिक रू १८ हजार वितरण गर्दै आएको बताएको छ ।

युवा पुस्ताको आकर्षण

रोजगारीको अवसर नपाएका केही युवाहरू वैदेशिक रोजगारमा गएका छन् भने स्वदेशमै केही गर्ने आँट र साहस भएका धेरै युवा अहिले भेडा पालनतर्फ आकर्षित भएका छन्। उनीहरूले परम्परागत खेतीलाई छोडेर व्यावसायिक भेडा पालनलाई आयआर्जनको माध्यम बनाइरहेका छन्। यसले ग्रामीण क्षेत्रबाट हुने वैदेशिक रोजगारीको दर घटाउन पनि सहयोग पुगेको छ।

निष्कर्ष ?
मुगु जिल्लाका चारै स्थानीय तहमा भेडा पालन कृषकहरूको प्रमुख आयस्रोत बनेको छ । यसले गर्दा स्थानीय अर्थतन्त्र बलियो भएको छ भने ग्रामीण जीवनमा नयाँ आशा र उत्साह थपिएको छ। आगामी दिनमा पनि भेडा पालनलाई आधुनिक र व्यावसायिक बनाउनेतर्फ अझै प्रभावकारी कदमहरू चाल्न आवश्यक देखिएको छ।

Translate »