आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप


काठमाडौं । आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।


सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताए । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको उनले जनाए ।
यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरे । उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक जारीलगायतका माग राख्दै देशभरका शिक्षक कर्मचारी चैत २० देखि आन्दोलनमा छन् । सरकारले वार्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन ।


